'द सन' ले राजकुमार हयारीको नग्न तस्बिर छाप्यो




लन्डन (एजेन्सी), भाद्र ९ - टेबुलोइड 'द सन' ले २७ वर्षे राजकुमार ह्यारीको एक महिलासँगको नग्न तस्बिर प्रकाशित गर्ने पहिलो बेलायती पत्रिका भएको छ । अमेरिकी बेबसाइटमा जारी लासभेगासमा खिचिएको ह्यारीको तस्बिरलाई बिहीबार बेलायती अखबारले छापेको थिएन ।
यस्तो निजी तस्बिर प्रकाशित गर्न हुने/नहुनेबारे बेलायतमा बहस जारी छ । बेलायती शाही परिवारमा उनी तेस्रो नम्बरका उत्तराधिकारी हुन् । सारा संसारले ह्यारीको तस्बिर देखिसकेको हुनाले उनको पाठकलाई पनि यो हेर्ने र विचार राख्ने अधिकार भएको उक्त पत्रिकाले जनाएको छ  किनकि ह्यारी राजसिंहासनका एक उत्तराधिकारी पनि हुन् ।
लासभेगासमा बिदा मनाउन गएका उनको दुई नग्न तस्बिर अमेरिकी गसिप वेबसाइट टिमजेडमा छापिएको थियो । मित्रजनसँग शुक्रबारको साप्ताहिक बिदा मनाउने क्रममा यो तस्बिर खिचिएको थियो । आफैंले आयोजना गरेको एक होटलको कोठाभित्रको निजी पार्टीमा बिलियर्डस खेलिरहेको बेला ह्यारी र उनको महिला मित्रको नग्न तस्बिर क्यामेरा फोनले खिचिएका हुन् । यो उनको जीवनसँग जोडिएको ताजा रंगीन घटना हो । बेलायती शाही घराना 'सेन्ट जेम्स प्यालेस' का वकिलको चेतावनीको पर्वाह नगर्दै यो निर्णय लिइएको उक्त पत्रिकामा साहु न्युज इन्टरनेसनलले जनाएको छ ।
यो तस्बिरको सम्भावित प्रयोग र सम्पादकद्वारा आचारसहिंताको उल्लंघन गर्दै निजी मामिलामा हस्तक्षेप हुन सक्ने विषयलाई लिएर प्रेस सिकायत आयोग -पीसीसी) को सम्पर्कमा गरेको राजपरिवारले स्पष्ट गरिसकेको छ । राजपरिवारले उक्त तस्बिर ह्यारीको भएको पुष्टि गरिसकेको छ ।
अर्कोतिर, द सनका प्रबन्ध सम्पादक डेभिड डिन्समोरले पत्रिकाले यसबारेमा निकै सोचविचार गरेको बताएका छन् । 'यो हाम्रो लागि प्रेस स्वतन्त्रतासँग जोडिएको विषय हो, संसारभरिले इन्टरनेटमा यो तस्बिर हेर्न पाउने र हाम्रो पाठक यसबाट वञ्चित हुने बेतुकको स्थिति छ,' उनले भने, 'राजगद्दीका तेस्रो नम्बरको उत्तराधिकारीसँग जोडिएको यो विषयको बहसमा पाठकलाई समावेश गर्नु जरुरी छ ।' यो पत्रिकाको ८० लाख पाठक छन् ।
राजकुमारको गतिविधिलाई लिएर आफूहरूले कुनै नैतिक निर्णय नगरेको उक्त अखबारले जनाएको छ । 'हामी उनलाई मन पराउँछौं, उनलाई हेर्न पाउनु द सनका पाठकको अधिकार भएकाले यो तस्बिर छाप्दै छौं,' पत्रिकाद्वारा जारी बयानमा भनिएको छ, 'एउटा स्टोरीभन्दा यसको कारण फरक छ ।' प्रिन्स अफ वेल्सको आधिकारिक निवास क्लेरेन्सले कुनै प्रतिक्रिया नदिने बताएको छ । राजपरिवारका सहयोगीहरूले ह्यारीको निजी जीवनको सम्मान गर्दै यो तस्बिर सार्वजनिक नगर्न आग्रह गरेका थिए ।
आधुनिक एवं चामत्कारिक छवि भएका ह्यारीको प्रतिष्ठामा यो तस्बिरले आघात पुगेको छ । सन् २००५ मा एक साथीको जन्मदिनको मौकामा आयोजित फेन्सी डे्रस पार्टीमा नाजीको झैं लुगा लगाउँदा पनि ह्यारी विवादमा तानिएका थिए । सन् २००९ मा आफ्नो आर्मी प्लाटुनको एक एसियाली सदस्यबारे आपत्तिजनक भाषाको प्रयोग गर्दा राजकुमारले माफी माग्नुपरेको थियो । यो घटनाको त भिडियो फुटेज सार्वजनिक भएको थियो ।