राजदूत चालिसेलाई ग्रासरुट डिप्लोम्याट अवार्ड
![]() |
लन्डन , माघ १९ - बेलायतका लागि संयुक्त अधिराज्यका राजदूत सुरेशचन्द्र चालिसे ग्रासरुट डिप्लोम्याट अवार्डबाट सम्मानित भएका छन् । सामाजिक तथा आर्थिक कुटनीति मार्फत बेलायतमा बसोवासरत गोर्खालीहरुलाई ब्रिटिश समाजमा समायोजनका लागि खेलेको भूमिकास्वरुप उनलाई यूकेको प्रतिष्ठित अवार्ड प्रदान गरिएको हो ।
बिहीबार वेष्टमिनिष्टरमा आयोजित एक भव्य कार्यक्रममा राजदूत चालिसेसहित ६ जना विशिष्ट व्यक्तिलाई विभिन्न तीन विधामा सो अवार्ड प्रदान गरिएको थियो । अवार्ड पाउने अन्यमा यूकेको कन्जरभेटिभ पार्टीका सांसद् रोवर्ट बकल्याण्ड, लेवोर सासंद डेब्बी अब्रहाम्स्, हाउस अफ लर्डका सदस्य ब्यारोनेस् मे व्लड एमबीइ, बेलायतका लागि ब्राजिलका राजदूत रोवर्टो जगुरिव र कोलम्बियाका राजदूत मौरिसियो मुनेरा छन् ।
अवार्ड प्राप्त गरेपछि कार्यक्रममा वोल्दै राजदूत चालिसेले विश्वमै परिश्रम र अनुशासनका लागि परिचित गोर्खाली नेपालीहरुलाई बेलायती समाजमा समायोजन गराइनु अपरिहार्य रहेको बताए । आफ्नो कार्यको कदर गर्दै अवार्ड प्रदान गरिएकामा खुसी व्यक्त गर्दै चालिसेले बेलायतमा बसोबासरत विभिन्न आर्थिक, सामाजिक र साँस्कृतिक पहिचान वोकेका नेपालीलाई बेलायती समाजमा समायोजन गराउन अवार्डले दूतावास र आफूलाई अझ उत्साहित गर्ने बताए ।
अवार्डका लागि बेलायत स्थित उच्चस्तरीय राजनीतिज्ञ, सरकारी पदाधिकारी तथा कुटनीतिज्ञहरु गरी ५० जना मनोनित भएका थिए । बेलायती राजनीतिज्ञबाहेक बेलायतका लागि ब्राजिल कोलम्विया, अर्जेन्टिना, फिनल्याण्ड, फिलिपिन्स, होण्डुरस, मल्डोभा, स्लोभानिया र इजरायलका राजदूतहरु पनि सो अवार्डका लागि मनोनित भएका थिए ।
![]() |