सात अर्व मानिसका ६ अर्व मोवाइल


सात अर्व मानिसका ६ अर्व मोवाइल

 
४ साउन, काठमाण्डौं । सात अर्व जनसंख्या रहेको विश्वमा अहिले ६ अर्व मोवाइल फोन प्रयोगमा आएका छन् । विश्व जनसंख्याको ७५ प्रतिशतले मोवाइलको प्रयोग गर्ने गरेको विश्व बैंकको एक अध्ययनले जनाएको छ ।
विश्व बैंकले बुधबार सार्वजनिक गरेको ‘विकासका लागि सूचना र सञ्चार २०१२’ अध्ययन प्रतिवेदनमा मोवाइल फोन प्रयोगको पहुँच नपुगेको जनसंख्या २५ प्रतिशत मात्र रहेको उल्लेख गरेको छ । विगत ११ बर्षको अवधिमा मोवाइल फोनको प्रयोग पाँच अर्व बढेको छ । सन २००० मा विश्वभर जम्मा एक अर्व मोवाइल फोनमात्र प्रयोगमा आएका थिए । प्रतिवेदनमा अहिले विकासोन्मुख देशहरमामात्र पाँच अर्व मोवाइल प्रयोगमा आएको उल्लेख गरिएको खबर अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
तुलनात्मक रुपमा दक्षिणएसियाली मुलुक कम मोवाइलको प्रयोग गर्नेमा परेका छन् । मोवाइल फोन उत्पादन गर्ने कम्पनी र टेलिकम सेवा प्रदायक ठूलो उद्योगका रुपमा विकसित भइरहेका छन् । विश्वकै सवैभन्दा धनी व्यक्ति कार्लोस स्लिम हेलु टेलिकमका लगानीकर्ता हुन् ।