'रासस'को समाचार अनधिकृतरुपमा प्रयोग गरेको भन्दै प्रेस काउन्सिलमा उजुरी


काठमाडौं, फागुन २८- राष्ट्रिय समाचार समिति (रासस)ले उत्पादन गरेका समाचार अनधिकृत रुपमा प्रयोग गरेका १० वटा पत्रिकालाई कारबाहीको माग गर्दै आज प्रेस काउन्सिल, नेपाललगायतका सम्बन्धीत निकायमा उजुरी दर्ता गरिएको छ।  


पत्रकार आचारसंहिताविपरीत र प्रतिलिपि अधिकार ऐन २०६३ को ठाडो उल्लङ्घन गरेको अभियोग लगाउँदै वीरगन्जबाट प्रकाशित भएका दैनिक तथा साप्ताहिक पत्रिकाको नाममा उजुरी दर्ता गरिएको राष्ट्रिय समाचार समिति बजार शाखाले जनाएको छ।
राष्ट्रिय समाचार समितिबाट उत्पादित विभिन्न समाचार राससको ग्राहक नै नबनी हु-बहु प्रकाशित गरिएको सामग्रीउपर प्रचलित ऐननियम र कानुनको परिधिभित्र रही कारबाही गरीपाउँ भनी राससले प्रेस काउन्सिल नेपाल, सूचना विभाग, नेपाल पत्रकार महासङ्घ केन्द्रीय कार्यालय, तिलगङ्गामा उजुरी दर्ता गरिएको बजार शाखाका प्रतिनिध शशीधर अधिकारीले बताए। 
वीरगञ्जबाट प्रकाशित भइरहेका क्रमशः प्रबन्ध निर्देशक रमेश यादव र सम्पादक सन्तोष पटेल रहेका जन भण्डाफोर दैनिक वर्ष ७ अङ्क २०८ पेज नं. १, सङ्घीयतासहितको संविधानका लागि मोर्चा अडिक, प्रकाशक सविता चालिसे (उपाध्याय) र सम्पादक कमलकुमार उपाध्याय रहेको कृपा दैनिक, वर्ष ९ अङ्क ३४९ पेज ३, मा एसियन लाइफले बोनस दिने, प्रकाशक कमलबहादुर श्रेष्ठ, सम्पादक सुरेन्द्र ठाकुर रहेका वीरगञ्ज कलेक्सन साप्ताहिक वर्ष ६ अङ्क २७ पेज ३ मा प्रकाशित गौतमबुद्ध विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको बनाउने तयारी अन्तिम चरणमा, भन्ने समाचार अनधिकृत रुपमा हु-बहु राससको बुलेटिनबाट साभार गरी प्रकाशन गरिएको हो। 
त्यसैगरी, वीरगञ्जबाटै प्रकाशित भइरहेका प्रकाशक तथा सम्पादक विजय तिवारी रहेका दैनिक सत्य सन्देश वर्ष २० अङ्क १८३ पेज ४ मा प्रकाशित सङ्घीयतासहितको संविधानका लागि मोर्चा अडिक, प्रकाशक तथा सम्पादक पवन तिवारी रहेका लोक टाइम्स दैनिक वर्ष २ अङ्क १७२ पेज ४ मा प्रकाशित वैशाख जेठमा चुनाव सम्भव छैन, प्रकाशक तथा सम्पादक महेशचन्द्र गौतम रहेका राष्ट्रिय दैनिक वर्ष ७ अङ्क ३३१ पेज ४ मा प्रकाशित पानी सुकेपछि वन्यजन्तुको बासस्थान हराउँदै भन्ने समाचार उल्लिखित पत्रिकाले समेत हु-बहु साभार गरी प्रकाशन गरेका थिए। 
अन्य वीरगञ्जबाट प्रकाशित पत्रिकामा प्रकाशक तथा सम्पादक अमित शाह रहेका वीरगञ्ज समाचार वर्ष ४ अङ्क ३०२ पेज ४ मा प्रकाशित श्रमिकको उचित व्यवस्था जरुरी छ। प्रकाशक तथा सम्पादक एसके चौरसिया रहनुभएको प्रतिफल दैनिक वर्ष ४ अङ्क २३४ पेज १ मा प्रकाशित सङ्घीयतासहितको संविधानका लागि मोर्चा अडिक, प्रकाशक तथा प्रधानसम्पादक फजिल अहमत रहेका देशको अस्तित्व दैनिक वर्ष ४ अङ्क १५४ पेज १ मा प्रकाशित चार अपहरण कारी पक्राउ, प्रधानसम्पादक श्याम वञ्जारा रहेका नारायणी दैनिक वर्ष ११ अङ्क १९३ पेज १ मा प्रकाशित श्रमिकको उचित व्यवस्था जरुरी छ नामबाट २०६९ साल माघ महिनाको विभिन्न गतेमा प्रकाशित समाचार राष्ट्रिय समाचार समिति (रासस)को ग्राहक नबनी प्रतिलिपि अधिकार ऐन २०६३ को बर्खिलाप गरी हु-बहु सम्प्रेषण गरेकाले कानुनबमोजिम उचित कारबाही गरिदिनु हुन माग गर्दै उजुरी दर्ता गरिएको हो।
उजुरीपत्र ग्रहण गर्दै सूचना विभागका उपमहानिर्देशक भरत ढुङ्गाना र प्रेस काउन्सिल नेपालका प्रशासकीय अधिकृत जगदीश पोखरेलले सरकारबाट दोहोरो फाइदा लिन पल्केको पत्रिका र त्यसका प्रकाशकहरुलाई उजुरीका आधारमा छानबिन गरी कारबाही गरिने बताए। रासस