राष्ट्रपतिलाई श्रीपेचबिनाको राजा बनाइँदैछ : लेखी

नयाँ राजनीतिक शक्तिको घोषणा हुन्छ : शेर्पा-
टेकनारायण भट्टराई, पाल्पा, साउन ५- आदिवासी जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीले राष्ट्रपतिलाई श्रीपेचविहीन राजा बनाउने प्रयासमा दलहरु लागेको आरोप लगाएका छन्। उनले राष्ट्रपतिलाई दलहरुको वहकावमा नलाग्न आग्रह गर्दै नमाने राजा ज्ञानेन्द्रको हालतमा पुर्‍याइदिने चेतावनी दिएका छन्। 
 
शुक्रबार तानसेनमा आयोजित आदिवासी जनजाति अगुवा भेलालाई सम्बोधन गर्दै उनले भने 'दलहरुले राष्ट्रपतिलाई उचालेर आदिवासी जनजातिका मुद्दालाई कुल्चने चेष्टा गर्दैछन्, हामी राष्ट्रपतिलाई सचेत रहन आग्रह गर्दछौं।' राष्ट्रपतिले विगतमा संघीयता र जातीय पहिचानको विरुद्धमा 'हर्कत' गरेको भन्दै उनले भने 'तीनदलको वहकावमा जातीय आन्दोलनलाई कुल्चने चेष्टा गरे हामी सहने छैनौं।' उनले संविधान सभा बाहिरबाट संविधान बनाउने प्रपञ्च सुरु भएको र त्यसमा राष्ट्रपति सहयोगी बन्ने देखेको औंल्याए। लेखीले भने 'तपाईँलाई तानासाहा बनाउन सिंगार्दैछन्, श्रीपेचविनाको राजा बनाउने खेल चल्दैछ, खबरदार राजा बन्ने कोशिस नगर्नुस्।' उनले संविधान सभा बाहिरबाट आउने संविधान मान्य नहुने भन्दै बरु अझ केहीबर्ष कुर्ने बताए। संघीय राज्य र जातीय पहिचानविना देश अघि नबढ्ने भन्दै अर्को संघर्ष चर्काउने चेतावनी दिए।
महासंघका पूर्व अध्यक्ष एवं वर्तमान सल्लाहकार पासाङ शेर्पाले आफूले एमालाई एमाले पार्टीबाट बाहुनवादीले डण्डा लगाएका दुखेसो गरे। 'मलाई डण्डा लगाइयो, यस्तै हाल सबै पार्टीका जनजाती नेताले बेहोर्दै छन्।' उनले भने 'पार्टीमा अस्तित्व रक्षा गर्न गाह्रो भएर मैले ३४ बर्ष योगदान गरेको पार्टी छाँडे।' उनले सबै पार्टीका आदिवासी जनजाती नेता अस्तित्व रक्षाको लडाँइमा रहेको भन्दै अन्ततः वाहालवाला पार्टीमा रहेर लाडाँइ जित्न असंभव हुने भन्दै नयाँ पार्टी खोल्नै पर्ने बताए।
'हामी देश दौडाहामा छौ, जनमत संकलन गरेर नयाँ राजनीतिक शक्तिको घोषणा गर्ने तयारीमा छौं।' शेर्पाले सैबै उत्पीडित समुदायको नेतृत्व गर्ने नयाँ दल आवश्यक रहेको भन्दै त्यसैको तयारीमा आफूहरु रहेको स्पष्ट पारे।
अघिपछि जनजाती आन्दोलनमा अगुवाई गर्ने एमाले र काँग्रेसका जिल्ला तहका आदिवासी जनजाती नेता कार्यकर्ताले भेला बहिस्कार गरेका छन्। दलको दवावमा परेर ति नेता कार्यकर्ता भेलामा सहभागी नभएका आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद पाल्पाका अध्यक्ष गमबहादुर थापाले बताए।
लेखीले देश दौडाहाका क्रममा आफूहरुले राखेको भेलामा सहभागी नहुन राजनीतिक दलहरुले दलसम्बद्ध जनजाती नेता कार्यकर्तालाई उर्दी जारी गर्न थालेका भन्दै त्यसको प्रतिवाद गर्न आग्रह गरे।