बाबुरामले कुलेखानी सुकाउन लागे : ओली



'सरकारले फागुन देख्दैन'-

काठमाडौं, माघ १६ (नागरिक)- एमाले नेता केपी शर्मा ओलीले अब बन्ने नयाँ सरकारलाई अप्ठ्यारोमा पार्न कुलेखानीको पानी समाप्त गर्न लागेको बताएका छन्। उनले अहिले २ घण्टा लोडसेडिङ घटाएको देखाउने बाबुराम सरकारले २४ घन्टा कुलेखानी चलाएर जलायस सुकाउन खोजेको आरोप लगाए।



'लोडसेडिङ दुई घण्टा घटाउन अहिले दिनभरि कुलेखानी चलाएर सुकाउन खोजेको छ,' राजधानीको शहिदगेटमा आयोजित कोणसभालाई सम्बोधन गर्दै ओलीले भने, 'फागुनमा नयाँ सरकार बन्दा लोडसेडिङ २० घण्टा हुन्छ। अनि हामीले लेडसेडिङ घटाएका थियौं भनेर प्रचार गर्न खोजेका छन्।'

उनले अहिलेको सरकारले फागुन नदेख्‍ने घोषणा गरे। कुलेखानी नेपालका एकमात्र जलाशययुक्त जलविद्युत आयोजना हो। कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री प्रकाशमान सिंहले आन्दोनलको उपलब्धी संस्थागत गर्न आन्दोलन आवश्यक भएको बताए। एमाले उपत्यका समन्वय कमिटीका संयोजक कृष्णगोपाल श्रेष्ठ, कांग्रेस केन्द्रीय सदस्य नविन्द्रराज जोशी, राष्ट्रिय जनमोर्चा नेपालका महासचिव सन्तबहादुर नेपाली, नेकपा संयुक्तका नेता गणेश साह, राजपाका उपाध्यक्ष लालध्वज, नेकपा मालेको पोलिटब्युरो सदस्य डम्बर श्रेष्ठले सम्बोधन गरेका थिए।