'कर्णालीका निम्ति छुट्टै पाठ्यक्रम हुनुपर्छ'



काठमाडौं, श्रावण ७ - कर्णाली क्षेत्रका निम्ति छुट्टै पाठ्यक्रम निर्माण हुनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् । केन्द्रीय पाठ्यक्रम तथा पाठ्यपुस्तकले त्यहाँको शिक्षाको समस्या समेट्न नसकेको उनीहरूले बताए ।
'कर्णालीको प्राकृतिक स्रोत सम्पदा सदुपयोग गर्ने शिक्षा हुनुपर्छ,' उक्त क्षेत्रको प्रतिनिधित्व गर्ने नन्दबहादुर सिंहले भने, 'त्यसका निम्ति छुट्टै पाठ्यक्रम हुनुपर्छ, तर त्यो कर्णालीमै सीमित होइन, संसारसित प्रतिस्पर्धा गर्न सक्ने आधुनिक शिक्षा आवश्यक छ ।' युनाइटेड कर्णाली ग्रुप र टेक्निकल एसम्बलेज अफ जुम्लाले शनिबार राजधानीमा गरेको 'कर्णालीको वर्तमान शैक्षिक अवस्था' विषयक कार्यशालामा उनले उक्त विचार व्यक्त गरेका हुन् ।
शिक्षा विभागको तथ्यांकअनुसार देशभरि विद्यालय तहमा ७६ लाख बालबालिका पढ्छन् । भर्ना दर ९५ प्रतिशत रहेको छ । कर्णाली क्षेत्रको साक्षरता ३० प्रतिशतभन्दा कम रहेको छ । त्यहाँ ५ विद्यार्थी बराबर एक शिक्षक कार्यरत छन् । राजनीतिक पहुँच विस्तारका क्रममा आवश्यकभन्दा बढी विद्यालय खोलेर कार्यकर्तालाई जागीर खुवाउने थलो बनेकोसमेत औंल्याएका थिए । उनीहरूले कर्णाली क्षेत्रमा आवासीय विद्यालय हुनुपर्ने, नमुना विद्यालय बन्नुपर्ने, केही वर्षदेखि कर्णालीको कोटा हटाइएकाले पुनःस्थापना गरिनुपर्ने, स्थानीय स्रोत साधनअनुसार स्वरोजगारमुखी शिक्षा हुनुपर्नेमा जोड दिएका छन् ।
'कर्णाली मैत्री शिक्षा नीति नहुनु नै दुर्भाग्य हो,' स्थानीय विकास कार्यकर्ता मीनबहादुर शाहीले भने, 'जहाँ नागरिक त्यहाँ राज्यको उपस्थिति हुनुपर्छ । त्यहाँ आवश्यकताभन्दा बढी विद्यालय छन् । अब संख्या बढाउने होइन गुणस्तरीय शिक्षामा जोड दिइनुपर्छ ।'
शिक्षा विभागका महानिर्देशक महाश्रम शर्माले सरकारले हरेक आर्थिक वर्षमा शिक्षालगायत कार्यक्रममा प्राथमिकता दिँदै आएको बताए । 'शिक्षा नीति फेल भएको छैन तर ठाउँअनुसार मोडालिटी फरक हुन सक्छ,' त्यस क्षेत्रमा भएको परिवर्तनलाई सकारात्मक ढंगले प्रस्तुत हुन नसकेको उल्लेख गर्दै उनले भने, 'अब साँच्चै हिमाली जिल्लामा आवश्यक मोडालिटी आओस्, सरकार नमुनाका रूपमा लागू गर्न तत्पर छ ।'
विभागले कर्णालीको माथिल्लो हिमाली भेगमा आवासीय विद्यालय निर्माणमा प्राथमिक दिएको उल्लेख गर्दै शर्माले शिक्षक दरबन्दी मिलान र विद्यालय गाभ्ने प्रक्रियालाई कडाइसाथ लागू गर्ने बताए । 'शिक्षकहरू विद्यार्थी र अभिभावकप्रति उत्तरदायी हुनुपर्छ,' उनले भने, 'कक्षा कोठामा कम्तीमा ४५ मिनेटभन्दा बढी समय चाहिन्छ भन्ने शिक्षक हुन जरुरी छ ।' त्यसैगरी अनुभवी शिक्षकले आफूलाई आधुनिक सूचना प्रविधिसँग पारंगत तुल्याएर विद्यार्थीलाई त्यसैअनुसार सिकाइमा जोड दिनुपर्नेसमेत बताए