तिम्रो लागि


कम उमेरका निर्देशक एनआर घिमिरेद्वारा निर्देशित चलचित्र 'तिम्रो लागि' को सार्वजनिक प्रदर्शन आज शुक्रबारदेखि प्रारम्भ हुँदैछ। १८ वर्षीय  घिमिरे नेपाली चलचित्र क्षेत्रका हालसम्मकै सबैभन्दा कम उमेरका निर्देशक हुन्। अघिल्लो वर्ष चलचित्रको छायांकन प्रारम्भ हुँदा उनी १७ वषर् का थिए। निर्माण सम्पन्न भएको करिब एक वर्षपछि प्रदर्शनको पालो पाएको यो चलचित्रमा सुमन सिंह, कुशल थापा, सुमिना घिमिरे, सरोज  केसी, गणेश उप्रेती, सुरवीर पण्डित, सुशील पोखरेल, दिव्यश्वर गौतम आदि कलाकारले अभिनय गरेका छन्। चलचित्रमा सुमन, सुमिना तथा  कुशलबीचको त्रिकोणात्मक प्रेम कथालाई मुख्य विषय बनाइएको छ। चलचित्रको अधिकांश दृश्य नायिका सुमिना घिमिरेको वरिपरि घुमेको छ।  प्रेमको गहिराइसम्म पुगेका युवा-युवतीको मनोदसा चित्रण गरिएको यो चलचित्रमा द्वन्द्वका रोमाञ्चक दृश्यलाई पनि स्थान दिइएको बताइन्छ।  अरुण फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्रको शीर्षक गीत 'तिम्रो लागि...' यसअघि नै लोकप्रिय भैसकेको छ। सन्तोष प्रगाढ यो  चलचित्रका संगीतकार हुन्। देवेन्द्र गिरीले छायांकन गरेको यो चलचित्रमा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन छ भने बब्बु थापा चलचित्रका नृत्य  निर्देशक हुन्।