चिकित्सक र नर्सको लापरबाहीले सुत्केरीको मृत्यु प्रसूति गृहमा दिनभर तनाव
|
प्रसूति गृहमा दिनभर तनाव
.jpg)
स्वास्थ्यकर्मीको लापरबाहीले सुत्केरीको मृत्यु भएको दाबी गर्दै प्रसूतिगृह परिसरमा विरोध प्रदर्शनमा उत्रिएका आफन्तजन ।
काठमाडौ, भाद्र ६ - सुरक्षित सुत्केरीका लागि तीन दिनअघि प्रसूति गृह भर्ना भएकी तारा शर्मा फुयालले चिकित्सक तथा नर्सको बेवास्ताका कारण ज्यान गुमाउनुपरेको छ ।लेबर कक्षमा नलाँदै बच्चा जन्मिने अवस्था हुँदा समेत चिकित्सक तथा नर्सले उपचार नगरेपछि अत्यधिक रक्तश्रावका कारण ज्यान गएको हो । अस्पताल व्यवस्थापनले चिकित्सक र नर्सको लापरबाहीले उनको मृत्यु भएको स्विकारेको छ ।आइतबार प्रसूति गृह मा जनरल वार्डको २९ नम्बर बेडमा भर्ना भएकी उनले लेबर रुम (बच्चा जन्माउने कक्ष) मा नलग्दै बच्चा जन्माएकी थिइन् । उनलाई धेरै व्यथा लागेको कुरा ड्युटीमा खटिएका नर्सले थाहा पाए पनि प्रसूतिको प्रथमिकतामा राख्नुपर्ने उनलाई बेवास्ता गरिएको उनका आफन्तको आरोप छ ।'बिरामीलाई गाह्रो भयो बच्चा जन्मनै लाग्यो भन्दा पनि वास्तै गरेनन्,' ताराकी भाउजू कमला घिमिरेले भनिन्, 'बेडमै बच्चाको टाउको निस्किएपछि मात्र आएका नर्सले लेबर रुममा लान बिरामीलाई ह्वीलचेयरमा हाल्ने प्रयास गरे । तर बच्चाको जिउ पुरा निस्किइ नसकेकाले अप्ठ्यारो हुने भन्दै बेडमै सुताएर हातैले बच्चाको जिउ तानेर बाहिर निकाले ।' त्यसपछि अत्यधिक रगत बग्यो भन्दा 'नाटक गर्छेस्' भन्दै नर्सले बिरामीलाई गाली गरेको उनको भनाइ छ ।घिमिरेले 'बेहोस रहेकी तारालाई तैले मात्र बच्चा जन्माएकी छेस्, उठ् उठ्' भनेको बताइन् । 'बिरामी बेहोस भएपछि डाक्टर आएर पेटमा थिच्ने, मुखबाट पाइप हाल्ने गरे,' उनले भनिन् । त्यसपछि ताराको मुखबाट समेत रगत आएको थियो । त्यसपछि चिकित्सकले उनको मृत्यु भएको जानकारी दिएका थिए । लापरबाहीको विरोधमा आफन्तले मंगलबार अस्पताल अघि प्रदर्शन गरेका छन् । साँझ अबेरसम्म स्वास्थ्य मन्त्रालयका प्रतिनिधिसहित वार्ता भए पनि निष्कर्ष निस्किन सकेको छैन ।लापरबाही गर्ने चिकित्सक र नर्सलाई कारबाही गर्नुपर्ने, पीडितलाई क्षतिपूर्ति दिनुपर्ने उनीहरूको माग छ । वार्तामा सहभागी एकका अनुसार व्यवस्थापन पक्षले 'चिकित्सक समयमा आइनपुग्नु र नर्सले बिरामीको वास्ता नगर्नु आफ्नो कमजोरी भएको' स्विकारेको छ । अस्पताल व्यवस्थापनले भने यसबारे कुनै जानकारी दिएको छैन । अस्पतालका निर्देशक शीला वर्मा, प्रशासक अमर अमात्य सम्पर्कमा आउन चाहेका छैनन् ।पीडितसितको वार्तामा पूर्व स्वास्थ्यमन्त्री बलबहादुर केसी, स्वास्थ्य सेवा विभागका निर्देशक मिङमार ग्याल्जेङ शेर्पा, प्रसूति गृह की निर्देशक शीला वर्मा लगायत सहभागी छन् । बालबालिकाको पालनपोषण गर्न नसक्नेमा अस्पताल अडिग रहेकाले वार्ता नटुंगिएको हो । प्रदर्शन बढेपछि नियन्त्रणका लागि प्रहरीले बल प्रयोग गरेको थियो । प्रहरीको बल प्रयोगबाट चोलिन्द्र कट्टेलको खुट्टा र कानमा गम्भीर चोट लागेको छ ।
|



