ठुली राइनी सोध्छिन् – फेरि चुनाव हुन आँटेको छ र ?


केही नपाए पनि फेरि भोट दिन जनता राजी

५ चैत, काठमाडौं । प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा अन्तरिम चुनावी मन्त्रिपरिषद गठन भएलगत्तै चुनावी माहोल शुरु भएको छ । मुख्य चार दलका शीर्षनेताले एकै स्वरमा अब देश चुनावमा होमियो भनिरहेका छन् । धान रोप्ने असार महिना या धान थन्क्याउने मंसिर महिना, कहिले चुनाव हुन्छ त्यो त निश्चित छैन । नेताहरुलाई भने चुनाव लागिसकेको छ ।
भोट माग्ने नेताहरुलाई



मात्र चुनाव लाग्यो कि भोट दिने जनतालाई पनि लाग्न थाल्यो ? यो कुरा जान्न अनलाइनखबरले राजधानीमा ज्याला मजदूरी गरेर गुजारा गर्ने केहीलाई भेटेको छ । शायद जनता जनार्दन भनेको यही भएर होला, अनलाइनखबरको प्रश्नमा प्रायः सबैको गुनासो एकैखालको थियो- ‘पहिले भोट दिएर केही पाइएन । तर, चुनाव भयो भने फेरि भोट हाल्न जानैपर्ला ।’
5कसलाई पो दिने हो खै
ललितपुर घर भएकी यी आमैलाई नाम सोध्दा भन्नुभयो-’ठूली राइनी ।’ ‘राई’ होला नि भन्दा उहाँले फेरि भन्नुभयो-’हैन के, राइनी हो राइनी ।’ राजधानीमै घर भए पनि दैनिक ज्याला मजदुरी गरेर गुजारा गर्ने उहाँलाई पुरुषको थर राई र महिलाको चाहिँ राइनी हुन्छ भन्ने नारीवादी चेतना रहेछ । राइनी आमैले यसअघिका हरेक चुनावमा भोट दिनुभएको छ ।
तर कसलाई किन दिएको भन्ने चाहिँ पत्तो भएन । ‘सबैले भोट दिनुपर्छ भने, गएँ दिएँ’ आमैले भन्नुभयो-’खै कसलाई दिएँ त्यो चाहिँ थाहा छैन ।’ अब फेरि चुनाव भए अझै भोट दिने उहाँले बताउनुभयो । ‘फेरि चुनाव हुन आँटेको छ र ?’ उहाँले जिज्ञासा राख्दै भन्नुभयो-’हुने भयो भने त हल्ला गर्लान्, म बुढीलाई नै जाऔं भोट दिन भन्लान्, अनि जानुपर्ला नि ।’
1खै के होला र ?
भक्तपुरका लोकबहादुर तामाङ राजधानीमा गाडी चलाउने काम गर्नुहुन्छ । गएको संविधानसभा चुनावमा उहाँले भोट हाल्नुभयो । ‘भोट हालेपछि हामीलाई सुख हुने गरी संविधान बन्छ भने, तर खै त ?’
उहाँले प्रश्न गर्दै भन्नुभयो-’अब पनि फेरि के होला र । त्यतिका समय हुँदा त केही गरेनन् ।’ उहाँलाई असारमा चुनाव होला भन्ने पनि विश्वास छैन । ‘असारमा त के होला र, ढीलो चाँडो भैहाल्यो भने भोटचाहिँ दिनुपर्ला ।

3भयो भने दिनैपर्ने होला नि
मकवानपुरका शंकर केसी एउटा सरकारी कार्यालयमा मजदूरी गर्नुहुन्छ । असारमा चुनाव होलाजस्तो उहाँलाई लागेको छैन । ‘असारमा त के होला र’ उहाँले आशंका व्यक्त गर्नुभयो । चुनाव भएमा भोट दिनुपर्ला भन्ने उहाँले सोचाइ बनाउनुभएको छ । ‘जान्न भन्दा पनि त्यो बेला जान मन लागिहाल्छ ।’
तर, नेताहरुको व्यवहारप्रति भने उहाँलाई पटक्कै चित्त बुझेको छैन । ‘पहिले केही गर्लान् भनेर भोट दिइयो, तर केही गरेनन्’ उहाँले भन्नुभयो-’लुछाचुँडी मात्र गरेर देशलाई यो अवस्थामा पुर्याए ।’
4रहर लाग्दा उमेर पुगेन, उमेर पुग्दा रहर लागेन
ललितपुर खुमलटारकी सम्झना थापा ३६ वर्ष हुनुभयो । तर, उहाँले अहिलेसम्म भोट हाल्नुभएको छैन । अहिले चुनावको हल्ला चल्न थाल्दा पनि उहाँलाई भोट हाल्ने रहर छैन ।
‘रहर लागेका बेला उमेर पुगेको छैन भनेर हाल्न दिएनन्, अहिले उमेर पुगेका बेला भोट हाल्ने रहर नै लागेन’ उहाँले भन्नुभयो । गएको संविधानसभा चुनावमा सबैले भोट हाल्नुपर्छ भनेको उहाँले सुन्नुभएको थियो । ‘भनेका त थिए, तर गइँन’ उहाँले भन्नुभयो-’भोट नहालेर ठिकै गरेछु, खै हालेर के भो त ?’
2सोचेजस्तो भएन, गरीबलाई मारे
काठमाडौं गोलढुंगाका शिवप्रसाद फुयाँललाई गणतन्त्र आएपछि नेताहरुले केही गर्लान् कि जस्तो लागेको थियो । अब देशमा नयाँ संविधान आउँछ र गरीबको दिन फिर्छन् भनेर पहिलो संविधानसभा चुनावमा भोट पनि दिनुभयो । ‘तर सोचेजस्तो भएन, भाँडभैलो मच्याए’ फुयाँलले भन्नुभयो-’देशमा लुटतन्त्र मच्चाएर गरीबलाई मारे ।’
अहिले चुनावको हल्ला चले पनि उहाँलाई चुनाव हुन्छ भन्ने पत्यार लागेको छैन । ‘खै निकोचाल देख्दिन म त चुनावको’ उहाँले आशंका गर्दै भन्नुभयो-’हुन त होला, खै कहिले कहिले ।’

6दियो, सिद्धियो !
ललितपुर बाडेगाउँकी मैया महर्जनलाई नौलो मान्छेसँग कुरा गर्दा लाज लाग्छ । लाज माने पनि उहाँले गएको संविधानसभा चुनावमा भोट हाल्नुभयो । ‘जान मन त लागेको थिएन, सबैले जाउँ भनेर गएँ, हालियो । तर केही भएन ।’ भोट किन दिएको भन्ने समेत थाहा नभएको उहाँले बताउनुभयो । ‘खै किन दिएँ, दिएँ, दियो, सिद्धियो !’-उहाँले भन्नुभयो ।
अहिले चुनावको कुरा चल्न थालेको उहाँले थाहा पाउनुभएको छैन । ‘खै हल्ला गरेको त सुनिएको छैन, भयो भने भोट हाल्न जानुपर्ला’-उहाँले भन्नुभयो ।