करोडौं ठगेर फरार व्यक्ति भारतीय नेताकहाँ धाउँदै
![]() |
काठमाडौ, माघ १६ - नेपालमा करोडौं ठगेर फरार व्यक्तिले कारबाहीबाट उम्कन भारतीय नेता, राजदूत र मन्त्रीसँग 'लबिङ' थालेका छन् । कपिलवस्तुका पशुपति शुक्लाले भारतीय पूर्वविदेशमन्त्री एसएम कृष्णा, सत्तारूढ भारतीय राष्ट्रिय कंग्रेसका सांसद जगदम्बिका पालमार्फत कारबाहीबाट उम्कन नेपालस्थित भारतीय राजदूतावासलाई पत्राचार गरेको खुलेको हो । पृष्ठभूमि र अध्ययन गर्दा शुक्लाले भारतीयलाई नै ठगेको र इन्टरपोलले समेत पक्राउ गर्न सूचना जारी भएकाले सहयोग गर्न नसक्ने बेहोराको पत्र भारतीय राजदूत जयन्त प्रसादले पाललाई पठाएका छन् । एडभान्स पावर डीआइसेस नामक इलेक्ट्रोनिक कम्पनी खोलेर बसेका शुक्लाले विभिन्न व्यक्तिबाट ४ करोडभन्दा बढी ठगी गरेको पाइएको थियो । ठगीपछि भागेर भारत पुगेका थिए । उनले भारतको उत्तर प्रदेशमा रहेका नातेदार दिनेशकुमारमार्फत मन्त्री र लोकसभा सदस्यलाई कारबाहीबाट जोगिन लबिङ गर्न पुगेका थिए । शुक्ल गोर्खा विकास बैंकबाट ऋण लिएर भुक्तानी नगरी फरार अभियुक्त पनि हुन् । लोकसभा सदस्य जगदम्बिका पालले भारतीय विदेश मन्त्रालयलमा पत्राचार गरी शुक्ला परिवारलाई कुनै किसिमको दबाब नदिन आग्रह गरेका छन् । उनले अगस्ट २०११ मा विदेश मन्त्रालयलाई पत्राचार गरी शुक्लालाई अरिफ अन्सारीले जबरजस्ती चेकमा हस्त्ााक्षर गर्न लगाएको समेत दाबी गर्दै निष्पक्ष छानबिनका लागि सघाउन आग्रह गरेका छन् । त्यसमा भारतीय विदेशमन्त्री एसएम कृष्णाले शुक्ला नेपालमा चार करोडभन्दा बढी रुपैयाँ ठगी गरेर भारत फरार भएको जवाफी पत्र लोकसभा सदस्य पाललाई पठाएका थिए । एसएम कृष्णाले पाललाई पठाएको पत्रमा शुक्लाले २५ वर्षदेखि भारतमा बसेर व्यापार गरिरहेका व्यापारी अन्सारीलाई ३३ लाख ठगेर फरार भएको उल्लेख गरेका छन् । नेपालको इन्टरपोलले समेत शुक्ला परिवारलाई खोजी गरिरहेको पत्रमा उल्लेख छ । यही बेहोराको पत्र नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादले लोकसभा सदस्य पाललाई पठाइदिएका छन् । उनले शुक्लाबारे गम्भीर अनुसन्धान गरेको भन्दै ठगी गरेर फरार भएकाले कुनै सहयोग गर्न नसकिने पत्रमा उल्लेख गरेका छन् । नेपाल प्रहरीले शुक्लाको फोटो र विवरण सञ्चार माध्यममा समेत प्रकाशित गरेको जयन्तको पत्रमा उल्लेख छ । शुक्लाले भारतीय नागरिक अरिफ अन्सारीलाई नेपाल इनभेस्टमेन्ट बैंकको दुई चेक दिएका थिए । ३३ लाख रुपैयाँको उक्त चेक बाउन्स भएपछि फरार भए । ललितपुरको एडभान्स पावर डिभाइसेस् नामको निजी कम्पनीका लागि ऋण लिएका शुक्लाविरुद्ध ललितपुर प्रहरीमा जाहेरी परेको थियो । उनीविरुद्ध मे ५।२०११ मा महानगरीय प्रहरी परिसर ललितपुरमा उजुरी परेको थियो । शुक्लाले प्रदीप श्रेष्ठ र राजेश काफ्लेलाई समेत करोडौं रुपैयाँ ठगी गरेको पाइएको छ । शुक्ला परिवारका ३ सदस्य पशुपतिनाथ, रामचन्द्र शुक्ला र मीना शुक्लाविरुद्ध डिफ्युजन नोटिस जारी गरिसकेको छ ।
![]() |