सुन तस्करी रोकिएपछि भारु हाहाकार
![]() |
भारु अभावसँगै हुन्डीको कमिसन पनि बढ्यो
वीरगन्ज, श्रावण २९ - तीन दिनअघिसम्म १ सय ६३ मा बिक्ने १ सय भारतीय रुपैयाँ (भारु) को मूल्य आइतबार एक्कासि १ सय ६७ पुगेको छ । जब कि नेपाली मुद्रा र भारुबीच १ सय बराबर १ सय ६० हुने गरी स्थिर विनिमयदर तय गरिएको छ । करिब साढे २ वर्षयता महँगिन थालेको भारुले आइतबार भने नयाँ रेकर्ड राख्नै विनमय दरभन्दा ७ रुपैयाँ बढी पुगेको छ ।सुन तस्करीमा कमी आएपछि भारुको हाहाकार भएको सम्बद्ध व्यवसायीको दाबी छ । गत मंगलबार साँझ कलंकीमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले एक किलो सुन सहित भारतीय नागरिक पीताम्बर पासवानलाई पक्राउ परेपछि व्यवसायीले सुनको तस्करी ४ दिनयता बन्द गरेका छन् । बसमा वीरगन्ज आउन लागेका बेला प्रहरीले सुराकी आधारमा पासवानलाई पक्राउ गरेको थियो ।उनले वीरगन्जका सुन तस्कर प्रभु सर्राफका लागि सुन बोकेको उनले बयान दिएका छन् । 'प्रहरीले सतर्कता अपनाएको छ, रिस्क बढेको छ,' नाम उल्लेख नगर्ने सर्तमा आदर्शनगरका एक सुन तस्करले भने, 'एक किलो सुन भारत पुगाउँदा ७० हजार रुपैयाँ आम्दानी हुन्थ्यो ।'नाकाबाट दैनिक २० किलो सुन भारत जाने गरेको उनीहरू बताउँछन् । सुनको भुक्तानी भारुमा हुने गरेको थियो । खासाबाट सुन भित्र्याई भारत चोरी निकासी गर्न 'ट्रान्जिट' का रूपमा वीरगन्ज प्रयोग हुँदै आएको छ । भन्सार छलेर ल्याइने भएकाले तस्करीको सुनमा धेरै नाफा हुने गरेको छ ।भारुको अभावसँगै हुन्डी समेत दोब्बर महँगो भएको छ । बुधबारसम्म १ लाख रुपैयाँ भारत पठाउँदा कमिसनका रूपमा ३ हजार ८ सय रुपैयाँ तिर्दै आएका व्यवसायीले आइबार ६ हजार रुपैयाँ तिरेका छन् । आयात निर्यातको मुख्य नाका भएकाले यहाँ हुन्डी कारोबार फस्टाएको यसका कारोबारीको भनाइ छ । 'मुलुकको प्रमुख भन्सार भएकाले यहाँ आयातित वस्तुको न्यून मूल्यांकन गरी प्रतीतपत्र मार्फत थोरै रकम पठाउने र ठूलो रकम हुन्डीबाट पठाउने प्रचलन बढी छ,' एक व्यापारीले भने ।उनका अनुसार न्यून बिजकीकरण गरी सामान आयात गर्ने व्यवसायीले भन्सारमा घोषणा गर्ने रकम बराबरको प्रतीतपत्र -एलसी) खोलेर बाँकी रकम हुन्डी मार्फत पठाउँछन् । भारतबाट नेपालमा निकासी गर्न रोक लगाइएका चिनी, रासायनिक मलको पैठारीकर्ताले भुक्तानीका लागि हुन्डी मार्फत रकम पठाउँछन् । कपडा, खाद्यान्न, मोटरपार्टस, हार्डवेयरका व्यवसायीले हुन्डी मार्फत पैसा पठाउने गरेका छन् ।त्यसबाहेक यस क्षेत्रका उद्योगी व्यवसायी र सर्वसाधारण भारतीय बिमा कम्पनीप्रति आकषिर्त भएका कारण बिमाको किस्ताबापत पनि भारु खपत हुँदा मासिक ठूलो रकम भारत जाने गरेको छ । वीरगन्जबाट भारतीय बिमा कम्पनीमा मासिक करोडभन्दा बढी भारु बिदेसिने गरेको बिमा कम्पनीका एजेन्टहरूको भनाइ छ । सीमा नाकामा अवैध व्यापार बढ्दै गएका कारण भारतीय रुपैयाँको व्यवस्थापनमा चुनौती थपिएको राष्ट्र बैंक वीरगन्जका व्यवस्थापक उत्तम कुमार पौडेलले बताए ।विगतमा यहाँका सटही काउन्टरलाई हप्तामा २० लाख रुपैयाँ उपलब्ध गराउने राष्ट्र बैंकले अहिले ७ लाख २० हजार रुपैयाँ दिने गरेको छ । सीमावर्ती बजारमा भारतीय रुपैयाँको अभाव कायमै रहँदा सर्वसाधारण मर्कामा परेका छन् । समयमा भारु नपाउनु र कतै पाए पनि साट्न चर्को कमिसन दिनुपरेकाले उनीहरू मर्कामा परेका हुन् ।
![]() |