'ठूला दलहरु सत्ताको जोडघटाउमा'

रौतहट, मंसिर २ - राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरदसिंह भण्डारीले ठुलादलहरु सविधान र निर्वाचनलाई भन्दा सत्तालाई मुद्दा बनाएको आरोप लगाएका छन् ।उनले सत्ताको जोडघटाउमा ठुलादलहरु लागेकाले देश असफल राष्ट्र बन्ने खतरा रहेको बताए ।
रौतहटको चन्द्रनिगाहपुरमा शनिबार पार्टीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा भण्डारीले सत्ता नभई जनता सामु जाने हैसियत ठूला दलहरुमा नभएको ठोकुवा गर्दै सत्ताकै आडमा उनीहरुले निर्बाचन गराउन खोजेको आरोप लगाए । ठूलादलहरु सत्तामा नबसी निर्वाचनमा जनता सामु जान नसक्ने उनको भनाई थियो ।
ठूलादलहरु सरकारमा बसेर निर्वाचनमा जाने तयारीमा छन् नेता भण्डारीले भने उनीहरु विवाद गरीरहने हो भने नेतृत्व अब साना दललाई दिए हुन्छ ।
एमाओवादी सत्ता कब्जाको रणनीतिमा लागेकाले मुलुक संकटमा पर्नु भन्दा पहिले राष्ट्रपतिले उचित कदम चाल्नु पर्ने अध्यक्ष भण्डाकारीको भनाई थियो । यस्तो बेलामा दलहरुले नै राष्ट्रपतिलाई  घच्घच्याउनु पर्छ उनले भने मुलुक असफल राष्ट्र बन्न लागेको बेला राष्ट्रपतिले बचउनु पर्छ । एमाओवादीले सहमति गर्छु भनेर पटक पटक प्रतिबद्धता जनाउदै धोखा दिएको आरोप लगाउदै भण्डारीले भने पार्टीका अध्यक्ष 'प्रचण्ड'ले बिहान एउटा कुरा र बेलुकी अर्को कुरा गर्ने  गरेका छन् ।
सरकार हटाउन कांग्रेस-एमालेले गर्न लागेको आन्दोलन प्रति पार्टीको कार्यगत एकता नहुने उनले स्पष्ट पारेका छन् । 'मुद्दामा सहमति नगरी हुन लागेको आन्दोलनमा राष्ट्रिय मधेश समाजवादी पार्टीको कार्यगत एकता हुन सक्दैन', उनले भने ।