प्रचण्डको पार्टीमा तीन विप्लब, दुई लालध्वज !


बिसंखेले चोरिन् वर्षमानको नाम, पासाङसमेत दुईजना


२४ माघ काठमाडौं । स्कुल वा कलेज पढ्दा आफ्नो नामपछाडि फुर्को झुन्ड्याउने रहर सबैलाई हुन्थ्यो । किशोरावस्थामा नामपछाडि कसैले उदासी, वियोगी, ज्वाला त कसैले पागलप्रेमी जस्ता फुर्का भुन्ड्याउने गरेझैं जनयुद्धकालमा नामपछाडि फूँदो जोड्ने होडबाजी नै थियो माओवादीभित्र ।
जनयुद्ध सकिए पनि एमाओवादी नेतामा नक्कली नाम राख्ने चलन हटेको छैन । हेटौडामा जारी महाधिवेशनमा सहभागी प्रतिनिधिका हात/हातमा थमाइएको प्रचण्डको तस्वीरअंकित मोटो डायरीमा माओवादी नेताका रोचक नामहरु हेर्न सकिन्छ । प्रभावशाली नेता नेत्रविक्रम चन्द (विप्लव) प्रचण्डको साथ छाडेर वैद्य पक्षमा लागे पनि एमाओवादीको केन्द्रीय समितिमा अझै तीनजना नयाँ विप्लवहरु बाँकी रहेको प्रमाणसमेत उक्त डायरीभित्र छ । तर, एमाओवादीमा रहेका तीन विप्लवमध्ये एकजना चाहिँ हत्या आरोपमा प्रहरीको खोजीको सूचिमा छन् ।
बालकृष्ण ढुंगेल उर्फ ‘विप्लव’
हत्या आरोपमा प्रहरीको खोजी सूचिमा रहेका ओखलढुंगाका पूर्व सभासद् बालकृष्ण ढुंगेलले आफ्नो नाम विप्लव राखेका छन् ।
रोचक त के छ भने विप्लव नाम राख्ने रहर ढुंगेललाई मात्रै नरहेर बूढा कामरेड एवं चर्चित साहित्यकार निरञ्जन (निनु) चापागाईमा पनि देखिएको छ । चापागाईले पनि आफ्नो नाम ‘विप्लव’ राखेका छन् । विप्लव नाम राख्ने रहर अर्का केन्द्रीय सदस्य बलराम तिम्सिनालाई पनि लागेको छ । अन्ततः चन्दले पार्टी छाडे पनि एमाओवादीमा तीनजना विप्लवको अवतार देखिएको छ, ढुंगेल, चापागाई र तिम्सिना ।
 लालध्वजको जोडी !
टि्वटरमार्फत् प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो टेकनाम ‘लालध्वज’ प्रचारमा ल्याउनुभएको छ । लालध्वज उहाँको जनयुद्धकालीन नाम हो । उहाँले प्रधानमन्त्री भैसकेपछि यो नाम प्रचारमा ल्याउनुले एमाओवादी नेताहरुको दोहोरो नामप्रतिको लगाव अझै घटेको छैन भन्ने प्रष्ट पारेको छ ।
तर, बाबुरामको क्रान्तिकारी नाम ‘लालध्वज’माथि अर्का एमाओवादी नेता सूर्यमान दोङले पहिल्यै धावा बोलिसकेका छन् । पूर्वसभासद् दोङको टेकनाम पनि बाबुरामकै जस्तो ‘लालध्वज’ नै हो । बालकृष्ण ढुंगेल (विप्लव) लाई जस्तै सूर्यमान (लालध्वज)लाई समेत हत्यासम्बन्धी जनयुद्धकालीन मुद्दा छ ।
 अनन्त र पासाङ पनि दुई/दुईजना
केन्द्रीय सदस्य अञ्जना बिसंखेले वर्षमान पुनको नाम चोर्दै आफ्नो नाम ‘अनन्त’ राखेकी छन् । केन्द्रीय सदस्य रामकुमार राईले नन्दकिशोर पुनको नाम चोरेर आफ्नो नाम पासाङ राखेका छन् । त्यसैगरी क्षेत्रबहादुर श्रेष्ठ र टोपबहादुर रायमाझी दुबैको नाम ‘अनिल’ रहेको छ ।
पूर्वमसालद्वय कर्णध्वज केसी र दीनानाथ शर्माको नाम एउटै छ । सुरेन्द्रप्रसाद जैसवालले पनि दीनानाथ शर्माकै टेकनाम (अशोक) प्रयोग गरेका छन् । मकवानपुरे नेता सोनामसिंह स्याङतान र लिम्बुवानका नेता श्रीप्रसाद जबेगू दुबैको नाम विजय रहेको छ । अर्का केन्द्रीय सदस्य कृष्ण धितालको नाम पनि विजय रहेको छ ।
 सक्कली नाम भएका नेता
एमाओवादीको केन्द्रीय आयोजक समितिमा हाल २ सय ४० सदस्य छन् । तीमध्ये नरबहादुर कर्माचार्य, जीतवीर लामा, कमान सिंह लामा, रामरिझन यादव, पेशल खतिवडा, दिलिपकुमार साह, सविना अर्याल, असर्फी सदा, सुष्मा शर्मा घिमिरे, पूर्ण सिंह राजबंशी र भीमबहादुर कडायतलगायतको टेकनाम छैन । १ सय ९३ औं बरियतामा रहेका केन्द्रीय सदस्य हरि रोक्काको नक्कली नाम छैन । खिमलाल देवकोटा पनि टेकनामविहीन छन् ।
 एमाओवादी नेताका रमाइला नाम !
अमिक शेरचनको नाम ‘एकलव्य’ राखिएको छ । गिरिराजमणि पोखरेलले आफ्नो नाम पीयुष राखेका छन् । लीलामणि पोखरेलको नाम ‘अभिषेक’ रहेको छ । जनयुद्धकाल चर्चामा रहेका र पछि माओवादी बनेका दुबैखाले नेताका केही नामहरु यस्ता छन् :
 भीमप्रसाद गौतम -अरुण
स्वनाम साथी- अनाम
लीलबहादुर थापा मगर-जंगध्वज होग्ले
नवराज सुवेदी-रत्नसागर
डिलाराम आचार्य -सुरेन्द्र
गिरिधारीलाल न्यौपाने- विकास
नन्दकुमार (एनके) प्रसाई- राजन
रामप्रसाद बञ्जाडे- टंकमणि शर्मा
भक्तिप्रसाद पाण्डे- महेश चाचा
डा. डिल्लीराज खनाल- सम्राट
प्रभु साह – मुक्ति
सुरेसकुमार राई- एसके हिमाल
केशव नेपाल- विजयकुमार
कृष्ण केसी- मिलन
घनश्याम शर्मा पौड्याल- बैभव
राजु खड्का- रुस्तम्
कृष्ण भुजेल- सेलुन
वेदनीधि अधिकारी- वेदव्यास मुरली
रामकुमार शर्मा- आर्ट
रणेन्द्र बराली- रक्षालाल
बलावती शर्मा-अनुषा
सत्या पहाडी-सुसन सिंह
कल्पना धमला- कुशुम
पूर्णकुमारी सुवेदी -शिला