शक्तिको गोल्डेन पिरियड

चैत ५ - शक्ति गौचन खेल जीवनको दोस्रो इनिङ्समा मस्त छन्। १२ वर्षे क्रिकेट यात्राको 'गोल्डेन पिरियड' मा छन्, उनी। १५ महिना पछाडि फर्किदा शक्तिको अवस्था सुखद थिएन, सम्झनाले मात्र भक्कानिन् थाल्छन्। उनी 'ब्ल्याक डे' तिर पनि फर्कन चाहदैनन्। 
सन् २०११ को एसिसी ट्वान्टी-२० कप नेपालमा हुने निर्णय एक वर्ष पहिलेकै थियो। एक-डेढ महिना तयारीको समय छुट्याउने नेपालको परम्परा नै हो। शक्ति पृथक तयारी गर्दै थिए। उनको तयारी ६ महिनाअघि गृहनगर भैरहवामा सुरु भइसकेको थियो। २०१० को ग्वाङ्झाउ एसियाली खेलकुदमा नपरेकाले शक्ति 'इख' लिएर तयारीमा जुटेका थिए। यसपाली पनि उनको भागमा खुसी परेन। अन्तिम छनोटमा उनी फालिए। 
घरमै हुने प्रतियोगिताको अन्तिम छनोटबाट फ्याकिनुलाई उनले 'ब्ल्याक डे' मानेका छन्। 'वन्द प्रशिक्षण सिविरका लागि प्रारम्भिक छनोटमा परिसकेपछि अहिलेसम्म अन्तिम सूचीमा फालिएको थिइनँ। एसियाली खेलकुदको टोलीमा प्रारम्भिक छनोटमै परिन, म नसमेटिएको खवर घरमै आएको थियो,'


शक्ति विगत सम्झन्छन्, 'चित्त दुखेको थियो, तर बन्द प्रशिक्षणमा मेहनत गर्नुपरेन भनेर मन बुझाए। त्यतिबेला म टोलीमा पर्न हकदार थिए, त्यसलाई प्रमाणित गर्न एसिसी ट्वान्टी-२० मेरालागि राम्रो अवसर थियो। घरेलु मैदान र स्पिनर सुहाउने माहोल भएकाले मैले आफ्नो क्षमता देखाउने योजना बनाएको थिए।' 

उनले अगाडि भने, 'एकदमै मेहनत गरेको थिएँ। राती पनि म भैरहवाको स्टार क्रिकेट एकेडेमीमा अभ्यास गर्थें। एकेडेमीमा बत्ती बलेको देखेर सबै छक्क पर्थें।' नेपाली टोलीले घरेलु मैदानमै अर्को अन्तर्राष्ट्रिय प्रतियोगिता कहिले खेल्ने निश्चित थिएन। त्यसैले एसिसी ट्वान्टी-२० आफ्नै समर्थकको बीचमा खेल्न पाउने सम्भावनाले उनलाई उत्साहित बनाएको थियो। शक्ति यही कारण जोशमा थिए।
शक्तिको जिन्दगीमा यो सबैभन्दा पीडादायी क्षण थियो। त्यसैले होला, टोलीमा नपरेपछि खेलजीवनमा दोस्रो पटक उनको आँखाबाट भेल बग्यो। 'हामीले २००५ मा युएईलाई तीनदिवसीयमा हराएका थियौं। तर मेरो बलमै छक्का प्रहार गरी युएई हामीसँग हारेर पनि अन्तरमहादेसीय कपलाई आधा अंकले छनोट हुँदा म पहिलो पटक रोएको थिएँ, त्योबेला टोलीका सबैजसो खेलाडी रोएका थिए,' शक्ति सम्झन्छन्, 'एसिसी ट्वान्टी-२० कपलाई टोली छनोट भएको भोलिपल्ट म कीर्तिपुरमा गएर टोलाइ रहंे। युएईसँगको छक्का पछि मेरो आँसु फेरी रोकिएन। महेश क्षेत्रीको पनि मसँगै नछानिँदा यस्तै स्थिति थियो।'
अब खेल्ने कि नखेल्ने। नछानिएपछि शक्ति खेलाडी जीवनको सबभन्दा दोधारे मोडमा पुगे। उनकै अनुसार स्थिति ५०-५० थियो। भन्छन्, 'म ट्वान्टी-२० बाट संन्यासको सोचमा पुगेको थिएँ। बुवा-आमाले क्रिकेट खेलेर काम छैन भन्न थालिसक्नुभएको थियो, तर श्रीमती कविताले धेरै सम्झाइन्। नेपाल अन्तिम चरणमा पुग्यो भने तपाईको आशा हुन्छ भनेकी थिइन्। मेरा लागि त्यो प्रेरणा बन्यो। नेपालको खेल टेलिभिजनमै हेरेर चित्त बुझाएँ। किर्तिपुर धाउने मनोबल थिएन।'
'छनोटकर्ताले आफूलाई नबुझे्र खेलजीवन सिध्याउन खोजे कि!' शक्तिलाई लाग्न थालेको थियो। नयाँ प्रशिक्षक (नेपाली प्रशिक्षकका रूपमा पुबुदु दासानायकेको पहिलो आधिकारिक प्रतियोगिता) भएकाले टोलीमा फर्कन सजिलो नभएको शक्तिले बुझेका थिए। ५० ओभरमा उनले थोरै सम्भावना देखेका थिए। ट्वान्टी-२० मा सम्भावना कम थियो। शक्तिको स्थानमा छानिएकाले राम्रो गर्न सकेनन्। नेपाल सेमिफाइनल पुगेर पहिलोपल्ट आइसिसीको प्रतियोगितालाई छानियो। युएईमा विश्व ट्वान्टी-२० लाई शक्ति टोलीमा फिर्ता भए। 
शक्ति भने अझै डु-ओर-डाईकै स्थितिमा थिए। शक्तिको दोस्रो इनिङ्स र 'गोल्डेन पिरियड' यहीबाट सुरु भयो। गतवर्ष विश्व ट्वान्टी-२० छनोटमा डेनमार्कसँग दुबईमा शक्तिले ह्याटि्रक गरे। पहिलोपल्ट नेपाली पुरुष खेलाडीले अन्तर्राष्ट्रिय क्रिकेटमा ह्याटि्रक गर्ने सफलता शक्तिले आफ्नो नाममा लेखाए। पूरै प्रतियोगितामा शक्तिले १६ विकेट लिए। नेपाल अविश्वसनीय प्रदर्शन गर्दै प्रतियोगितामा सातौं भयो। शक्ति र कप्तान पारस खड्का क्रिकइन्फोको उत्कृष्ट-११ खेलाडीमा छनोट भए।
'मैले पछिल्ला तीन वर्षमा पहिलो पटक असाधारण प्रर्दशन गरें। यो मैले एसिसी ट्वान्टी-२० लाई गरेको मेहनतको फल थियो। अर्बपति भएँ जस्तो लाग्यो,' शक्तिले भने। विश्व ट्वान्टी-२० छनोटमा ह्याटि्रक, क्रिकइन्फोको छनोट, उच्च विकेटकर्ता हुँदै इन्डियन प्रिमयर लिगको टोली राजस्थान रोयल्सको ट्रायलसम्म पुगे उनी। 
विश्व क्रिकेट लिग डिभिजन ४ सम्ममा शक्तिको सुपर स्टार छवि फर्किसकेको थियो। प्रतियोगितामा उनले १० विकेट लिए। मलेसियासँगको खेलमा उनको स्मरणीय प्रदर्शनको तथ्यांक १० ओभरमा ८ मेडन राख्दै २ रन खर्चेर ३ विकेटको थियो। नेपालको विजयक्रम र शक्तिको सफल बलिङ एसिसी ट्रफीमा पनि निरन्तर रह्यो। उनले युएईमा सबैभन्दा बढी १५ विकेट लिए। नेपालले पहिलोपल्ट युएईलाई हराउँदा शक्तिले समूह चरणमा ५ विकेट लिए। शक्तिका अनुसार उनले यो दोस्रो इनिङ्समा पाएको सफलता हो।
एसिसी ट्वान्टी-२०लाई शक्ति पुनरागमन मान्छन्। 'आफ्नै दर्शकमाझ मैले पुनः खेल्ने अवसर पाएको छु। त्यसमा म असाधारण प्रदर्शन गर्न चाहन्छु। शक्ति आएपछि रन रोक्छ, विकेट झार्छ भन्ने दर्शकमाझ स्थापित आशा छ। म त्यहीअनुरुप प्रदर्शन गर्न लाग्नेछु,' शक्तिले भने, 'प्रशिक्षकले घरेलु समर्थकअगाडि खेल्दा अफगानिस्तान र युएईलाई हराउने राम्रो अवसर मिल्ने बताउनुभएको छ। यो मौकाको सदुपयोग गरे हामीले उपाधि जित्छौं।'