सिंहदरबारमा चोरी नियन्त्रण गर्न सुरक्षा जाँचमा कडाइ


काठमाडौ, श्रावण ६ - सिंहदरबारभित्रै चोरी बढेपछि प्रहरीले सर्वसाधारण र कर्मचारी आउजाउको सुरक्षा जाँचमा शुक्रबारदेखि कडाइ गरेको छ । कान्तिपुरमा 'सिंहदरबारभित्रै चोरको बिगबिगी' समाचार प्रकाशित भएपछि सिंहदरबार सुरक्षा प्रहरी गणले सरकारको केन्द्रीय सचिवालय रहेको सिंहदरबारभित्र चोरी नियन्त्रण गर्न कर्मचारी र सर्वसाधारण आउजाउको सुरक्षा जाँचमा कडाइ सुरु गरेको हो । यसअघि कर्मचारी र सर्वसाधारण बाहिर निस्कँदा झोला र गाडी जाँचिँदैनथ्यो । प्रवेश गर्दामात्र जाँचिन्थ्यो ।
प्रहरीले चोरी नियन्त्रण गर्न झोला र गाडी जाँच्न थालेका कारण सिंहदरबारको दक्षिणी र पूर्वी गेटमा शुक्रबार कार्यालयबाट फर्कने समयमा सरकारी गाडीको लामो ताँती लागेको थियो ।
'हामीले यसअघि पनि सिंहदरबारबाट बाहिरिने कर्मचारी र सर्वसाधारणको झोला र सामान हालिएको गाडीमध्ये केहीको र्‍यान्डम्ली (छड्के) जाँच गर्थ्यौं,' सिंहदरबार सुरक्षा प्रहरी गणका प्रमुख डीएसपी प्रज्ज्वल महर्जनले भने, 'शुक्रबारदेखि भने झोला र सामान हालिएको गाडीको जाँचलाई बढाएको छौं ।'