पूर्ववाइसिएल यसरी बने राष्ट्रपति र प्रधानमन्त्री !


नेपालमा खिलराज रेग्मी सरकार प्रमुख बनेकै दिन चीनमा नयाँ राष्ट्रपति र त्यसको भोलिपल्ट नयाँ प्रधानमन्त्री, प्रधानन्यायाधीश, सेनापति र महान्यायधिवक्ता छानिएका छन् । नेपालमा प्रधानन्यायधीशलाई सरकार प्रमुख बनाइएको छ भने चीनमा चाहिँ प्रधानमन्त्री र राष्ट्रपति दुबै वाइसिएल पृष्ठभूमिका हुनुहुन्छ ।

राष्ट्रपति सि जिनपिङ

सि जिनपिङ चीनको राष्ट्रपति बनेसँगै चिनिया सत्ता कम्युनिष्ट पार्टीको पाँचौं पुस्तामा सरेको छ । ६० वर्षे सीले ७० वर्षे हु जिन्ताओलाई प्रतिस्थापन गर्दै विश्वको सबैभन्दा धेरै जनसंख्या भएको तथा दोश्रो ठूलो अर्थतन्त्र भएको देश चीनको कार्यकारी प्रमुख राष्ट्रपतिको कार्यभार सम्हालेका हुन् ।



सन् १९५३ जुन १५ मा सान्सी प्रान्तको फुपिंगमा जन्मिएका ली पूर्वउपप्रधान मन्त्री तथा कम्युनिष्ट गुरिल्ला संगठनका संस्थापक मध्येका एक ली जोंगसुनका छोरा हुन् । सांस्कृतिक क्रान्तिका अगुवामध्येका एक जोंगसुन सन् १९६८ मा पक्राउ पर्दा ली १५ वर्षका मात्र थिए । सांस्कृतिक क्रान्तिकै बेला युवाहरुलाई गाउँ फर्काएर श्रम गराउने अभियानअन्तरगत सिले एक्लै यानचुआनको श्रम शिविरमा गई काम गरेका थिए ।

पछि उनी कम्युनिष्ट पार्टीको उत्पादन टीमको शाखा सचिव पनि बने । यसबीच सन् १९७१ मा सि कम्युनिष्ट युथ लिग (वाइसिएल) मा आवद्ध भए र सन् १९७४ मा चिनिया कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरे । सन् १९८२ मा उनलाई पार्टीले हेबेई प्रान्तको एक स्थानीय पार्टी कमिटीको उपसचिव बनाएर पठायो । सन् १९८३ मा उनी सचिवमा बढुवा भए ।




सन् १९९९ मा सि फुचिआनको डेपुटी गभर्नर चुनिए र एक वर्षपछि नै गभर्नर बने । फुजिआनको गभर्नर हुँदा उनले त्यहाँ ताइबानको लगानी भित्राउन तथा खुल्ला बजार अर्थतन्त्रलाई बढावा दिन प्रयासमेत गरेका थिए ।

सन् २००२ मा सिले पार्टीमा आफ्नो हैसियत अझै फराकिलो पार्ने क्रममा चेचियाङको पार्टी प्रमुख बने । चेचियाङमा उनको नेतृत्व कालमा आर्थिक वृद्धि १४ प्रतिशत पुगेको थियो । नेतृत्वमा रहँदा भ्रष्टाचार विरुद्धको उनको शुन्य सहनशीलताले ठूलो चर्चा पाउनुका साथै केन्द्रीय तहका उच्च नेतृत्वले पनि उनको प्रसंसा गरेका थिए ।

सन् २००७ मा लीको कार्यक्षेत्र सांघाइ प्रान्तमा सर्यो । सांघाइका पार्टी प्रमुख चेन लियांगिउको बर्खास्तगीसँगै सिले सांघाइमा कम्युनिष्ट पार्टीको नेतृत्व लिने अवसर पाए ।

सांघाइको पार्टी प्रमुखको नेतृत्व पाउनु नै सिका लागि महान चीनको नेतृत्व गर्ने अवसरको ढोका खुल्नु थियो भन्दा फरक नपर्ला । उनी सन् २००७ मै चिनिया कम्युनिष्ट पार्टीको ९ सदस्यीय पोलिट्ब्युरो स्थायी समितिमा चयन भए । त्योसँगै उनले पार्टीको केन्द्रीय सचिवालयको शीर्ष सदस्यता पनि प्राप्त गरे ।

ओलम्पिकको प्रमुख

सन् २००८ मा हु जिन्ताओ राष्ट्रपति हुँदा सि चीनको उपराष्ट्रपति बनाइए । उनी उपराष्ट्रपति हुँदा सन् २००८ को बेइजिङ ओलम्पिक तयारी समितिको प्रमुख पनि बने र सफलतापूर्वक महाकुम्भ सफल पारे ।

सन् २०१० को अक्टोबर १८ मा सि पार्टीको उपप्रमुख बने भने २०१२ को नोभेम्बरमा पार्टीको १८ औँ केन्द्रीय कमिटी बैठकले उनलाई पार्टीको महासचिव तथा पार्टीको केन्द्रीय सैन्य आयोगको अध्यक्ष निर्वाचित गर्यो । चिनिया कम्युनिष्ट पार्टीको महासचिव बनेसँगै सोही वर्ष फोब्र्स म्यागेजिनले निकालेको सूचिमा सि विश्वको नवौँ शक्तिशाली व्यक्तिका रुपमा दरिए । अन्ततः १४ मार्च सन् २०१३ मा उनी महान चीनको राष्ट्रपतिमा निर्वाचित भए ।

चाइना ड्रिम

भ्रष्टाचारका कट्टर विरोधी तथा राजनीतिक पुनर्संरचनासँगै बजार अर्थतन्त्रको पुनर्संरचनाका समेत पक्षपाती भनेर चिनिने सिको सत्तारोहणसँगै उनको ‘चाइना डि्रम’ भन्ने नारा झनै चर्चित बनेको छ । आफ्नो सपना चीनलाई अझै शक्तिशाली बनाउनु र सेनालाई अझै शक्तिशाली बनाउनु रहेको उनको स्पष्ट कथन रहँदै आएको छ ।

सन् १९८० मा के लिंगलिंगसँग विवाह गरेका सिको पहिलो वैवाहिक सम्बन्ध धेरै टिकेन । उनले सन् १९८७ मा चर्चित गायिका पेंग लियुआनसँग बिहे गरे । उनकी एक छोरी जी मिंग्चे छिन् ।

सिले रसायन इन्जिनियरिङमा स्नातक तथा राजनीतिक शास्त्रमा विद्यावारिधी गरेका छन् । चर्चित पत्रिका वासिंटन पोष्टले सिलाई एक गम्भीर, सचेत तथा मिहिनेती व्यक्ति भनेर प्रसंसा गरेको छ । उनी केही हलिउड फिल्मका पारखी पनि हुन् ।

प्रधानमन्त्री ली खछियाङ

नवनिर्वाचित प्रधानमन्त्री ली खछियाङ सन् १९५५ जुन १ मा आन्हुइ प्रान्तको डिंगुआनमा जन्मिएका हुन् । सन् २००८ देखि लगातार चीनको उपप्रधानमन्त्री रहेका लि बेन जियाबाओलाई प्रतिस्थापन गर्दै पाँचौ पुस्ताबाटै चीनको प्रधानमत्री बनेका छन् ।

चिनिया कम्युनिष्ट पार्टीको युवा संगठन वाइसिएलबाट राजनीतिक करिअर सुरु गरेका लि सुरुमा भने पार्टीमा लाग्न आफ्ना बुवाले गरेको आग्रह अस्विकार गर्दै पेकिंग विश्वविद्यालयमा भर्ना भएका थिए, जहाँबाट उनले कानूनमा स्नातक उपाधि हासिल गरे । तर सांस्कृतिक क्रान्तिका बेला उनलाई पनि फेंगयाङ क्षेत्रको श्रम सिविरमा पठाइयो । जहाँ उनी कम्युनिष्ट पार्टीको सदस्य बने र स्थानीय पार्टी उत्पादन समितिको अध्यक्ष पनि बने । उनले त्यो बेला माओ दर्शनको अध्ययनमा विलक्षण प्रतिभाको सम्मान पनि पाएका थिए ।

सन् १९८० मा उनी पेकिंग्ा विश्वविद्यालयको वाइसिएलको महासचिव बने । भने सन् १९८२ मा वाइसिएलको केन्द्रीय सचिवालय सदस्य बने । त्यसबेला उनले पूर्व राष्ट्रपति हु जिन्ताओसँग काम गर्ने अवसर पाए । लि सन् १९९३ मा कम्युनिष्ट युथ लिगको केन्द्रीय महासचिव बन्न सफल भए ।

सन् १९९८ देखि २००४ सम्म हेनान प्रान्तको गभर्नर बने । उनी हेनानको गभर्नर हुँदा ४३ वर्षको मात्र थिए र उनले सबैभन्दा कान्छो उमेरको गभर्नर हुने किर्तिमान पनि बनाए । त्यसपछि सन् २००४ मा उनी लियाओनिङको पार्टी प्रमुख भए । सन् २०१२ मा उनलाई पार्टीले पोलिट्ब्यूरो स्थायी समितिको दोश्रो वरियतामा चुन्यो । त्यो सँगै उनी भावी प्रधानमन्त्री बन्ने पक्का भयो र अन्ततः यहीँ मार्च १५ मा उनी चीनको प्रधानमन्त्रीमा चुनिए ।

लिकी श्रीमती चेंग होंग बेइजिङको क्यापिटल युनिभर्सिटी अफ इकोनोमिक्स एण्ड बिजनेसकी प्राध्यापक हुन् । लिका ससुरा पनि वाइसिएलको केन्द्रीय कमिटीका भूतपूर्व उपमहासचिव हुन् ।