अन्तिम दिन १६ करोडको कारोबार


काठमाडौं, साउन १ (नागरिक)- एनआइडिसी क्यापिटल मार्केटको ठूलो परिमाणमा सेयर किनबेच भएकाले आर्थिक वर्षको अन्तिम दिन १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। विकास बैंक र होटलबाहेक कारोबार भएका सबै समूहका परिसूचक बढेकाले नेप्से परिसूचक पनि उकालो लागेको छ।



नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से ६.२४ अंकले बढेर ३८९.७२ कायम भएको छ। जलविद्युत समूहको परिसूचक सबभन्दा उच्च (१९.८९) अंकले बढेेको छ। यसलाई क्रमशः अन्य, कारोबारमा ठूलो हिस्सा ओगट्ने वाणिज्य बैंक, बिमा र वित्त समूहले पछ्याएका छन्। विकास बैंक समूहको परिसूचक घटेको छ भने होटलको स्थिर छ। व्यापार र उत्पादनमूलक समूहबाट यस दिन कुनै पनि कम्पनीको कारोबार भएन। स्टक एक्सचेन्जले सूचीकृत कम्पनीलाई ९ समूहमा विभाजन गर्दै आएको छ।
यस दिन एक हजार ७९ कारोबारमा १३ करोड ६ लाख ३१ हजार रुपैयाँ बराबरका दुई लाख ६७ हजार चार सय ५३ कित्ता सेयर किनबेच भएका छन्। बुधबार एक हजार एक सय १४ कारोबारमा चार करोड ४२ लाख ५२ हजार रुपैयाँ बराबरका एक लाख १२ हजार पाँच सय ५१ कित्ता सेयर किनबेच भएका थिए। पछिल्लो १० महिनामा दैनिक ४ करोड रुपैयाँ बराबरको सेयर कारोबार हुँदै आएको छ। गत वर्ष औसत दैनिक कारोबार रकम २ करोड ७५ लाख रुपैयाँ थियो।
यस दिन धेरै (९८) पटक सेयर किनबेच हुने कम्पनी तिनाउ विकास बैंक हो। धेरै रकम (५ करोड ७९ लाख ३९ हजार रुपैयाँ) आधारमा एभरेस्ट बैंकले अग्रता लिएको छ। धेरै कित्ता (६७ हजार १ सय) सेयर किनबेच हुने आधारमा नेसनल हाइड्रो पावर कम्पनी अगाडि छ।
बिहीबार तुलनात्मक रुपमा बढी कम्पनीको सेयर किनबेच भएको छ। स्टक एक्सचेन्जले ८५ कम्पनीको कारोबार भएकोमा २९ कम्पनीको सेयर मूल्य बढेको १२ को यथावत रहेको र ४४ को घटेको जनाएको छ। स्टक एक्सचेन्जमा सूचीकृत हुने कम्पनीको संख्या बढे पनि कारोबार हुने कम्पनीको संख्या बढेको छैन्।
नेसनल हाइड्रोपावर कम्पनी, एभरेस्ट बैंक र गण्डकी डेभलपमेन्ट बैंकको सेयर मूल्य यस दिन उच्च दरमा घटेको छ। कुमारी बैंक, युनिक फाइनान्स र एचएन्डबी डेभलपमेन्ट बैंक सेयर मूल्य उच्च दरमा बढ्ने कम्पनीको सूचीमा अगाडि छन्।
बजार पुँजीकरण ३ खर्ब ६२ अर्ब रुपैयाँ कायम भएको छ। उचाइमा पुगेका बेला बजार पुँजीकरण ६ खर्ब १२ अर्ब रुपैयाँ थियो।


नागरिकन्युज