गान्धी र यौन

प्रदीप गिरि

गान्धीलाई केवल भारतको स्वतन्त्रतासँग मात्रै जोडेर हेर्ने गरिन्छ । तर उनको व्यक्तिगत जीवनलाई केलाएर हेर्ने हो भने उनी एक दार्शनिकजस्ता पनि लाग्छन् । मान्छेको जीवनका प्रत्येक पक्षसँग देखिने उनको गहिरो अभिरुचिले यसलाई प्रस्ट्याउँछ । खास गरेर मान्छेको यौन विषयप्रति उनको विशेष रुचि थियो । र केवल रूचिमात्रै होइन, स्वयम् उनी यौन विषयप्रति प्रयोगरत रहने गर्थे । यस्तो प्रयोगमा जब-जब भारतमा सत्याग्रहको सन्दर्भ उठ्थ्यो, त्यस्तो बेला उनी एक खास मान्यताको कुरो उठाउँथे । त्यो मान्यता थियो, ब्रह्मचर्यको । सत्याग्रहीलाई उनी ब्रह्मचर्य पालना गर्नुपर्छ भन्नेमा विशेष जोड दिन्थे । साथसाथै उनी स्वयम्ले पनि आफ्नो सत्याग्रही जीवनको आरम्भबाटै यसको प्रयोग गर्न सुरू गरेका थिए ।
सामान्यतया ब्रह्मचारीहरू स्त्री-संसर्गबाट टाढा भाग्ने गर्छन् । तर गान्धी यस प्रकारको पुरुष चरित्रलाई सदैव कायरताको संज्ञा दिने गर्थे । व्यावहारिक रूपबाटै उनी आफू यसको दृष्टान्त बनिरहे । आफ्नी श्रीमतीसँग उनले एउटै कोठामा रात काट्ने चलनलाई कहिल्यै त्यागेनन् । त्यसो त यो चलन उनका लागि अत्यन्तै अप्ठेरोको स्थिति थियो । खुलेरै भनेका थिए उनले, उनलाई सबैभन्दा कठिन काम वासनाप्रति विजय प्राप्त गर्नुमा भएको छ । त्यसैले वासनाका विरूद्ध निरन्तर लडिरहेका थिए । यसैबीच एक प्रकारले वासनामाथि सफल हुनसकेका अभिव्यक्ति पनि दिए, जुन सफलतालाई उनले चमत्कार भएको भनेर ठोकुवा गरेका थिए ।
गान्धी भन्थे, वासनालाई केवल मन-मस्तिष्कले मात्रै ऊर्जा दिंदैन, मान्छेको चरित्र वा क्रियाकलापले समेत त्यसलाई प्रत्यक्ष-अप्रत्यक्ष प्रभाव पार्छ । त्यतिमात्रै पनि होइन, कामवासना भनेको खानपिन-रहनसहनमा समेत आधारित हुन्छ । उनको निष्कर्ष थियो, शरीरका सम्पूर्ण इन्दि्रयहरू एकआपसमा अन्तरसम्बन्धित छन्, एउटा खास समय र खास परिस्थितिमा एकले अर्कोलाई उत्तेजित पार्छ । इन्दि्रयहरूबीच भोक र यौनको गहिरो सम्बन्ध रहेको हुन्छ । त्यसैले गान्धी हमेशा आफ्नो शरीरका इन्दि्रयहरूप्रति सतर्क रहन्थे । आफ्नो खानपिनमा उनले मसलेदार वा चिल्लो पदार्थलाई निषेध गरेका थिए ।
यस्तो खानपिनले कामवासनालाई भड्काउँछ भन्ने उनको स्पष्ट धारणा थियो ।
खानपिन बाहेक उनले अर्को महत्त्वपूर्ण कुरा गरे । उनले भने, मान्छेले कहिल्यै पनि आफ्नो मस्तिष्कलाई शून्य स्थितिमा राख्नु हँुदैन । शून्य दिमाग सैतानको घर हो । यस्तो स्थितिमा दिमाग भड्किन्छ, बौलाउँछ, जे पनि गर्न सक्छ । खास गरेर यस्तो अवस्थामा मस्तिष्क कामवासनाप्रति आकषिर्त हुनेतर्फ उनले इंगित गरे ।
यसै हुनाले, कामवासनाको नियन्त्रणका लागि मानव शरीरप्रति सही दृष्टिकोणको आवश्यकतालाई उनले विशेष जोड दिए । शरीरका अंगहरूलाई केवल भोक र तृप्तिको माध्यम ठान्ने व्यक्ति कामवासनाको सोचबाट मुक्त हुन सक्दैनन् भन्ने उनको ठम्याइ थियो । उनको यो ठम्याइबाट के बुझ्न सकिन्छ भने शरीरका अंगहरू मूलतः यौनतृप्तिकै लागि बनेका होइनन् ।
यिनै मान्यताप्रति निर्दिष्ट उनको सोचबाट ब्रह्मचर्य विषयको विचार क्रमशः विकास हुँदै गयो, जसलाई व्यवहारमा समेत अनुशासनका नयाँ नियमहरू उनले बनाउँदै गए । यसै सिलसिलामा उनी आफ्ना कमजोरीलाई सबैका सामु खुलस्त पार्ने गर्थे । जस्तो कि शारीरिक ब्रह्मचर्यको प्रसंगमा शरीरको दोष नहुँदा-नहुँदै पनि मन भने आफ्नो नियन्त्रणमा पूर्णरूपले रहन नसकेको स्वीकार उनले बेलाबखत गरेका छन् । उनी बारम्बार भन्थे, नखोज्दा-नखोज्दै पनि नचाहँदा-नचाहँदै पनि अनेकौं किसिमका कुविचारहरूले उनको मनमा हस्तक्षेप गरिरहन्छन् ।
तर गान्धी सामान्य व्यक्ति थिएनन् । आफ्नो शरीरलाई आत्मनियन्त्रणमा लिने सामथ्र्य थियो, उनमा । किनकि उनलाई आफूप्रति आत्मविश्वास थियो, आफ्नो शरीरप्रति पूर्ण भरोसा थियो । त्यसैले सामान्यतया स्त्रीहरूसँगको सम्पर्क र संसर्गलाई ठूलो विषय बनाएर हेर्ने गर्दैनथे । उनको स्त्रीप्रतिको त्यस्तो दृष्टिकोणको आलोचना नभएको पनि होइन । तर त्यसप्रति गान्धी गम्भीरतापूर्वक ध्यान दिंदैनथे । विशेषतः आफ्ना युवा चेलीहरूका हातमा हात राखेर वा काँधमै हात राखेर हिँड्नु उनको लागि सामान्य कुरा थियो । तर पछि गएर आफ्नो यस्तो क्रियाकलापप्रति बढी आलोचित हुनलागे उनी । परिणामस्वरूप उनले त्यो आलोचनाको कदर गर्ने निर्णय गर्दै आफ्नो त्यस प्रकारको क्रियाकलापप्रति बन्देज लगाए ।
गान्धीले आफूप्रति लगाएको बन्देज एकदिन फेरि फुकुवा गरे । उनी फेरि आफ्ना सहयोगी युवतीहरूका साथ हातमाथि हात राखेर हिँड्ने गरेका देखिए । आलोचनाको भार फेरि पनि खेप्नलागे उनले । किनकि समाजका आँखा उनै पुरानै थिए । तापनि गान्धीले आफ्नो क्रियाकलापको आधिकारिक व्यक्तित्व स्वयम् नै हुने भएको धारणा राख्दै आफूप्रतिको त्यस्तो परम्परावादी आलोचनालाई सामान्य टीकाटिप्पणीको उपमा दिए ।
त्यो गान्धीका लागि निकै अप्ठेरो समय थियो । वास्तवमा त्यो समय आउनुअघिका वर्षहरूमा उनले दैनिक ३-४ घन्टा मात्रै सुत्ने गरेर कठिन परिश्रम गरेका थिए । निरन्तर यही कठिन परिश्रमका कारण अन्ततः उनी बिरामी परे । परिणामतः उपचारार्थ वा त्यसभन्दा बढी उनलाई विश्रामको आवश्यकता पर्‍यो ।
विश्रामका यिनै दिनहरूबीच एकदिन, गान्धीको जीवन इतिहासमा एउटा घटनाले नयाँ रोमाञ्चक मोड लियो । विश्रामस्थलमा एकपटक उनमा पुनः कामवासना उत्पत्ति भयो । सम्भवतः केवल विश्राम मात्रै गरिरहनुको कारण आफ्नो मस्तिष्क रिक्त भएको स्थितिको थियो त्यो ।
यस घटनालाई उनले आत्मालोचना पनि गरे । उनले भने, शरीरलाई धेरै मत्याउनु हुँदैन । त्यसमाथि पनि परिश्रम नगरी शरीरलाई आरामको अवस्थामा राखिराख्ने हो भने मस्तिष्क आफ्नो वशमा रहँदैन । त्यस्तो स्थितिमा शरीरले उपद्रो गर्नु स्वाभाविक छ ।
यसप्रकार आफ्नो शरीरले उपद्रो गर्नुको कारणलाई गान्धीले खुलस्त पारे । ठीक त्यसैबखत स्वविवेकले एउटा घोषणा पनि गरे । जुन घोषणामा उनी आराम गरेर चुपचाप नबस्ने भन्ने थियो ।
तर प्रकृतिको नियमले गान्धीलाई पनि छाडेन । उनको उमेरले ७० टेकिसकेको अवस्थामा एकदिन अप्रत्याशित रूपबाट गान्धीले आफूलाई स्वप्नदोष भएको बताए । वास्तवमा त्यस घटनाले उनलाई ठूलो मानसिक आघात पुर्‍यायो, जसले आफूलाई एउटा ठूलो निराशाको भुमरीमा धकेलेको समेत उनले सार्वजनिक गरे ।
(कुराकानीमा आधारित)