विद्यालय निर्देशिका कार्यान्वयन नगर्ने : प्याब्सन



काठमाडौं, फागुन २८ - निजी तथा आवासीय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्देशिकालाई अवज्ञा गर्ने बताएको छ। सरकारले जारी गरेको निर्देशिका संशोधनसहित विद्यालयमैत्री नभएसम्म यसलाई अवज्ञा गरिने प्याब्सनद्वारा आज आयोजित पत्रकारसम्मेलनमा जानकारी गराइएको हो।  
  शिक्षामन्त्रालयले यही फागुन ११ गतेदेखि सो निर्देशिका लागू गरेको थियो। आफूहरुले दिएको सुझाव निर्देशिकामा समावेश नगरिएको भन्दै प्याब्सनले शीध्र संशोधनको मागसमेत गरेको छ।
निर्देशिका संस्थागत विद्यालयको हितमा नभएको भन्दै प्याब्सनले एकतर्फी रुपमा जारी गरेको निर्देशिका पालन नगर्न आफ्ना सदस्य विद्यालयहरुलाई आग्रहसमेत गरेको छ।
प्याब्सन अन्तर्गतका करिव १० हजार संस्थागत विद्यालयहरुमा करिव २० लाख विद्यार्थी अध्ययन गरिरहेका छन्। यी विद्यालयहरुमा करिब एक लाख ५० हजार शिक्षक तथा शिक्षिकाले अध्यापन गराइराखेका छन्। साथै यस्ता विद्यालयमा करिब १० अर्बको लगानी भएको प्याब्सनको भनाइ रहेको छ।
सो निर्देशिकामा संस्थागत विद्यालयहरुले ४५ आरक्षण छात्रवृत्ति दिनुपर्ने, कक्षामा २२ जना विद्यार्थीभन्दा बढी राख्न नहुने, कक्षा कोठाको साइज, कक्षा कोठामा दुईवटा ढोका हुनुपर्ने, अतिरिक्त पाठ्यपुस्तक अध्यापन गराउन परेमा स्वीकृति लिनुपर्ने प्रावधान राखिएको छ।




पत्रकारसम्मेलनमा प्याब्सनका अध्यक्ष डा बाबुराम पोखरेलले शिक्षा क्षेत्रमा प्याब्सनले गरेको योगदानलाई निस्तेज र निरुत्साहित पार्नेगरी ल्याइएको निर्देशिका परिमार्जन नगरिएसम्म लागू हुन नदिने बताए ।
प्याब्सनका सल्लाहकारद्वय उमेश श्रेष्ठ र राजेश खड्काले सरकारले प्याब्सनले दिएको सुझाव निर्देशिकामा समावेश गरेमा लागू गर्न तयार रहेको जानकारी दिए । रासस