'राष्ट्रियता संकटतर्फ'




काठमाडौ, श्रावण २९ - नेताहरूकै कारण राष्ट्रियतामाथि संकट उत्पन्न हुने अवस्था आएको भन्दै विश्लेषकहरूले यो स्थितिबाट मुलुक जोगाउनुपर्ने सुझाएका छन् । 'राष्ट्रियता माथि संकट' विषयक कार्यक्रममा आइतबार उनीहरूले राष्ट्रियता जोगाउन सबै शक्ति गोलबद्घ हुनुपर्ने धारणा राखेका हुन् ।
'०६२/६३ को आन्दोलनसमेत विदेशीकै निर्देशनमा भएको भन्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमको टिप्पणी र त्यसपछिका घटनाक्रमले दलहरूको विश्वसनीयता र राष्ट्रियताप्रतिको धारणामा प्रश्नचिह्न खडा छ,' कार्यपत्र प्रस्तुत गर्दै राजनीतिक विश्लेषक दीपक गजुरेलले भने । चीन र भारतबीच कूटनीतिक सन्तुलन राख्न नसकेमा नेपाल झनै जोखिममा पर्न सक्ने उनको तर्क थियो ।
पूर्वसांसद तथा लेखक रवीन्द्र चक्रवर्तीले राष्ट्रियतामाथिको संकट गहिरिँदै गएकाले आधारभूत मान्यतामा सबै शक्ति गोलबद्ध हुनुपर्ने बताए । अर्का राजनीतिक विश्लेषक यज्ञप्रसाद अधिकारीले राष्ट्रियता सुदृढ बनाउन 'जात निरपेक्ष' भएर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे । लेखक प्रकाश ए राजले राष्ट्रियताबारे अहिलेका नेताहरू जंगबहादुर र चन्द्रशमशेर जति पनि संवेदनशील नभएको आरोप लगाए । कांग्रेसका आनन्द सन्तोषी राईले पृथ्वीनारायण शाहको दिव्योउपदेश सम्झँदै राष्ट्रियतालाई जात, धर्म, दलभन्दा माथि राख्नुपर्ने बताए ।
कान्तिपुर दैनिकका प्रमुख संवाददाता गोपाल खनालले प्रधानमन्त्री बाबुराम भट्टराईले पत्रकारहरूकै बीचमा बसेर राष्ट्र सञ्चालनको चाबी अन्यत्रै रहेछ भन्ने अभिव्यक्ति दिनु दुर्भाग्यपूर्ण भएको बताए । पार्टीगत स्वार्थ त्यागेर सबै दलले राष्ट्रिय स्वार्थलाई सर्वोपरी राखेर अघि बढ्नुपर्ने धारणा राखे ।
पत्रकार चन्द्रकिशोर झाले तराईवासी नेपालीहरू राष्ट्रियताप्रति अत्यन्त संवेदनशील रहेको बताउँदै नेपाली जनताले कुनै पनि बाह्य शक्तिको हस्तक्षेप सहन नहुने विचार राखे । कार्यक्रमका संयोजक भरत बस्नेतले राष्ट्रियतालाई प्रमुख एजेन्डा बनाएर स्वतन्त्र नागरिक समुदायले यस्ता कार्यक्रम गरेको जानकारी दिए ।
कार्यक्रममा अधिवक्ता बालकृष्ण न्यौपाने, सहप्राध्यापक हरिबहादुर विष्ट, अधिवक्ता रामनारायण देव, अधिवक्ता फुर्वा तामाङ, पत्रकार युवराज गौतम, उपप्राध्यापक पेशलकुमार निरौला लगायतले राष्ट्रियता सुदृढ पार्न दलीय, जातीय र क्षेत्रीय संकीर्णता त्यागेर र अघि बढ्नुपर्ने बताएका थिए ।