आ-आफैं मारिन्छन् नेपाली
![]() |
पछिल्लो दुई वर्षमा ६ जना नेपाली मारिएका छन् । जसमा अधिकांश हत्यारा नेपाली नै छन् । अनुसन्धान जारी रहेकाले हत्यामा संलग्न नेपाली कामदारको नाम भने सार्वजनिक गरेको छैन ।
दोहा, श्रावण २९ - सबैलाई थाहा छ, कतारमा आउने सबै नेपाली आफ्नो भविश्यको खोजीमा आएका हुन् । स्वदेशमा असुरक्षित ठानेर 'केही' हुन्छ कि भनेर लाखौं खर्चेर घरपरिवारसँग टाढिएर यहाँ आइपुगेका हुन्छन् । यहाँ आइपुगेका सबै भाग्यमानी छन् त ? जो कोहीको जवाफ सहज छ, 'हुँदैन' । तर पछिल्लो अभागी हुने सूचीमा अर्को कारण थपिएको छ, 'त्यो हो हत्या' । नेपाली समुदायमा देखिएको यो नयाँ विषयले अर्को चिन्ता थपिएको छ । पछिल्लो दुई वर्षमा झन्डै ६ जना नेपाली मारिएका छन् । मारिनेमा सबै जना कामदार हुन् । हत्यामा संलग्न पनि नेपाली नै छन् । नेपाली दूतावासका अनुसार पाँचथरका नवीनचन्द्र कार्की, झापाका कालीप्रसाद लिम्बू, सिन्धुलीका लिम्बू, बागलुङका रामबहादुर खत्री, म्याग्दीका भीमसेन राई रहेका छन् ।
सन् २०१० मा नवीनको शव क्याम्पको सेफ्टी ट्यांकीमा भेट्टाएको थियो । उनको हत्याको अभियोग गणेशबहादुर कार्की, पूर्ण पराजुली र तेजबहादुर कार्कीलाई लगाएको दूतावासले जनाएको छ । तेजबहादुर भने फरार छन् । सिन्धुलीका लिम्बूलाई हत्यामा संलग्न भनिएको विनोद बस्नेतले पीडित परिवारलाई पाँच लाख रुपैयाँ ब्लडमनि हालै दिएको दूतावासले जनाएको छ । उनको स्वदेशमा 'डिपोट' गर्ने प्रक्रिया सुरु भएको छ । झापाका कालीप्रसाद, म्याग्दीका भीमसेन, बागलुङका रामबहादुरको हत्यामा संलग्न भएको व्यक्तिको औचारिक जानकारी प्रहरीबाट आइनसकेको दूतावासका द्वितीय सचिव जयबहादर राईले बताएका छन् । 'यहाँ घटनाको छानबिन भई दोषी किटान गरेपछि मात्रै घटनामा संलग्न व्यक्तिको जानकारी दिने गरेको छ,' उनले भने ।
दूतावाससँग भएको अनौपचारिक सूचनामा भने हत्यामा संलग्न धेरै जसो आफ्नै साथीभाइ रहेका छन् । पछिल्लो समय २९ मार्चमा मारिएका नेपाली रामबहादुर हुन् । भागेर मजरामा काम गर्दै आइरहेका रामबहादुरको हत्या सहेलियामा भएको थियो । त्यसमा एउटै क्याम्पमा कार्यरत विदेशी नागरिकको संलग्नता रहेको सूचना दूतावाससँग छ ।
धेरैजसो घटना 'आवेग' भएका दूतावासको बुझाई छ । त्यस्ता घटना बिदाको अघिल्लो रात बिहीबार हुने गरेका छन् । खानपिन, सँगैबस्दा भएको मनमुटाव हत्यामा परिणत भएको छ । 'सँगै बस्दा साथीभाइबीच भएको मनमुटावलाई सामान्य लिनुपर्छ,' द्वितीय सचिव राई भन्छन्, 'जसले गर्दा कुनै अपि्रय घटना नघटोस् ।'
दूतावासले नेपाली समुदायमा भएको यस्तो डरलाग्दो घटना रोक्न हाल जनचेतना अभियान जारी गरिरहेको छ । राजदूत मायाकुमारी शर्माले त्यस अभियानमा नेपाली संघ-संस्थाको सहभागिता रहेको बताए । 'नेपाली समुदायमा केही युवाहरूले विकृतजन्य काम भइरहेको छ । त्यस्तो घटनाहरू हुन नदिन अभियान जारी छ,' उनले भने ।
![]() |