मिथिला परिक्रमामा तिर्थालु कुटिए


जनकपुर, चैत ९- ऐतिहासिक मिथिला मध्यमा परिक्रमाको दशौं दिन बिहीबार धनुषाधाममा समान्य विवादमा प्रहरीले लाठी चार्ज गरेपछि आक्रोशित साधुसन्तले आधा दर्जन घर जलाइदिएका छन्।
धनुषाको पर्वत्ताबाट बिहीबारको रात्रि विश्रामका लागि बिहानै धनुषाधाम आइपुगेका परिक्रमा यात्री र स्थानीयबीच विवाद भएको थियो।



धनुषाधाम पुगिसकेपछि दिउसोको खाना बनाउन चुल्होका लागि परिक्रमाबासी एक बालक नजिकको घर अगाडिबाट ईंटा लिन गएपछि घरधनीले कुटेका थिए। सुरुमा त्यहीं ईंटा खोसेर बालकलाई कुटेकी घरधनी महिलाले विवाद बढेपछि घरबाट हँसिया निकालेर हात काटिदिएपछि तनाव बढेको धनुषाधाम प्रहरी चौकीका इन्चार्ज पवन झाले बताए।
तनाव सुल्झाउन पुगेको प्रहरीले लाठी चार्ज गरेपछि दुई जना यात्री पनि घाइते भए। लाठी चार्जपछि आक्रोसित परिक्रमावासी साधुसन्तहरुले प्रहरीकै अगाडी बालक कुट्ने महिलाको घरमा आगो सल्काइदिए। बन्चरो, भाला र त्रिशुल जस्ता हतियारधारी सन्तले प्रहरीलाई नियन्त्रणमा लिएर घर जलाएको प्रत्यक्षदर्शी श्याम राउतले बताए।

-->


बालक कुट्ने महिलाका पति सद्दाम हुसेनलाई प्रहरीले नियन्त्रणमा लिएपछि केही क्षणका लागि अवस्था शान्त भएको थियो। घटना साम्य भएपछि प्रहरी टोली इलाका प्रहरी कार्यालयतर्फ हिँडेपछि सद्दामले धनुषाधाम चोकमा सञ्चालन गरेको कुखुरा फ्रेस हाउसमा पनि साधुहरुले आगो लगाइदिए। कठघरामा सञ्चालित मासु पसलमा आगो लगाए लगत्तै धनुषा प्रहरीका डिएसपी नरेन्द्र उप्रेती र सशस्त्र प्रहरीका डिएसपी कृष्ण कर्माचार्य लगायतको टोली पुगेपनि साधुसन्त सामु उनीहरु चुप लागे।
घटनास्थलमै जनकपुर नगरपालिकाको वारुण यन्त्र रहेपनि प्रदर्शनकारी साधुसन्तको अवरोधका कारण आधा घण्टासम्म आगो निभाउन प्रहरीले सक्रियता देखाउन सकेन। मासु पसलमा रहेको ग्यास सिलिण्डर विष्फोटपछि बजार क्षेत्रका आधा दर्जन बढी घरमा आगो सल्केको थियो। सिलिण्डरको माथिल्लो भाग पड्केकाले मानवीय क्षति हुनबाट जोगिएपनि त्यसबाट फैलिएको आगो नियन्त्रण गर्न वारुण यन्त्र र स्थानीयलाई डेढ घण्टा लागेको थियो। आगोले जलेर हुसेन लगायत स्थानीय ६ जनाको पसल तथा घर गरी १५ लाख बढीको क्षति भएको प्रहरीले जनायो।
घटनामा स्थानीय दिपेन्द्र सिंहको फ्रेस हाउस, सद्दाम हुसेनको घर तथा फ्रेस हाउस, श्री महराको बस्ने घर तथा साइकल पसल, दुःखी कापर र चन्देश्वर कापरको खाजा तथा राजकुमार साहको साइकल पसल खरानी बनेको छ। नगरपालिकाको एक मात्र वारुण यन्त्र रहेकाले आगो नियन्त्रणमा लिन समय लागेको प्रहरीले बतायो।
परिक्रमा यात्रामा नेपाल तथा भारतका ५० हजार भन्दा बढी साधुसन्त, महिला तथा बालबालिका सहभागी थिए। धनुषाधामको अवस्था साम्य पार्न झन्डै दुई सय प्रहरी परिचालन गरिएको थियो।
भारतका विख्यात साधु नागाबाबाले सद्दामको घर जलाइएको स्थानमा हनुमानजीको झण्डा गाडेका छन्। उनले उक्त झण्डा उखलेर अर्को घर बनाए अर्को वर्षको परिक्रमामा पुनः आगो लगाइदिने चेतावनी दिए।
परिक्रमा हेर्न हेटौडाबाट आएका क्षेत्रीय प्रशासक उद्धवप्रसाद बास्कोटाले पनि घटनावारे स्थानीय प्रहरीसँग जानकारी लिएका थिए।