मंगलबारका छापामा बिजनेस खवर



 
मंगलवार छापिएका सवैजसो दैनिक पत्रिकाले काठमाण्डौंमा ल्याउने भनिएको मेलम्ची खानेपानी योजनाको निर्माण थप ६ महिना लम्बिने, नेपाल आयल निगमको नाफा १ करोड ३२ लाखमा खुम्चिएको र नेपाल टेलिकमले अन्तराष्ट्रिय टोल फ्रि नम्बरमा निशुल्क कल गर्न सकिने सेवा सुरु गरेको समाचार छापेका छन् ।
नागरिक दैनिकले एनसेलका प्रमुख कार्यकारी अधिकृत फेरिएको समाचार छापेको छ । समाचारअनुसार तीन बर्षदेखि एनसेलको कार्यकारी प्रमुख रहेका पासी कोइस्टिनेनलाई जर्जिया सरुवा गरिएको र जर्जियाको जिओसेलका प्रमुख कार्यकारी अधिकृत ओसमान तुरानलाई एनसेलमा सरुवा गरिएको हो । यी दुवै कम्पनीलाई युरोपको टेलियासोनेरा ग्रुपले संचालन गरिरहेको छ ।
नेपाल टेलिकमले सामसुङ र अल्काटेलसँग सहकार्य गरेर सीडीएमए मोवाइल सेट वेच्न लागेको समाचार नागरिक दैनिकमै छापिएको छ । सामसुङले १३ हजार ५ सय र अल्काटेलले १४ हजार ५ सयमा नेपाल टेलिकमको काउन्टरबाटै सीडीएमए सेट वेच्नेछन् ।
कारोवार दैनिकले जम्मा ८६ लाखको बैदेशिक रोजगार बचतपत्र बिक्रि भएको समाचार छापेको छ । नेपाल राष्ट्रवैकले बिदेशमा कार्यरत श्रमिकलाई लक्षित गरि गत आर्थिक बर्षमा एक अर्ब रुपैयाँको बचतपत्र निष्काशन गरेको थियो ।
हेलिकोप्टर ब्यबसायमा संकट देखिएपछि कम्पनीहरु मर्जरको तयारीमा रहेको र सरकारले १ सय २८ मुलुक रोजगारीका लागि खुला गरेपनि चालु आर्थिक बर्षमा २४ मुलुकमा मात्र कामदार गएको कारोवार दैनिकमै छापिएको छ । कान्तिपुर दैनिकले गत बर्षभरि निराश रहेको सेयर बजार आइतवार पनि सुखद नरहेको समाचार छापेको छ ।
आर्थिक अभियान दैनिकले कृषि बिकाश वैंकमा रणनीतिक साझेदार भित्राउने प्रकृया अघि बढेको समाचार छापेको छ । सरकारी स्वामित्वमा रहेको ३० प्रतिशत सेयर रणनीतिक साझेदारलाई दिने गरि चीन र भारतबाट साझेदार भित्राउने तयारी भइरहेको समाचारमा उल्लेख छ । राजधानी दैनिकले बिचौलियाका कारण दुग्ध बिकाश संस्थान बाषिर्क ८ करोड घाटामा रहेको समाचार छापेको छ ।