राजनीतिक सहमतिमा खानेपानी
![]() |
झगडा राम्रो होइन भन्ने चेतनाको विकास र मिल्नुबाहेक अर्को विकल्प छैन भनेर स्थानीय विकासमा एकजुट भएर लागेका छौं
काठमाडौं, आश्विन २ - टोखावासी भए पनि कांग्रेसका माइला डंगोल र एमालेका गणेशमान श्रेष्ठबीच बोलचाल थिएन । एक-अर्कालाई सहयोग होइन, पाएसम्म विरोध गर्थे । उनीहरूमात्रै होइन, टोखामा राजनीतिक आस्थाका आधारमा यस्तो मनमुटाव धेरैको थियो ।
'हामीबीच पानी बाराबार नै थियो,' श्रेष्ठ भन्छन्,'अब त्यो अवस्था छैन । हामी मिलेका छौं ।' कारण विकास निर्माण । दुवैका आस्था आ-आफ्नै छन् । उनीहरू अब विकास निर्माणका लागि मिलेका छन् । सामाखुसी चक्रपथदेखि साढे ४ किमि उत्तरमा रहेको टोखामा कांग्रेस, एमाले, माओवादी, नेमकिपाबीच अहिले अचम्मको सहमतिको राजनीति चलेको छ ।
दलीय सहमतिमा ३ वर्षदेखि सञ्चालित करिब साढे ३ करोड रुपैयाँ लागतको डिप बोरिङ स्रोतको 'टोखा बृहत् खानेपानी आयोजना' अहिले निर्माणको अन्तिम चरणतिर छ । आयोजनाका कार्यालय सचिव कर्णबहादुर डंगोल अन्यत्र स्कुल व्यवस्थापनदेखि गाविस, जिविस परिषद्का बैठकमा दलहरूबीच कुटाकुट भएका खबर सुने पनि टोखामा सौहार्दता भएकामा गर्व गर्छन् । उनका अनुसार डेढ सय धारा सञ्चालन भइसकेको आयोजनाले दुवै गाविसका करिब १३ सय घरधुरीलाई सशुल्क पानी वितरण गर्ने लक्ष्य लिएको छ ।
कैयौं स्थानीय कार्यक्रम जनप्रतिनिधिविहीन हुँदा दलीय सहमतिसँगै भ्रष्टाचार मौलाएको भए पनि आफ्नो आयोजना पारदर्शी भएको प्रतिनिधिहरूको दाबी छ । 'सरकारी स्टिमेटअनुसार पानीट्यांकी भवन ३९ लाख रुपैयाँको थियो, हामीले २५ लाखमा बनायौं,' समिति अध्यक्ष तथा नेका प्रतिनिधि डंगोलले भने, 'हामी पारदर्शी छौं, सामान किन्दा कहीं कोटेसन, कहीं मोलमोलाई र लेबर ठेक्का दिएकाले सस्तो पर्यो ।'
आयोजनाको १७ सदस्यीय कार्यसमिति पनि दलहरूकै सहमति बनेको छ । समितिमा ३३ प्रतिशत महिला सहभागिता छ । आयोजनाको शुल्क निर्धारण लगायतका विषयमा आइतबार भएको बैठकमा सहयोगी संस्थासहित कार्यसमितिका सबैको उपस्थिति थियो । 'बाहिर जाँदा दलहरू फरक होलान् तर विकासका लागि एउटै परिवारका सदस्य हौं,' माओवादीको कुन दलमा लाग्ने निश्चित नगरेकी एकीकृत माओवादी (संयुक्त हुँदाकी) क्षेत्रीय सदस्यसमेत रहेकी आयोजनाकी सचिव शान्ति महर्जनले भनिन्, 'दलहरू त फुट्दै जालान् तर गाउँको विकासका लागि हामी फुट्नु हुँदैन ।'
चण्डेश्वरी र सरस्वती दुई गाविसलाई संयुक्तरूपमा चिनिने चाकुका लागि प्रख्यात ठाउँ हो । राजनीतिक सहमतिका लागि स्वयं आफ्ना दलका नेताहरूलाई गतिलो पाठ हुने यिनीहरूको ठम्याइ छ । 'केन्द्रमा दलहरूको विवाद भए पनि हाम्रो विकास निर्माणमा कुनै विमति छैन,' खानेपानी आयोजनाका अध्यक्ष तथा कांग्रेस जिल्ला कार्यसमिति सदस्य डंगोल भन्छन्, 'नेताहरूको झगडा गराउने र बेवकुफ बनाउने काम गर्दा रहेछन् । झगडा राम्रो होइन भन्ने चेतनाको विकास र मिल्नुबाहेक अर्को विकल्प छैन भनेर स्थानीय विकासमा एकजुट भएर लागेका छौं ।'
एमाले क्षेत्रीय सदस्य तथा आयोजनाका कोषाध्यक्ष श्रेष्ठको बुझाइमा राजनीतिक उग्रता ०४६ को जनआन्दोलन सफल भएलगत्तै ह्वात्तै चुलियो । त्यही बेला हो, पानी बाराबारदेखि हानाहानसम्म चल्यो । शान्ति वार्तासँगै माओवादी खुला राजनीतिमा आएपछि टोखामा दलीय उग्रता सेलाउँदै गएर विकास निर्माण तात्न थालेको छ ।
'राजनीति केका लागि ? जनताका लागि हो भने हामी किन लड्ने ?' श्रेष्ठ भन्छन्, 'दलका नेताहरू खाली लड्छन् भन्ने भावना छ, हामी टोखाको विकासका लागि त्यस्तो हुन दिंदैनौं ।' टोखामा यूएन ह्याविटाट, काठमाडौं जिविस, चण्डेश्वरी तथा सरस्वती गाविस र आवासका लागि सहयोग समूह -लुमन्ती) को आर्थिक तथा प्राविधिक सहयोग र जनश्रमदानद्वारा आयोजना सम्पन्न हुन लागेको हो ।
निःशुल्क रूपमा वितरित करिब ३२ धाराको पुरानो खानेपानी समितिका अध्यक्ष शुक्रनारायण श्रेष्ठले नयाँ आयोजना सञ्चालनमा आफ्नो विमति भए पनि दलीय सहमतिलाई भने नकारेनन् । 'केन्द्रका दलहरूको जस्तो स्थानीय रूपमा विरोध छैन,' उनी भन्छन्, 'घुमाउरो पारामा विरोध गरे पनि विकासका लागि प्रत्यक्ष विरोध गर्दैनन् ।'
कान्तिपुरसँग शुक्रबार खानेपानी आयोजनाको कार्यालयमा भएको भेटघाटमा कांग्रेस, एमाले, माओवादी र नेमकिपाका स्थानीय नेता तथा आयोजनाका पदाधिकारीले आफूहरू विकासका लागि टुटफुट नहुने दृढता देखाए । 'माथि दलहरू किन मिल्दैनन्, किन संविधान बन्दैन त्यो बेग्लै हो तर हामी मिलेरै काम गर्छौं,' माओवादीका चण्डेश्वरी गाविस सेक्रेटरी तथा आयोजनाका उपाध्यक्ष समीर श्रेष्ठले भने, 'राजनीति देश र जनताका लागि हो भने मिल्न सक्नुपर्छ ।'
सडक विस्तार, पोखरी संरक्षण, टोल सरसफाइ लगायतका काम स्थानीय दलहरूको सक्रिय सहभागिता रहेको जनाउँदै नेमकिपा सरस्वती गाउँ इकाइ कमिटी सदस्य तथा आयोजनाका सहसचिव सानुबाबु श्रेष्ठले दलीय सहभागिताबिना विकास गाह्रो भएकाले सहमति गरेरै अघि बढ्ने बताए ।
![]() |