ताइवानी फिल्म उत्कृष्ट
![]() |
काठमाडौं, साउन २ (नागरिक)- आइतबार सकिएको नेपाल अन्तर्राष्ट्रिय आदिवासी फिल्म महोत्सवको सर्वोत्कृष्ट अवार्ड गोल्डेन ड्रम ताइवानी फिल्म 'भ्वाइसेस इन द क्लाउड'ले लग्यो। आरोन होसद्वारा निर्देशित फिल्मको अवार्ड नेपाल आएका ताइवानी निर्देशक चिया वेइ च्याङको हातमा पठाइएको छ।
एसियाली मूलका अमेरिकी पात्रले मरेकी आमाको आत्मा र वंश खोज्न ताइवानमा गरेको भ्रमण यो ७७ मिनेट लामो डकुमेन्ट्रीमा देखाइएको छ। महोत्सवको दोस्रो फिल्मको अवार्ड हात पार्दै कर्टिस टेलर निर्देशित अस्ट्रेलियाको 'मामु' फिल्मले 'सिल्भर ड्रम' जित्यो। मार्तु समुदायका एक व्यत्तिलाई आत्माले दिएको दुःखलाई फिल्म प्रस्तुत गरिएको छ। त्यस्तै क्यानेडियन फिल्म 'चिल विरुद्ध भँगेरा'ले तेस्रो हुँदै 'ब्रोन्ज ड्रम' जित्यो। माइकल डेरोजर निर्देशित फिल्ममा चिलले रचेका चक्रव्युह र जालमा फस्न खोजेको भँगेराको दौडलाई प्रस्तुत गरिएको छ।
युगान्डाका दिलमान दिला निर्देशित 'एक खुट्टे नाचको ध्वनि'ले जुरी अवार्ड हात पार्यो। जीवन बाँच्नका लागि एक खुट्टे नेपाली युवतीले गरेका संघर्षको कथा फिल्ममा प्रस्तुत गरिएको छ।
यसपटक प्रोत्साहन स्वरूप सञ्चारकर्मी फुलमान बलद्वारा निर्देशित छोटो फिल्म 'सेलफोन'ले प्रोत्साहन अवार्ड जित्यो। विश्वव्यापीकरणको मारले पुर्ख्यौंली ढ्यांग्रो बेच्ने कथा रहेको फिल्मले २५ हजार रुपैयाँ पाएको छ। महोत्सवमा नेपाल पानोरामा अवार्ड भने लुज सिंह निर्देशत 'इम्प्रेसन अफ लुम्बिनी'ले जित्यो। यसले १५ हजार रुपैयाँ पाएको छ। फिल्ममा लुम्बिनी नेपालकै हो भन्ने तथ्यहरू समावेश छन्।
रवि सेर्माद्वारा निर्देशित लिम्बु फिल्म 'केबा कोक्मा' (लाटो पहाड) दर्शक रोजाइमा पर्न सफल भयो। फिल्मले ब्रोन्ड ड्रमसहित १५ हजार रुपैयाँ प्राप्त गर्यो। शिक्षाको क्षेत्रमा पछाडी पर्नुपर्र्दा लिम्बु समाजले पाएको दुःखलाई फिल्ममा समावेश गरिएको छ। नेपालका मानवशास्त्री डम्बर चेम्जोङ, भारतीय समीक्षक रिता दत्त र अस्ट्रेलियन सिनेकर्मी एन्ड्रोइ भियल महोत्सवका निर्णायक थिए।
'सानो उद्देश्यले स्थापित महोत्सवले अन्तर्राष्ट्रियस्तरमा महत्व पाएको छ। अर्को वर्ष ल्याटिन अमेरिकनमा केन्द्रित हुने योजना छ,' आयोजक इन्डिजिनियस फिल्म अर्काइभका अध्यक्ष नवीन सुब्बाले भने।
उनले फिल्महरू आदिवासी मात्र नभएर सबैका लागि हो भन्ने सन्देश समेत दिए। त्यस्तै महोत्सव निर्देशक सञ्जोग लाफा मगरले भने, 'महोत्सवलाई आगामी दिनमा अझ व्यापक बनाउनेछौं।' चार दिन चलेको महोत्सवमा २० देशका ७९ फिल्मले सहभागिता जनाएका थिए।
होटल याक एन्ड यतिमा अवार्ड समारोहको समापनमा कुटुम्ब ब्यान्डले शक्तिशाली संगीत प्रस्तुत गरी सहभागीहरुलाई नचाएको थियो।
![]() |