जाली नागरिकता बनाउने थुनामा


सर्लाही, चैत ९ - जिल्ला प्रशासन कार्यालयबाट किर्ते नागरिकता लिएका दुई बर्मेली नागरिकसहित तीन जनालाई अदालतले थुनामा राख्ने आदेश दिएको छ। खुटौना-३ ठेगाना देखाएर नागरिकता लिएका मो.नुरुल मिया र पिपरीया-४ ठेगाना देखाएर नागरिकता लिएका मो.अइउव अंसारी थुनामा पुगेका हुन्।


दुवैलाई नागरिकता बनाउन मुख्य भुमिका खेलेका औरही-१ का अबास खान बैठालाई समेत थुनामा पठाइएको जिल्ला प्रहरीका अपराध अनुसन्धान अधिकृत भुवनेश्वर साहले बताए। उनीहरुलाई नागरिकता ऐन अनुसार पाँच वर्षसम्म जेल र एक लाख जरिवान हुन सक्ने उनले बताए।
बर्माबाट नेपाली नागरिकता लिएका दुवै जना साउदी अरब जान एमआरपी लिन सर्लाही आउँदा फागुन १८ गते पक्राउ परेका थिए। नागरिकता बनाइ दिने गिरोहका मुख्य अबासलाई पक्राउ गरी प्रहरीले जिल्ला प्रशासन कार्यालयका तीन कर्मचारी र एक गाविस सचिवलाई नियन्त्रणमा लिएको थियो।
किर्ते नागरिकताको

-->


प्रतिलिपि दिएको आरोपमा पक्राउ परेका जिल्ला प्रशासन कार्यालयका अधिकृत शिवनारायण लालकर्ण, छविलाल विश्वकर्मा, सुब्बा प्रमोद यादव र खुटौना गाविस सचिव हरिशंकर साहलाई सरकारी वकिल कार्यालयले विभागीय कारवाहिका लागि सिफारिस गरे पछि छुटेका छन्। तर नागरिकता दिने दुई अधिकृत र कार्यालय सहयोगिलाई नागरिकता ऐन अनुसार कारवाहिका लागि सिफारिस गरिएको अनुसन्धान अधिकृत साहले बताए।
नागरिकता दिने तत्कालिन अधिकृत सुर्यप्रसाद भट्टराई, नरबहादुर खडका र कार्यालय सहयोगिलाई कारवाहि पक्रिया अगि बढाइको प्रहरीले जनाएको छ। सर्लाहीबाट २० भन्दा बढी बिदेशीले किर्ते नागरिकता लिएको विषयमा प्रहरी निरीक्षक भुवनेश्वर साह नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस