धुलिखेलमा अर्थोग्नेथिक शल्यक्रिया सुरु

मधुसुधन गुरागाईं, बनेपा, साउन ४- धुलिखेल अस्पतालको डेन्टल तथा मेक्सिलोफेसियल विभागले नेपालमै अर्थोग्नेथिक शल्यक्रियाको सुरुवात गरेको छ। अर्थोग्नेथिक शल्यक्रियामा मुखभित्रको हाडलाई लामो पारेर वा छोट्याएर बाहिरबाट चोट नलगाई शल्यक्रिया गरिन्छ। 


अनुहार लाम्चो भएको, चिउँडो बाहिर निस्केको या भित्र धस्सिएको, माथिल्लो र तल्लो दाँत टम्म नमिलेको समस्यालाई मुखभित्रै शल्यक्रिया गरेर ठीक पारिने अस्पतालका ओरल तथा मेक्सिलोफेसियल सर्जन डा. चन्दन उपाध्यायले जनाए।

'अब अर्थोग्नेथिक सर्जरीका लागि भारतको दिल्ली या मुम्बई जानु पर्दैन,' उनले भने, 'यस्तो शल्यक्रियाबाट पूर्ण नतिजा आउन डेढदेखि दुई वर्षसम्म लाग्छ।' बाहिर गएर शल्यक्रिया गर्दा बिरामीलाई 'फलो अप'को समस्या हुने गरेको थियो।

अस्पतालले हालै काठमाडौं नैकापका १८ वर्षीय विवेक थापाको अर्थोग्नेथिक शल्यक्रिया गरेको थियो। सानैदेखि अनुहार लाम्चो भएको, बोल्दाबोल्दै शब्दहरू चिप्लने, खानेकुरा चपाउन समस्या हुने र बंगाराको जोर्नीसमेत राम्ररी नचल्ने विवेकलाई अस्पतालले तीन चरणमा उपचार गरेको हो।

शल्यक्रिया अघि र पछिसमेत गरी उनको तीन चरणमा उपचार भइरहेको छ। साढे ६ घन्टा लामो उनको शल्यक्रियापछि उनको अनुहार सामान्य मानिसको झैं भएको छ। तीन साताअघि शल्यक्रिया गराएका उनी 'फलो अप'मा आइरहेका छन्। 'असामान्य देखिने अनुहार भएकाले बजार, कलेज र आफन्तकहाँ जानलाई समस्या थियो,' अस्पतालमा भेटिएका विवेकले भने, 'अहिले नयाँ रूप पाएको छु।'
भारतमा यही शल्यक्रिया गर्नुपर्दा साढे तीन लाख रुपैयाँ खर्च पर्ने बुझेपछि विवेकका बाबु बमबहादुरले धुलिखेलमै उपचार गराउने निधो गरेका हुन्। 'उपचार खर्चभन्दा पनि आतेजाते खर्च र कुनै पनि बेला फलो अप गर्न समस्या हुने बुझियो। त्यसैले यहीं उपचार गराउनु ठीक ठानें,' बमबहादुरले भने।

यतिखेर अस्पतालमा ६ बिरामी अर्थोग्नेथिक शल्यक्रियाका लागि तयार हुँदैछन्। 'उनीहरूको जाँच तथा अनुसन्धान सकियो,' डा. उपाध्यायले भने, 'अब छिट्टै शल्यक्रिया गर्छौं।'

अस्पतालका प्रशासकीय निर्देशक डा. राजेन्द्र कोजूले डेन्टल तथा मेक्सिलोफेसियल विभागमा नयाँ-नयाँ प्रविधि र विशेषज्ञको सेवा थपिएको जनाए। 'संसारमै महँगो मानिने दन्त उपचारका विभिन्न सेवा सर्वसाधारणको पहुँचमा ल्याउन प्रयासरत छौं। यसका निम्ति अलग्गै भवन र प्रविधि जडान भइरहेको छ,' उनले भने।