पहिरोले दुई घर भत्कियो
|
चरिकोट,साउन ९ (नागरिक)- दोलखाको भिमेश्वर नपा ६ स्थित तामाकोसी बजारमा सोमबार राती पहिरो जादाँ दुई घर भत्किएका छन्। सोमबार राति अन्दाजी नौ बजे तामाकोसीको पल्लो बजार नजिक खहरेमा भल आएपछि पहिरो गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
साँझदेखि परेकेा मुसलधारे वर्षा सँगै खहरेमा बढेको भेलपछि गएको पहिरोले दुई घर भत्किएको इलाका प्रहरी प्रमुख डिएसपी उमेशराज जोशी ले जानकारी दिए। प्रहरीले पहिरोमा परेका तीन जनालाई सकुसल उद्धार गरेको छ। राती सुतिरहेको बेला पहिरो आएर घर भत्किएपछि पहिरोमा परेका ४ वर्षका बालक रोहित उप्रेती, ३० वर्षीया भूमिका उप्रती ३५ वर्षीया गोकर्ण उप्रेतीलाई प्रहरीले सकुसल उद्धार गरेको डियसपी जोशीले जानकारी दिए।
उनीहरुलाई उद्धार गर्न गएका स्थानीय प्रहरी चौकीमा कार्यरत जवान कृष्ण बस्नेत घाइते भएका छन्। उनको खुट्टामा चोट लागेकोले थप उपचारका लागि सोमबार राती नै चरिकोट ल्याइएको जोशीले जानकारी दिए।
|




