ज्यालादारीका डाक्टर अस्पताल प्रमुख
![]() |
जनकपुर, साउन १ (नागरिक)- दैनिक ज्यालादारीमा काम गर्ने एक चिकित्सकले जनकपुर अञ्चल अस्पताल प्रमुखको जिम्मेवारी पाएका छन्। मेडिकल सुपरिटेन्डेन्टको अनुपस्थितिमा अस्पतालको आकस्मिक कक्षमा दैनिक ज्यालादारीको हिसाबले काम गर्दै आएका डा. अवधेशकान्त झा निमित्त प्रमुख भएका हुन्। मेडिकल सुपरिटेन्डेन्ट डा. रामशंकर ठाकुरको व्यवहारबाट असन्तुष्ट स्थायी डाक्टरहरूले निमित्त अस्वीकार गरेपछि ज्यालादारीका डाक्टरलाई जिम्मेवारी दिइएको हो। झा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्टका निमित्त हुन्।
आर्थिक अनियमितताको आरोप लागेका मेडिकल सुपरिटेन्डेन्ट ठाकुर जेठको तेस्रो साता क्षेत्रीय प्रशासन कार्यालय हेटौंडा बयान दिन गएका थिए। त्यसबेला उनले बालरोग विशेषज्ञ डा. प्रमोद यादवलाई निमित्तको कार्यभार सुम्पेका थिए। ठाकुर अहिलेसम्म फर्किएका छैनन्।
यादवलाई पनि तालिमको सिलसिलामा बाहिर जानुपर्ने भएपछि दुई दिनअघि झा निमित्त तोकिएका हुन्। स्रोतको अनुसार अस्पतालमा उपलब्ध कुनै पनि चिकित्सकले निमित्तको जिम्मेवारी स्वीकार गर्न मानेनन्।
यसैबीच जनकपुर अञ्चल अस्पतालको हिसाबकिताब १५ दिनभित्र बुझाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्र लेखेको छ। नगदी काउन्टरमा ठूलो आर्थिक अनियमितता भएको उजुरीपछि अख्तियारले हिसाब मागेको हो। अस्पतालको डाक्टरक्वार्टर र ल्याबभवनमा रंगरोगन गर्दा पनि करिब २० लाख रुपैयाँ अनियमित ढंगले खर्च भएको भन्दै अख्तियारले सोधीखोजी थालेको छ।
नागरिकन्युज
![]() |