नेतृत्वमाथि बारम्बार आक्रमण, जनताको आक्रोश वढ्दै

दाहालले संसद्को रोस्ट्रममा उभिएर यस्तो प्रतिक्रिया जनाएका थिए । २०६७ माघ ७ गते सुनसरीमा आयोजित कार्यक्रममा पार्टीका नवप्रवेशीको लाइनमा आएका देवीप्रसाद रेग्मीले खनाललाई थप्पड हानेका थिए । त्यतिबेला संसद्मा परिणामविहीन प्रधानमन्त्री निर्वाचनको शृंखला चलिरहेको थियो । त्यो घटनालाई जनआक्रोशका रूपमा चित्रण गर्दै दाहालले भनेका थिए, ‘अब पनि प्रधानमन्त्री बनाउन नसके एक जनालाई होइन, हामी धेरै नेतालाई जुत्ता हान्ने स्थिति आउँछ ।’ परिस्थिति उनले आँकलन गरेकै दिशातिर अघि बढ्यो । लगत्तै संसद्ले प्रधानमन्त्री त चुन्यो तर नेतामाथि आक्रमणको शंृखला रोकिएन ।

पार्टीको चियापान कार्यक्रममा शुक्रवार प्रचण्डमाथि आक्रमण गर्ने बागलुङका पदम कुँवर पनि उनकै पूर्वकार्यकर्ता हुन् । गत साउन ३ मा एमाओवादीको प्लेनम बैठकमा असन्तुष्ट लडाकुले प्रचण्ड, प्रधानमन्त्री बाबुराम भट्टराईसहितका शीर्षनेताहरूलाई लक्षित गरी कुर्सी प्रहार गरे । पूर्वलडाकुको अस्थायी शिविरमा भएको अनियमिततासँग जोडिएको उक्त प्रकरणलाई प्रचण्डले छानबिन कमिटी बनाएर थामथुम पारेका थिए । आजको कान्तिपुर दैनिके समाचार छापेको छ । गत असोज १३ गते कांग्रेस सभापति सुशील कोइरालामाथि पनि आफ्नै कार्यकर्ताबाट कुर्सी प्रहार भएको थियो । कुर्सी हान्ने अरू कोही नभएर नेविसंघकै कार्यकर्ता प्रवेश बस्नेत थिए । असन्तुष्टिको विषय पनि साधारण थियो, आयोजकले आफूभन्दा कनिष्ट धेरैलाई आसन गराउँदा पनि आफूलाई वास्ता नगर्नु ।

खनाल र कोइरालामाथिको आक्रमणमा संलग्नलाई प्रहरीले पक्राउ गरी सार्वजनिक अपराधको मुद्दा लगाएको थियो । रेग्मीलाई केही दिनमा खनाल स्वयंले माफी दिए भने बस्नेत केही दिनपछि धरौटीमा छुटे । आन्तरिक बैठकको घटना भएकाले दाहाल र भट्टराईमाथि कुर्सी प्रहार गर्ने लडाकु को थिए भन्ने सार्वजनिक भएन ।

त्यसअघि २०६८ वैशाख १९ गते संविधानसभा भवनबाट निवास जाँदै गरेका झक्कु सुवेदीलाई तीनकुनेमा चियापसल चलाउने गोर्खा, गाईखुरका प्रेमराज देवकोटाले झापड हानेका थिए । आफ्नो पसलअगाडि हिँडिरहेका सभासद सुवेदीलाई देवकोटाले बोलाएर संविधान कहिले बनाउँछौ भन्दै दुई झापड हानेका थिए । प्रहरीले पक्रेको केही दिनमा सुवेदीकै आग्रहमा देवकोटा रिहा भए ।

यी सबै घटना समाजमा बढ्दो हिंसात्मक मनोवृत्तिका उदाहरण हुन् । ‘कुनै पनि चीज प्राप्तिको एउटै उपाय हिंसा र बलप्रयोग हो भन्ने मनोदशाको विकास भएको छ,’ मनोचिकित्सक पुष्प शर्माले कान्तिपुरसँग भने, ‘बढ्दो हिंसात्मक प्रवृत्ति रोक्ने पहल भएको छैन ।’

अपराधशास्त्री माधव आचार्य भने यी घटनालाई विशुद्ध अपराधिक नभई राजनीतिक असन्तुष्टि व्यक्त गर्ने असभ्य तरिका मान्छन् । ‘यो राजनीतिक असन्तुष्टि जनाउने असभ्य शैली हो,’ आचार्यले भने । यस्ता घटना बढी राजनीतिक र कम आपराधिक भए पनि त्यसको पृष्ठभूमिमा नेतृत्वको कार्यशैली जिम्मेवार रहेको उनको भनाइ छ । ‘घटना आफ्नै पंक्तिबाट भएको देखिन्छ,’ उनले भने, ‘आफैंले परिचालन गरेका कार्यकर्तालाई अनुशासन र विश्वासमा राख्न नसक्नु नेताहरूको कमजोरी हो ।’

संक्रमणकालीन अस्थिरता र कमजोर शान्ति सुरक्षाका कारण नेताहरू पनि असुरक्षित भएका हुन् । राजनीतिक आस्थाकै आधारमा धम्की र दुव्र्यवहार भोग्ने नेताहरूको सूची लामै छ । राज्यव्यवस्था समितिका तत्कालीन सभापति रामनाथ ढकालमाथि २०६८ मंसिर २१ गते पुतलीसडकको व्यस्त चोकमा आक्रमण प्रयास भयो । संविधानसभा भवन, नयाँ बानेश्वरबाट निवासतर्फ फकर्ंदै गरेका ढकाल सवार गाडीमाथि अज्ञात समूहले ढुंगा प्रहार गरेको थियो । आक्रमणमा को र किन संलग्न थिए भन्ने तथ्य पत्ता लाग्न सकेन ।

त्यसअघि तत्कालीन प्रधानमन्त्री माधव नेपाल नेतृत्वको सरकारमा मन्त्री नियुक्त भएकै दिन एमाले नेता गोकर्ण बिष्टमाथि खुकुरी प्रहार भएको थियो ।

राज्यको शासकीय स्वरूप निर्धारण समितिका सभापति शम्भुहजारा दुसाद पनि २०६८ मंसिर २५ गते राति अज्ञात समूहको आक्रमणमा परेका थिए । नयाँ बानेश्वरको डेरानजिकै मध्यरातमा उनीमाथि फलामे रड प्रहार भएको थियो । उनले राति नै प्रहरीलाई उजुरी दिए तर आक्रमणकारी पक्राउ परेनन् ।

२०६९ वैशाख २८ गते तत्कालीन सभासदद्वय सुदन राई र लक्ष्मी गुरुङमाथि कोटेश्वरमा प्रदर्शनकारीले हातपात प्रयास गरे । गुरुङको खुट्टामा सामान्य चोट लाग्यो ।

नेताहरूमाथिको आक्रमणमा संलग्नलाई प्रहरीले सार्वजनिक अपराध ऐनअनुसार मुद्दा चलाउने गरेको छ । सरकारवादी मुद्दा हुने भएकाले यसमा पीडितको जाहेरी आवश्यक पर्दैन ।