दलहरुको सहमतिमा निर्वाचन गर्नुपर्छः थापा




पाँचथर, श्रावण ६ - कांग्रेसका युवा नेता गगन थापाले संविधानसभा भंग भइसकेको अवस्थामा नयाँ जनादेशमा जानुको विकल्प नभए पनि मंसिर ७ मा चुनाव सम्भव नभएको बताएका छन् ।
२९ औं वीपी स्मृति दिवस मनाउन पाँचथर पुगेका थापा नेविसंघले शनिबार गरेको भेटघाट कार्यक्रममा बोल्दै  नियोजित ढंगले संविधानसभा भंग गरेर गरिएको निर्वाचन सम्भव नभएको उल्लेख गरेका हुन् । 
चार वर्षसम्ममा पनि संविधान लेख्न नसकेकोले राजनैतिक दलहरुले जनताको विश्वास गुमाउँदै गएको भन्दै थापाले संविधानसभा ब्यूँताउने कुरा सम्भव नभएको बताए । राजनैतिक सहमति नभएकोले संघीयता र गणतन्त्रका विषय टुंगोमा नपुगेको भन्दै दलहरुले फेरी पनि साझा बाटो तय गरेर निर्वाचनको नयाँ मिति तोक्नु पर्ने थापाले उल्लेख गरे  ।
उनले संविधानमा लोकतन्त्र, मानव अधिकार, प्रेस स्वतन्त्रता र मौलिक अधिकारजस्तै संघीयतालाईसमेत अपरिवर्तनीय धारामा राख्नु पर्ने प्रस्ताव गर्ने कांग्रेसलाई संघियताविरोधी र पहिचानविरोधी भनेर बाहिर होहल्ला गर्दै हिंडेको भन्दै आफूले लिएका नीतिमा कांग्रेस प्रष्ट रहेको बताए ।
संघीयता निर्माण गर्दा पहिलो आधार पहिचान बन्ने र स्वरुपको विषयमामात्र विवाद रहेको थापाले जनाए ।