बालबालिका र अनुशासन
![]() |
बालबालिकालाई अनुशासित बनाउनु छ भने सर्वप्रथम अभिभावकहरू एउटा कुरामा सचेत हुन जरुरी छ । बालबालिकालाई गाली गर्नु, हेप्नु हुन्न । नयाँ अनुसन्धानले के भनेको छ भने, बालबालिकालाई लाइनमा ल्याउन आमाबुवालाई उनीहरूसँग सकारात्मक रूपमा कुराकानी गर्नुपर्छ । सजाय दिँदा बालबालिका उल्टो बिग्रन्छन् ।
बिहेभियर एन्ड सोसल इस्युजमा प्रकाशित यो अध्ययन अनुसार, कुनै पनि कुरा मायाले सम्झाउनाले र सकारात्माक रूपमा प्रस्तुत हुनाले उनीहरूले अभिभावकले भनेको मान्न थाल्छन् । यो अनुसन्धान मिसिगन स्टेट युनिभर्सिटीका अनुसन्धाताहरूले गरेका हुन् ।
अभिभावकका कुरा नमान्नेमध्ये २३ प्रतिशत बालबालिकालाई प्रायः सबैका अगाडि शारीरिक सजाय पाउने गरेका छन् । अध्ययन अनुसार, गल्ती गरेका बालबालिकाले चिमाटिने, कन्सिरीका रौं तानिने, पिटिने, झापड खाने जस्ता सजाय पाउने गरेका छन् । यी नकारात्मक सजाय हुन् । यसो गर्नुको साटो त्यस्ता बालबालिकालाई सकारात्मक व्यवहार गर्नुपर्छ । अर्थात्, अँगालो मार्नुपर्छ, अबदेखि नगर्नू ल भनेर सुमसुम्याउने गर्नुपर्छ ।
अनुसन्धाताहरूले सुझाएका छन्— आफ्ना सन्तानले तपाईंले भनेको नमाने नरिसाउनुस् । आइन्दा उनीहरूले तपाईंले भनेका कुरा मानून् भन्ने चाहनुहुन्छ भने उनीहरूप्रति सकारात्मक रूपले प्रस्तुत हुने गर्नुस् । बालबालिकालाई नकारात्मक व्यवहार झन् नराम्रो प्रतिक्रिया जन्माउँछ ।
यो तथ्य थाहा पाउन अनुसन्धाताहरूले १ सय ६ अभिभावक र तीन वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई अध्ययनमा सामेल गरे । अनुसन्धाताहरूले सार्वजनिक स्थलमा उनीहरूको व्यवहारको निगरानी गर्न थाले । जुनजुन अभिभावक आपmना सन्तानसँग मित्रवत् वा स्नेहपूर्वक प्रस्तुत भएका थिए, तिनका बालबालिका तुलनात्मक रूपमा अनुशासित देखिए । साना कुरामा पनि त्यसैत्यसै झडङगिने अभिभावकका सन्तान अलिक छुच्चा, उपद्रयाहा पाइए । अनुसन्धाताहरूले बालबालिकासँग आमाभन्दा बुवा बढी सकारात्मक रूपमा प्रस्तुत भएको पनि पाए । यसले बाबुहरू बालबालिकासँग कडाइसाथ प्रस्तुत हुन्छन् भन्ने मान्यतालाई गलत सावित गरिदिएको छ ।
अध्ययन अनुसार, सकारात्मक व्यवहार पाए बालबालिकाहरू भनेका कुरा मान्न, राम्राराम्रा कुरा सिक्न प्रेरित भइरहन्छन् । नकारात्मक व्यवहारले उनीहरूलाई बढी चिढयाउँछ, बिच्क्याउँछ ।
![]() |