सुगरिकालाई घरमै विभेद



पूर्व मिस नेपाल सुगरिका केसीले आफ्नै घरमा महिला र पुरुषमा विभेद रहेको बताएकी छिन्। उनले आफू बेलुका घर र्फकंदा धेरै  प्रश्न गरिए पनि भाइसँग भने त्यसरी प्रश्न नगरिने बताइन्। इटहरी एफएमले गरेको रेडियो पत्रकारिता तालिमको समापनमा प्रशिक्षार्थीहरूका  अगाडि गएको सोमबार सुगरिकाले त्यसो भनेकी हुन्। 'बेलुका साढे ७ बजे घर आउँदा हजुरबुबाले कहाँ गएकी थिइस्, कोसँग गएकी थिइस्  भनेर सोध्नुहुन्छ' सुगरिकाले भनिन्- 'भाइसँग भने त्यस्तो कुरा सोध्नु हुन्न।' उनले नेपालमा महिला र पुरुषमा गरिने विभेदको उदाहरण दिने  क्रममा रेडियोका ८८ जना प्रशिक्षार्थीलाई उक्त कुरा बताएकी हुन्। मिस नेपाललाई सरकारले आधिकारिकता नदिएर विभेद गरेको बताउदै  उनले सरकारले आधिकारिकता दिएको भए आफुहरूले लुकेर बस्नु पर्ने अवस्था नआउने बताइन्। मिस वल्र्डमा १ सय १५ देशका सुन्दरीसँग  भेट भएको स्मरण गर्दै केसीले विकसित मुलुकमा महिला र पुरुष बीच भेदभाव नहुने उल्लेख गरिन्। उनले विश्वका सुन्दरीहरूले आफ्नो नाम  सुगरिकाको अर्थ सोधेको पनि बताइन्।

'रसियन भाषामा सुगरिकाको अर्थ पवित्र आत्मा हुँदो रहेछ,' उनले भनिन्- 'मेरा बाबा र आमाको नाम मिलाएर मेरो नाम सुगरिका राखिएको  हो।' मिस वल्र्डमा भाग लिँदा अग्लो हिलका कारण खुट्टा सुन्निएर पानी जमेको पनि सुगरिकाले स्मरण गरिन्। 'म सक्दिनँ भन्दा आमाले झिँगाको टाउकोजत्रो समस्याबाट भाग्नु हुँदैन भन्नुभयो,' उनले भनिन्-'आमा र परिवारको हौसलाले म यो ठाउँमा आइपुगेकी हुँ।'

वातावरणको मुद्दा लिएर आफूले देशका विभिन्न जिल्लाको भ्रमण गरेको कुरा बताउँदै उनले राष्ट्रपतिबाट सम्मान पाउँदा कतै-कतैबाट विरोध  आएकाले दुःख लागेको उल्लेख गरिन्। नेपालमा युवाहरूलाई पछि पारिने गरिएकाले देश अघि बढ्न नसकेको बताउँदै युवा नेता गगन  थापालाई पनि अघि बढ्न नदिइएको उनले दाबी गरिन्। बिहान उठेर एक घण्टा पूजापाठपछि तीनवटा क्याम्पसमा पढाउन जाने र बाँकी  समय सामाजिक क्रियाकलापमा बित्ने उनले बताइन्।