पार्टी कार्यालयमा नेविसंघले ताला लगायो


महेश्वर चामलिङ राई, उदयपुर, फागुन २८- नेपाल विद्यार्थी संघ उदयपुरको असन्तुष्टपक्षीय समितिले नेपाली कांग्रेस पार्टी कार्यालयमा सोमबारदेखि अनिश्चिकालीन तालाबन्दी गरेको छन्। पार्टीले नेविसंघलाई बेवास्ता गरेको र संगठनको विधानविपति जथाभावी हस्तक्षेप गरेको भन्दै सोमबार दिउँसो ३ बजे कार्यालयमा तालाबन्दी गरिएको हो।


 पार्टी एकीकरण ताकादेखि नै विवाद भएका कारण दुई संगठन रहँदै आएकोमा विवाद मिलाउन पार्टीले गत वर्ष संगठनमाथि हस्तक्षेप गरी अशोक श्रेष्ठ नेतृत्वमा नयाँ समिति गठन गरेको थियो। तर, सो समितिप्रति असहमति जनाउदै देउवा पक्षीय समितिका अध्यक्ष राजकुमार राउत नेतृत्वको समितिले आफ्ना मागहरुप्रति बेवस्ता गरेको भन्दै तालाबन्दी गरेको हो।
लामो समयदेखि रहेको विबाद मिलाउने नाममा पार्टीको अनावश्यक हस्तक्षेप भएकाले निर्णय उल्टाउन माग गर्दै सातादिनअघि दिएको अल्टीमेटम सकिएपछि तालाबन्दी गर्नुपरेको संघका केन्द्रीय सदस्य राकेश खत्रीले बताए।
'हामीले यसअघि नै पार्टी हस्तक्षेपबाट गरिएको निर्णय फिर्ता लिन आग्रह गरेका थियौं' उतले भने- 'आज दिउसो १ बजेसम्मको निर्णय फिर्ता लिन दिएको अल्टीमेटमको समय सकिँदा पनि पार्टीले बेवास्ता नगरेपछि तालाबन्दी गर्न बाध्य भएका हौं।'



जिल्ला नेतृत्वले विद्यार्थीको भावनामाथि खेलवाड गर्नुका साथै नेविसंघको विषयमा एकपक्षीय निर्णय गर्ने गरेको उनले आरोप लगाए।