अवैध आयात गरिएका सामान बेच्ने थलो बन्दै मेला
![]() |
२२ फागुन, काठमाण्डौं । व्यवसाय प्रवर्द्धनका लागि आयोजना गरिने व्यापार मेला व्यापरीले अवैध रुपमा भित्र्याएका सामान बिक्री गर्ने थलो बन्न थालेका छन् । राजस्व नतिरी गैरकानुनी रुपमा आयात गरिएका सामान बिक्री गर्न यस्ता मेला सहज हुने भएकाले व्यापारीले मेलाको दुरुपयोग गरेका हुन् ।
आन्तरिक राजस्व विभागका महानिर्देशक टंकमणि शर्माले राजस्व चुहावट रोक्न व्यापार मेलातर्फ ध्यान दिन जरुरी रहेको जानकारी सम्बन्धित निकायलाई गराएका छन् । राजस्व समीक्षाका लागि आइतबार अर्थ मन्त्रालयमा आयोजित बैठकमा उनले चोरी पैठारी गरी ल्याएका मालबस्तु व्यापार प्रवर्द्धनका लागि आयोजना हुने मेला तथा महोत्सवमा बिक्री हुने गरेको पाइएको बताए ।
राजस्व चुहावट नियन्त्रणका लागि यस्ता मेलामा समेत रावस्व प्रशासनको उपस्थिति हुनुपर्ने आवश्यकता उनले औल्याएका छन् । माघ महिनाको राजस्व समीक्षा तथा राजस्व चुहावट नियन्त्रणका लागि चालिनुपर्ने कदमका बारेमा छलफल गर्न बैठक आयोजना गरिएको हो । बैठकमा अर्थमन्त्री बर्षमान पुन, अर्थसचिव शान्तराज सुवेदी, गृहसचिव नवीनकुमार घिमिरेर र सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त सहभागी रहेको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
![]() |