कोदो खानेलाई भोक कम


हेलाँमा पर्ने बालीतर्फ आकर्षण बढ्दो


१७ माघ, काठमाण्डौं । केही वर्षअघिसम्म कोदोको रोटी र ढिंडोलाई गरीबको खानाको रुपमा लिइन्थ्यो । मैले कोदाको भात खाएँ भनेर भन्न धेरै लजाउँथे । हिजोआज पनि पूजाआजा र काजकर्ममा कोदोलाई बिटुलो मान्ने चलन छँदैछ । जाँड बनाउन मात्र काम लाग्ने भन्ने मान्यताले कोदोको खेती पनि कम हुन थालेको थियो । तर पछिल्ला वर्षहरुमा कोदोखेती र कोदोका परिकारमा आकर्षण बढ्न थालेको छ ।
‘कोदोको फाइदा बुझ्न थालेपछि यसप्रति आकर्षण बढेको हो’ बालीविज्ञ ढुण्डीराज शर्माले अनलानइखबरलाई भन्नुभयो-’कोदोको मागसँगै खेती पनि बढ्दैछ ।’ कोदो खोज्नको लागि गाउँगाउँमा पुग्नेहरु प्रशस्तै भेटिने उहाँले बताउनुभयो । तर माग अनुसार खेती नहुँदा खोज्नेले सजिलोसँग कोदो पाउन सकेका छैनन् । शहरमा समेत कोदो खोज्नेहरु बढ्न थालेपछि नेापाल कृषि अनुसन्धान परिषद नार्कले नयाँ र उन्नत जातको बीउ खोजी थालेको छ ।
अरु बालीको जस्तै उन्नत जात खोज्ने क्रममा नार्कले कोदोको चारवटा जात सिफारिस गरिसकेको छ । मध्यपहाडका लागि काभ्रे १, मध्य र उच्च पहाडका लागि डल्ले, उच्च पहाडका लागि मुड्के र तराईका लागि ओख्ले नामका जातको खेती पनि भैरहेको छ । अझै नयाँ जात निकाल्न भारत, पाकिस्तान, श्रीलंका लगायतका देशहरुसँग सहकार्यमा गरिएको नार्कको भनाई छ ।
फाइदै फाइदा
गाउँठाउँका धेरै बालबालिकाले अझै पनि विद्यालयमा खाजा खाँदैनन् । घरमा बिहान भात खाएर गएका कतिपय बालबालिका विद्यालयबाट बेलुकी फर्केपछि मात्र खाजा भेट्टाउँछन् । शहरबजारमा पढ्ने बालबालिकालाई स्कूल नपुग्दै टिफिन खाने हतारो हुन्छ । ‘बिहान के खाएको हो भन्ने कुराले पनि निर्भर गर्छ, चामलको भात खानेलाई छिटो भोक लाग्छ, कोदोको ढिंडो खाएर गएकालाई छिटो भोक लाग्दैन’ बालीविज्ञ शर्माले भन्नुभयो । कोदो आडिलो खानेकुरा भएकाले छिटो भोक नलाग्ने उहाँले जानकारी दिनुभयो ।
स्वास्थ्य विशेषज्ञहरुका अनुसार नियमिति कोदाका परिकार खाने बालबालिका अरुभन्दा स्वस्थ हुन्छन् । ‘कोदोमा प्रोटिन र फलाम तत्व प्रशस्त हुने भएकाले बालबालिकालाई तन्दुरुस्त बनाउन सहयोग पुर्याउँछ’ शर्माले भन्नुभयो ।
चिसो, ग्यास्टिक र निन्द्रा नलाग्ने बिरामीले कोदोको परिकार खाने गर्छन् । यस्तै एलर्जी भएका बिरामीलाई पनि कोदोको पीठो दल्दा फाइदा पुग्छ ।