प्लस टुपछि एयरहोस्टेज
|
'ग्ल्यामर प्लस करियर पनि, आफूमा भएको सुन्दरता र प्रतिभा दुवै यो पेसामार्फत देखाउन सकिन्छ भन्ने लाग्छ।' नयाँ बानेश्वरस्थित एयर होस्टेज ट्रेनिङ इन्स्टिच्युटमा भेटिएकी सविना अधिकारी भन्छिन्- 'बादलबीचको आकाशे उडानले देश-विदेश पनि घुमाउँछ।' आकर्षक ड्रेसअपलाई सौख मान्ने सविना भिन्न भिन्न मुलुक पुगेर घुम्ने र सपिङ गर्ने चाहना पनि उत्तीकै भएकाले एयरहोस्टेजको बाटोमा अग्रसर भएको बताउँछिन्।
बिर्तामोडकी सविना प्लस टु होटल म्यानेजमेन्ट अध्ययनसँगै एयरहोस्टेजको तालिम पनि लिइरहेकी छिन्। हस्पिटालिटी म्यानेजमेन्टका यी दुई कोर्षको ज्ञानबाट एयरहोस्टेजको करियरमा आफ्नो उज्वल भविष्य बनाउने उनको लक्ष्य छ। ५ फिट ५ इन्च अग्ली सविना वाक्कलामा पनि उत्तीकै पोख्त छन्। एयर होस्टेज भएर हवाई उडानका यात्रुलाई सेवामा सन्तुष्ट राख्न होटल म्यानेजमेन्टको अध्ययनले थप मद्दत गर्ने सबिनाले बताइन्। मुलुकभित्रकै आन्तरिक उडान तथा विदेशी बाह्य उडान दुवै क्षेत्रका लागि एयर होस्टेज राम्रो करियर भएको विद्यार्थीहरू बताउँछन्। 'जीवनमा रिक्स त जहाँ पनि छ' उनीहरू भन्छन्- 'दुर्घटना जहिले जहाँ हुनसक्छ, त्यसैले हामी एयरहोस्टेज बन्न डराउदैनौं।'
सुन्दर मुहार, आकर्षक जीउडाल, स्पष्ट बोली अनि सभ्य ढंगले प्रस्तुत हुने खुबी। यी कुराले एयर होस्टेजका लागि फिट छु भन्ने संकेत दिन्छन्। मिलेको शारीरिक बनावटमा सुहाउँदो पहिरन एयर होस्टेजको पहिचान हो। ग्लोबल भिलेजको विश्वको परिकल्पनामा रमाउनेहरूका लागि त पैसा लिएर सित्तैंमा घुम्न पाउनु पनि अर्को रोमाञ्चक कुरा हो। आन्तरिक उडानमा पनि मुलुकका विभिन्न आकर्षक स्थान घुम्ने मौका पनि एयरहोस्टेजको जागिरले दिन्छ। यति, बुद्ध, अग्नि, नेपाल एयरलाइन्स, गुण आदि स्वदेशी एयरलाइन्स कम्पनीहरू र अन्य दर्जनौं विदेशी एयरलाइन्स क्षमतावान् स्मार्ट युवतीहरूका लागि एयरहोस्टेजको तालिमपछि करियर विकासको अवसर प्रदान गरिरहेका छन्।
समयसँगै भिन्न क्षेत्रको पेसा अपनाउन चाहनेहरूको संख्या पनि बढ्दै गएको छ। स्टाफ नर्सपछि प्लस टु उत्तीर्ण युवतीहरूका लागि एयरहोस्टेज अर्को गन्तव्य हो। केही नेपाली चलचित्रमा अभिनय गरेकी नायिका नम्रता झा यतिखेर ओमान एयरमा कार्यरत छिन्। 'एयर होस्टेज ट्रेनिङ लिएपछि अहिले विदेश घुम्दै मासिक १ लाख रुपैयाँभन्दा बढी कमाउन पाएकि छु,' नम्रताका अनुसार मुख्य कुरा उनले यो पेसामा आएपछि पूर्ण सन्तुष्टि पाएकी छिन्। नेपाली चलचित्र तथा मोडलिङमा देखिएका थुप्रै युवतीले विदेशी एयर लाइन्समा एयर होस्टेजको काम गर्दै आएका छन्।
युवतीहरूका लागि एयरहोस्टेजको करियर प्लस टुपछि नै मिल्दो हुन जानुको कारण हो, उमेर। नेपालभित्र १८ वर्षदेखि २५ वर्ष उमेरभित्रै यो पेसामा प्रवेश गरिसक्नुपर्छ भने विदेशी एयरलाइन्सहरूले २० देखि ३० वर्षसम्मकालाई अवसर प्रदान गर्छन्। एयरलाइन्सहरू थपिने क्रमसँगै यो क्षेत्रमा धेरै अवसर पनि बढेको छ। एयर होस्टेज ट्रेनिङ इन्स्टिच्युटकी सञ्चालक कमलेश पाण्डे भन्छिन्- 'त्यसैले अहिलेका टिनएजर्सलाई एयरहोस्टेज मोहले छोएको छ।' इन्डियन एयर लाइन्स, जेट एयर, गल्फ एयर, ओमान एयरलाइन्स, इत्तिहाद एयरलाइन्स, इमिरेट्स एयरलाइन्स, थाई एयरलाइन्सजस्ता दर्जनौं विदेशी एयर लाइन्स कम्पनीमा नेपाली महिला कार्यरत छन्।
विमानमा यात्रा गरिरहेका यात्रुको रेखदेख एवं सेवा-सुविधा प्रदान गर्नु एयर होस्टेजको जिम्मेवारी हो। विमानले उडान भर्नुअघिदेखि अवतरण गरिसकेपछि पनि उनीहरूले अफ्नो जिम्मेवारीलाई अत्यन्तै सभ्य र सहज ढंगले निर्वाह गर्नुपर्ने हुन्छ। आपत्कालीन अवस्था आइलागे वा सम्भावित दुर्घटनाबाट बाँच्न उनीहरू हरबखत सचेत हुनु आवश्यक हुन्छ। यात्रुको व्यवहार एकै किसिमको नहुन सक्छ। तर, उनीहरूको व्यवहार हेरेर आफ्नो भूमिका परिवर्तन गर्नु हुँदैन। सधैं विनम्र भावमा प्रस्तुत हुनु आवश्यक छ।
सुरुमा एयर होस्टेजका रूपमा नियुक्ति लिए पनि यो पेसामा रहेर वरिष्ठ एयर होस्टेज, ड्युटी चिफ एयर होस्टेज एवं चिफ एयर होस्टे जसम्मको जिम्मेवारी निर्वाह गर्न सकिन्छ। तह वृद्धिसँगै तलब वृद्धि हुन्छ। विमान परिचारिकाको तलब र अन्य लाभ एयर लाइन्सको नियमअनुसार हुने भए पनि मुख्य तलबका अतिरिक्त थुप्रै अवसर पाइन्छ। यात्रा भत्ता, वर्षमा एक वा दुई पटक आफू र आफ्नो परिवारको एक सदस्यका लागि निःशुल्क हवाई टिकट, चिकित्सा सुविधा, जीवन बिमा सुविधा आदि प्राप्त गर्न सकिन्छ। एयर होस्टेजमा प्रवेश पाउने बित्तिकै १० हजारदेखि डेढ लाख रुपैयाँसम्म तलब पाइन्छ। डोमेस्टिक एयर लाइन्समा केही कम भए पनि विदेशी एयर लाइन्समा सोचेभन्दा राम्रो तलब पाइन्छ।
'ब्युटी विथ ब्रेन' यो पेसाको मुख्य मापदण्ड हो। ग्ल्यामरस पेसा भएकाले यो पेसामा आउटलुकमा पनि उत्तीकै ख्याल गरिन्छ, शारीरिक सुन्दरता एक हदसम्म हेरिने भए पनि मुख्य कुरा फिटनेस हो, हेर्दा भद्दा शरीर भएकाहरू अक्सर एयरहोस्टेज हुँदैनन्। फिटनेस सही छ-छैन भनेर प्रत्येक वर्ष एयरहोस्टेजको मेडिकल टेस्ट हुन्छ, यदि उनीहरू फिट देखिएनन् भने तुरुन्तै ग्राउन्डेड हुन्छन् र फिट भएपछि मात्र पेसामा फर्किन सक्छन्।
एयर होस्टेजका लागि अंग्रेजी भाषा अनिवार्य मानिन्छ। त्यसमा पनि विभिन्न भाषाको ज्ञान भए सुनमा सुगन्ध हुन्छ। अंग्रेजी अतिरिक्त भाषा जान्नेहरूले अझ राम्रो पारिश्रमिक र अवसर पाउँछन्। मिलनसार, सहनशील, विनम्र व्यवहार एवं हँसिलो मुहार एयर होस्टेजमा हुनुपर्ने गुण हो। यसरी आफू आवश्यक क्षेत्रमा योग्य भए एयर होस्टेजमा करियर बनाउन सकिन्छ। एयर होस्टेज बन्न न्यूनतम् ५ फिट २ इन्च अग्लो हुनुपर्छ। त्यस्तै आँखामा चस्मा वा कन्ट्याक्ट लेन्स प्रयोग नगरेको, सामान्य दृष्टि भएको हुनुपर्ने प्रावधान छ। 'वेसिक क्याबिन क्रु' सम्बन्धी प्रशिक्षण प्राप्त गरेको वा नर्सिङ हस्पिटालिटी म्यानेजमेन्टसम्बन्धी प्रशिक्षण प्राप्त गरेको हुनुपर्छ। स्वदेशी एयर लाइन्समा अनिवार्य नभए पनि विदेशी एयरलाइन्सका लागि अनिवार्य पौडी खेल्न जान्नुपर्छ।
नेपालमा एयरहोस्टेज ट्रेनिङ इन्स्टिच्युट नयाँ बानेश्वरका अतिरिक्त द फ्लाइङ इन्स्टिच्युट, फ्लाइ स्काई इन्टरनेसनल, ग्राउन्ड एभिएसन, स्काई बर्डले एयरहोस्टेज ट्रेनिङ उपलब्ध गराउँदै आएका छन्। एयर होस्टेज ट्रेनिङ इन्स्टिच्युट नेपालकै पहिलो एयरहोस्टेज तालिम दिने संस्था हो, हाल स्वदेशी तथा विदेशी एयरलाइन्समा कार्यरत धेरै एयरहोस्टेज यो संस्थाका उत्पादन हुन्।
एयर होस्टेजका लागि सैद्धान्तिक एवं प्रयोगात्मक कक्षा लिनुपर्छ। यसमा पनि बेसिक र एड्भान्स गरी दुई तह छुट्टयाइएको हुन्छ। जसमा परिचय, सेवा, जिम्मेवारी र प्राविधिक पक्ष सिकाइन्छ। खासगरी विमानमा यात्रुलाई स्वागत गर्नेदेखि अवतरण गरेपछि बिदाई गर्ने कला सिकाइने प्रशिक्षकहरू बताउँछन्। यसैगरी आपत्कालीन अवस्थामा जोगिने उपायका सम्बन्धमा पनि प्राथमिकताका साथ जानकारी दिइन्छ। यसका अतिरिक्त व्यक्तित्व विकास, टिकटिङ एयर क्राफ्ट, जिम्मेवारी र कर्तव्य, फ्लाइट अनाउन्समेन्ट, फ्लाइट इकुमेन्ट, सुरक्षा, साधारण स्वास्थ्य उपचार, बोर्डिङ कार्ड चेक गर्ने विधि, लामो र छोटो दूरीको उडानमा ब्रेक फास्ट, लन्च, डिनर सर्भ गर्ने विधि आदि सिकाइन्छ। अन्तर्वार्ता दिने शैली, निवेदन लिने विधि, तस्बिर खिच्ने खिचाउने विधि आदिका सम्बन्धमा पनि जानकारी प्रदान गरिन्छ।
एयर होस्टेजसम्बन्धी प्रशिक्षणमा बेसिक कोर्स ३ महिने एडभान्सतर्फ १ वर्षसम्मको कोर्स हुन्छ, जसमा कम्तीमा ३० हजारदेखि ९० हजार वा त्यसभन्दा बढी खर्च लाग्न सक्छ। एडभान्स कोर्सअन्तर्गत ६ महिने कोर्स नेपालमा र बाँकी ६ महिने कोर्स भारतमा गराइन्छ।
कमलेश पाण्डे, प्रबन्ध निर्देशक
एयर होस्टेज ट्रेनिङ सेन्टर, नयाँ बानेश्वरएयरहोस्टेज ट्रेनिङ सेन्टरहरूका आ-आफ्नै मापदण्ड छन् कि जस्तो छ नि ?
नेपालमा एयरहोस्टेज ट्रेनिङ गराउने संस्था खुल्ने र बन्द हुने क्रम उत्तिकै छ। २ वटा बन्द भए भने अर्को नयाँ २ वटा खुलिरहेका हुन्छन्। यो वर्ष पनि त्यस्तै देखिएको छ। दिगो रूपमा सञ्चालन भएका संस्था एक वा दुई मात्र छन्। एयरहोस्टेज ट्रेनिङ सञ्चालन गर्ने संस्थाहरूले एसएलसी पास भए पुग्ने, हाइट कम भएपनि एयरहोस्टेज बन्न सकिने भनेर गलत किसिमले विज्ञापन गरिरहेका छन्। यो विकृति हो। एयरहोस्टेज बन्न न्यूनतम् प्लस टु उत्तीर्ण तथा ५ फिट २ इन्च उचाइ हुनैपर्छ। त्यसमाथि ट्रेनिङ गरेको भए अझ राम्रो।
कसरी राम्रो संस्था छनौट गर्ने त ?
पहिलो कुरा एयरहोस्टेज ट्रेनिङ गराउने संस्था कति पुरानो हो, त्यसको स्थायित्व र निरन्तरता बुझ्नु आवश्यक छ। त्यहाँबाट उत्पादित कति विद्यार्थी एयरलाइन्समा कार्यरत छन् भन्ने कुरा पनि उत्तिकै महत्वपूर्ण हुन्छ। सिभिल एभिएसन अफ नेपालबाट लाइसेन्स लिएका तथा थाई एयर, क्याथे प्यासिफिक, पिआइएबाट ट्रेन्ड भएका शिक्षकहरूबाट एयरहोस्टेजको तालिम लिनुपर्छ। वैधानिक, विश्वसनीय र भरपर्दो शैक्षिक संस्थाले एयरहोस्टेज बन्न सकिने न्यूनतम् मापदण्न्ड बताएर मात्र ट्रेनिङ दिन्छन्। विद्यार्थीले आफ्ना लागि यो क्षेत्र कति सुहाउँदो छ भनेर परामर्श लिएर मात्र अघि बढ्नुपर्छ।
तपाईं आफ्नो इन्स्टिच्युटलाई विश्वसनीय र भरपर्दो छ भनेर कसरी पुष्टि गर्न सक्नुहुन्छ ?
पहिलो कुरा हामी नेपाल सरकारबाट भ्याट लाइसेन्सका साथमा अन्य वैधानिक प्रक्रिया पूरा गरेर सन् २००३ देखि सञ्चालनमा छौं। एयरलाइन्समा एयरहोस्टेजका रूपमा कार्यरत विद्यार्थीहरू सबैभन्दा धेरै हाम्रै उत्पादन छन्। डोमेस्टिक एयरलाइन्सहरू बुद्ध, यती, अग्निका अतिरिक्त गल्फ एयर, कतार एयरवेज, इमिरेट्स एयर, एयर अरेबिया, बहराइन एयरलाइन्सलगायत मिडल इष्टका सबै एयरलाइन्समा हाम्रा उत्पादन काम गरिरहेका छन्। एयरहोस्टेजका लागि सही शिक्षा उपलब्ध गराउने लाइसेन्स प्राप्त शिक्षक तथा शैक्षिक वातावरण हामीले उपलब्ध गराएका छौं।
एयरहोस्टेज पेसाचाहिँ कस्तो हो ?
यो अहिलेको आकर्षक र प्रतिष्ठित करिअर हो। पूर्वमिस नेपालदेखि नायिका तथा मोडलहरू संलग्न भैसकेको पृष्ठभूमिमा आमयुवतीका लागि पनि यो पेसा आकर्षक छ। आकाशमा सयर गर्न पाउने यो पेशा रोमान्चक हुनुका साथै उत्तिकै साहसिक पनि छ। यो आयस्रोतका दृष्टिकोणले पनि उत्तिकै राम्रो छ। डोमेस्टिक एयरलाइन्सहरूले अन्तर्राष्ट्रिय उडान भर्न थालेकाले पनि अझ राम्रो भएको छ।
एयर होस्टेज बन्न टे्रनिङ कत्तिको आवश्यक छ ?
एकदमै आवश्यक छ, एयर होस्टेजमा करियर खोज्नेहरूले हवाई उडानका क्रममा उपलब्ध गराउनुपर्ने हस्पिटालिटीको ज्ञान ट्रेनिङमै दिइन्छ, उनीहरूलाई एयर लाइन्सको सबै अनुभव ट्रेनिङका क्रममा प्रदान गरिने भएकाले त्यहाँ रोजगारी पाएर जाँदा नयाँ अनुभव महसुस गर्नुपर्दैन।
द फ्लाइङ इन्स्टिच्युट, पुतलीसडक
द फ्लाइङ इन्स्टिच्युट सन् २००६ मा स्थापना भएको हो। पुतलीसडकस्थित यो इन्स्टिच्युटले एयरहोस्टेज बन्न चाहनेहरूलाई तालिम उपलब्ध गराउँदै आएको छ। च्यालेन्जिङ तथा ग्लामरस प्रोफेसन भएकाले यो क्षेत्रमा करिअर बनाउन चाहनेहरूको संख्या बढ्दै गएको द फ्लाइङ इन्स्टिच्युटका प्रबन्धक राजु श्रेष्ठ बताउँछन्। नागरिक उड्डयनको पृष्ठभूमिबाट आएको फ्याकल्टीले सञ्चालन गरेको हुनाले यहाँ तालिम लिने विद्यार्थीले आफ्नो लक्ष्य भेटाउन सहज छ। २० वर्षसम्म एयरहोस्टेजका रूपमा कार्य गरिसकेकि शान्ता श्रेष्ठ यो इन्स्टिच्युटकी निर्देशक हुन्।
फलाई स्काई इन्टरनेसनल, पुतलीसडक
यो वर्षदेखि सञ्चालनमा आएको फलाइ स्काइ इन्टरनेसनलले अन्तर्राष्ट्रिय गुणस्तरको एयरहोस्टेज ट्रेनिङ उपलब्ध गराउने बताएको छ। इन्स्टिच्युटका प्रबन्ध निर्देशक प्रदीपराज वन्तका अनुसार एयरहोस्टेजका लागि आफ्ना उत्पादनले अन्तर्राष्ट्रिय बजारमा सहजै प्रतिस्पर्धा गर्न सकून् भनेर आफैंले नयाँ पाठ्यक्रम विकास गरिएको छ। एभिएसनकै क्षेत्रमा २० वर्ष काम गरिसकेको शिक्षण टोली यो इन्स्टिच्युटमा छ। मिस एयरहोस्टेज आयोजना गर्ने सिजन मिडियाले यो इन्स्टिच्युट सञ्चालन गरेको हो। इन्स्टिच्युटले तालिम अवधिमा विद्यार्थीलाई विभिन्न स्थानको हवाई यात्रा गराएर प्रयोगात्मक शिक्षा दिने योजना बनाएको छ।
काठमाडौं पोस्ट क्यारियर एडु फेयर
स्वदेश तथा विदेशमा उच्च शिक्षाको तयारी गरिरहनुभएको छ ? त्यसो हो भने आउँदो बुधबार भृकुटीमण्डप जानुहोस् जहाँ एउटै थलोमा दे श-विदेशका शैक्षिक संस्थाबाट भरपर्दो परामर्श प्राप्त गर्न सकिनेछ। उच्च शिक्षाका तयारीमा जुटेका विद्यार्थीलाई लक्षित गरेर भृकुटीमण्डपमा यसै साता भव्य शैक्षिक मेला हुने भएको छ। पहिलो संस्करणअन्तर्गत हुन लागेको 'द काठमाडौं पोस्ट क्यारिय एडुफेयर' मा विद्यार्थीले स्वदेशी तथा विदेशी शिक्षाका बारेमा सम्बन्धित विज्ञहरूबाट जानकारी हासिल गर्न सक्नेछन्।
प्लस टुको नतिजा पर्खिरहेका र एसएलसीपछि उच्च शिक्षाको तयारीमा जुटेका विद्यार्थीहरू मेलाबाट लाभान्वित हुने आयोजकहरूको विश्वास छ। मेलामा विद्यार्थीहरूले सम्बन्धित शैक्षिक संस्थाका प्रतिनिधिसँग साक्षातकार गर्न सक्नेछन्। खासगरी क्यारियर विकासमा सघाउ पुर्याउने उद्देश्यले मेलामा विज्ञहरू उपस्थित हुनेछन्। यसबाट विद्यार्थीहरूमा रहेको द्विविधा एवं अन्यौल हट्नेछ।
भारत आदि विश्वका थुप्रै मुलुकमा नेपाली विद्यार्थीहरू अध्ययनका लागि जाने गरेक छन्। यो दर बर्सेनि बढ्दो छ। अब्रोड स्टडीको यही क्रे जलाई मध्यनजर गरेर मेलामा सम्बन्धित शैक्षिक संस्थाका ५० भन्दा बढी स्टल छन्। अब्रोड स्टडीसम्बन्धी विद्यार्थीमा रहेको भ्रम, समस्या आदि हटाउन मेला उपयुक्त गन्तव्य हुनेछ। विदेशका राम्रा कलेज कसरी छनौट गर्ने, कुन मुलुकको कुन कलेजमा के कस्ता विषय अध्ययन हुन्छ, जाने प्रक्रिया के छ, खर्च कति लाग्छ जस्ता कुरामा विद्यार्थीले विज्ञहरूसँग परामर्श गर्न सक्नेछन्। यसैगरी आफूले अध्ययन गर्न चाहेको कलेज, त्यहाँको भौगोलिक अवस्था, हावापानी, कला संस्कृतिजस्ता यावत विषयमा पनि सहजै जानकारी पाइनेछ।
अवलोकनकर्ताको सुविधालाई ध्यानमा राखेर मेलामा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमको पनि व्यवस्था गरिएको छ। मेलामा फन गेम्स तथा लाइभ म्युजिकको स्वाद लिन सकिनेछ। वित्तीय संस्थाको एजुकेसन लोन सम्बन्धीका कार्यक्रमदेखि आईसीटी (इन्फरमेसन, कम्युनिकेसन टेक्नो लोजी) सम्म मेलामा उपलब्ध हुनेछ। मेला तीन दिनसम्म सञ्चालन हुनेछ।
|




