फायरिङ गर्दै हतियारसहित प्रहरी जवान फरार




ओखलढुंगा, माघ २० - यहाँको टोक्सेल-२ स्थित हर्कपुर प्रहरी चौकीका एक जवानले शुक्रबार राति हतियार कब्जामा लिई फाईरिङ गर्दै फरार भएका छन् । ड्युटी समयमा साथीभाईसँग सामान्य विवाद पश्चात आवेशमा आएर हतियार कब्जा गरी फरार प्रहरी जवान कुलबहादुर तामाङलाई शनिबार साँझसम्म पनि प्रहरीले पक्राउ गर्न सकेका छैनन् । राति नौ देखि ११ बजेसम्मको ड्युटी रहेका तामाङले सवा नौ बजेको समयमा साथीहरुले राखेको पाँच थान हतियार कब्जामा लिई फाईरिङ सुरु गरेका थिए ।
सुरुमा तीन राउण्ड फायर गरेपछि उनका साथीहरु भागेको स्थानीयको भनाइ छ । चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक डिल्ली दाहाल कार्यालय कामकाजले सिन्धुलीको खुर्कोटतिर गएको अवस्थामा घटना घटेको स्रोतले जनाएको छ । जम्मा सात जना प्रहरी रहने चौकीमा उनले बाँकी सबैलाई तथानाम गाली गर्दै पाँचैवटा हतियार लिएर सुनकोशी पार गरेका थिए । स्थानीयबासीलाई समेत ढोका बन्द गरेर सुत्न भनेर धम्क्याउँदै फाइरिङ गर्न थालेपछि रुवाबासी मच्चिएको थियो ।
उनले अन्तिम फाईरिङ उदयपुरको लेखानीस्थित घुर्मी कटेर गएपछि ११ बजेतिर गरेको स्थानीय घनश्याम गौतमले बताए । सबै हतियार लिएर तामाङ हिँडेको भएपनि चारवटा नजिकैको खोलामा फेला परेको र उनको साथमा एउटा हतियार रहेको प्रहरीले जनाएको छ । केही गोलीहरु स्थानीयले सुनकोशी किनारमा फेला पारि प्रहरीलाई जिम्मा दिएका छन् । उनले फाईरिङ सुरु गरेपछि गाउँलेले जिल्लास्थित स्थानीय प्रशासन र प्रहरीलाई खबर गरेका थिए । हर्कपुरमै शसस्त्र प्रहरीको अस्थायी क्याम्प रहेको भएपनि उनीहरुले नियन्त्रण गर्न नसकेको स्थानीयको भनाई छ ।
'एकजना जवानले हतियार लिएर डेढ घण्टासम्म वरपर फाईरिङ गर्दा कसैले नियन्त्रणमा लिन सकेनन् ।' एक स्थानीयले टेलिफोनमा भने, 'कम्तिमा शसस्त्रले छिट्टै नियन्त्रणको पहल गरेको भए पक्राउ गर्न केही सहज हुने थियो ।' घटना घटे लगत्तै राति नै जिल्ला प्रहरीबाट प्रहरी निरीक्षक पदम थपलिया र नेत्र बरुवालको टोली घटनास्थल तर्फ लागेका छन् । प्रमूख जिल्ला प्रहरी सूर्यबहादुर खत्रीले समेत घटनास्थल पुगि सोधपुछ गरेर त्यतैबाट काठमाडौं तर्फ लागेको स्थानीयले बताए । प्रहरी नायब उपरिक्षक सुदमकुमार सिजापति भने घरायसी कामको कारण बिदामा रहेका छन् ।
जिल्ला प्रहरीका अर्का प्रहरी निरिक्षक रामकुमार यादवका अनुसार रातिदेखि नै फरार तामाङको खोजीकार्य जारी रहेपनि फेला नपरेको बताए । उनले यस सम्बन्धमा क्षेत्रीय प्रहरीका एसएसपी भोगबहादुर थापाको नेतृत्वमा छानविन समिति गठन भईसकेको बताए । फरार जवान तामाङ संचारतर्फ कार्यरत थिए । थप अनुसन्धान भईरहेको प्रहरीको भनाइ छ । फरार जवान ड्युटीमा रहेको भनिएपनि प्रत्यक्षदर्शीले देख्दा सिभिल पोशाकमा रहेको बताएपछि घटना थप रहस्यमय बनेको छ ।