माओवादी महाधिवेशनमा विपक्षी नेता नजाने
![]() |
काठमाडौं, माघ २० - एनेकपा माओवादीको शनिबारदेखि सुरु हुने महाधिवेशनमा प्रमुख विपक्षी दलका शीर्ष नेता भने सहभागी नहुने भएका छन् । एमाओवादीले प्रमुख विपक्षी दलका नेता कांग्रेस सभापति सुशील कोइाराला र एमाले अध्यक्ष झलनाथ खनाललाई अतिथिको रुपमा महाधिवेशनमा निमन्त्रणा पठाएको छ ।
पहिले तय भएका विपक्षीका विरोध कार्यक्रम र सभामा जानुपर्ने भन्दै शीर्ष नेताहरु एमाओवादी अधिवेशनमा नजाने भएका छन् । कोइराला पार्टीकै काममा व्यस्त हुनुपर्ने भएकाले नजाने बताएका छन् भने एमाले अध्यक्ष खनाल विपक्षी दलहरुको विराटनगरमा हुने विरोध सभामा जाने कार्यक्रम छ । शिर्ष नेता सहभागी हुन नसके पनि प्रतिनिधिको रुपमा भने दुबै दलले पठाउदैछन् । क-कसलाई पठाउने भन्ने दुबै दलले व्यक्ति चयन गरिसकेका छैनन् ।
कांग्रेस सभापति कोइराला नजाने टुंगो भइसकेको छ भने एमाले अध्यक्ष खनालले पनि नभ्याउने भन्दै पार्टीमा प्रतिनिधि खटाउने कुरा गरेका छन् । 'अध्यक्षलाई अतिथिको रुपमा महाधिवेशनमा बोलाएको छ, तर उहाँले कामको कारण जान सक्दिन कि भन्नुभएको छ,' एमाले सचिव विष्णु पौडेलले भने- 'अध्यक्ष नगएपनि एमालेले कोही अर्को कोही प्रतिनिधि पठाउछ ।' प्रतिनिधिको रुपमा को जाने भन्ने पनि टुंगो भइनसकेको पौडेलले जानका दिए ।
![]() |