आइओसीसँग पाइपलाइन छलफल छिट्टै

काठमाडौ, साउन ४, (नागरिक)- आयल निगमले अमलेखगन्ज- रक्सौल पेट्रोलियम पाइपलाइनको बारेमा छिट्टै इन्डियन आयल कर्पोरेसन(आइओसी)सँग छलफल गर्ने भएको छ। 



'अगस्ट महिनाभित्रै पाइपलाइनमा देखिएको अस्पस्टताको बारेमा छलफल गर्दछौ,' निगमका कामु कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालले बुधवार नागरिकसँग भने, 'आइओसीका अधिकारी यही आउने वा हामी भारत जाने टुंगो भने लागेको छैन।'

आइओसीले पठाएको पाइपलाइनको प्रस्तावमा अस्पस्टता रहेपछि निगम सञ्चालक समितिको बैठकले थप छलफल गर्नुपर्ने निर्ष्कष निकाल्दै निगम व्यवस्थापनलाई आइओसीसँग छलफल गर्न निर्देशन दिएको थियो।

आइओसीको प्रस्तावमा भारतको रक्सौलमा रहेको डिपो मोतिहारीमा सार्ने र त्यहीँसम्म पाइपलाइन निर्माण गर्दा लाग्ने खर्च नेपालले तिर्नुपर्ने प्रावधान छ।
भारतको यही प्रस्तावलाई सञ्चालक समितिको बैठकले असहमति जनाउँदै थप छलफल गर्नुपर्ने आवश्यकता औंल्याएको थियो।

निगमको विस्तृत सम्भाव्यता अध्ययन (डिपिआर) मा ४१ किलोमिटर लामो दुरीमा पाइपलाइन बिछ्याउनुपर्ने देखिएको थियो। नेपालतर्फ ३९ किलोमिटर र भारततर्फ दुई किलोमिटर पाइपलाइन बिछयाउनुपर्ने देखिएको थियो। अहिले आइओसीले रक्सौल डिपोलाई मोतिहारीमा सार्नुपर्ने र ४० किलोमिटर पाइपलाइन निर्माण गर्नुपर्ने उल्लेख गरेको छ।

अग्रवालका अनुसार यो वाहेक निगमले तेल वाहेकका वस्तु कारोबारका लागि पनि आइओसीसँग थप छलफलको आवश्यकता देखिएको हो।
'हामीले नाफा हुने तेल वाहेकका वस्तुको कारोबारका लागि थप छलफल गर्न आवश्यक देखिएको छ,' उनले भने।

निगमले आइओसीको उत्पादन गर्ने विटुमिन, ल्युब र पेट्रोकेमिकल्सको कारोबार गर्ने तयारी गरेको थियो। तीन महिनाअघि निगम र आइओसीवीच भएको आपूर्ति सम्झौता भएको समयमा आइओसीले तेल वाहेकका वस्तु बिक्री गर्न सहमत जनाएको थियो।