जेपी गुप्ता आज जेल मुक्त हुँदै


रेग्मीलार्इ गुप्ताको प्रश्न : सम्पत्ति कति छ ?

गुप्ताले भने- अब मैले कहाँ उजुरी गर्ने ?

५ चैत, काठमाडौं । भ्रष्टाचारको अभियोगमा १३ महिना जेल बसेर छुटेका पूर्वमन्त्री जेपी गुप्ताले अन्तरिम चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई आफ्नो यथार्थ सम्पत्ति विवरण देखाउन चुनौती दिएका छन् । समर्थकहरुको नाराबाजी एवं फूलमालाका साथ डिल्लीबजार कारागारबाट सोमबार बिहान ११ बजे रिहा भएका नेता गुप्ताले मन्त्रिपरिषद् अध्यक्ष रेग्मीलाई सरकार प्रमुख बनाउने गरी चार दलवीच भएको सम्झौताको समेत विरोध गरेका छन् ।
‘आजको प्रधानमन्त्री खिलराज रेग्मीलाई पनि मेरो उही चुनौति स्वीकार्न सादर आग्रह गर्दछु ।’- गुप्ताको भनाइ छ- ‘रेग्मी नै प्रधान न्यायाधिश रहेको अदालतले जुन मापदण्डका आधारमा


मेरो पुख्र्यौली सम्पतिको र सार्वजनिक पदमा रहदाँको मेरो आय र वचतको मूल्यांकन गर्‍यो, शतप्रतिशत सोही आधारमा उनको पाल्पा जिल्ला पोखराथोक, धोवादीस्थित सम्पतिदेखि न्यायाधीशका रूपमा आजसम्म आर्जेको आय र वचतको मूल्यांकन गरी आफुलाई स्वच्छ शिद्ध गरोस् ।’
भ्रष्टाचारी नभएको जिकिर
समर्थकहरुको नाराबाजी र अबीरजात्रावीच रिहा भएका गुप्ताले आफू भ्रष्टाचारी नभएको जिकिरसमेत गरेका छन् । ‘मन्त्रीका रूपमा मेरो कुनै काम र निर्णयलाई अख्तियारले तथा अदालतले गलत सावित गरेको छैन । मैले कसैसंग घुस वा रिश्वत लिएको भन्न सकेको छैन । मैले कुन बिषयमा र कहाँ भ्रष्टाचार गरेको हो-देखाउन सकेको छैन । जेलबाट निस्कने दिने गुप्ताद्वारा सार्वजनिक लिखित वक्तव्यमा भनिएको छ- ‘सर्वोच्च अदालतले गरेको अन्तिम फैसला पछि कुनै उपचार हुँदैन । उसको व्याख्या तथा विश्लेषण समेत कानूनसरह हुन्छ । यसैलाई आधार बनाएर भ्रष्ट भन्न खोजिएको हो ।”केही न्यायाधीशहरूको पूर्वाग्रही तथा दण्डाभिमुखी चरित्र, मधेस विरोधी मानसिकता र मनोगत एवं अबैज्ञानिक सम्पति विश्लेषणको आधारमा मलाई दण्डित गरिएको हो ।’
गुप्ताको तर्क छ- ‘नेपालमा कुनै व्यक्तिको आय, उस्को खर्च र हुने वचतको मूल्यांकन गरिने कुनै कानून र न्यायोचित्त मापदण्ड छैन । यसलाई स्वयं अदालतलेनै स्वीकारेको छ । मेरो विरुद्धको निर्णय समाजको व्यवहारिकता र तथ्यमा आधारित छैन । झन् एकैप्रकृतिका मुद्दामा अपनाइने समान निर्णयको प्राकृतिक सिद्धान्तको विपरित फैसला गरिएको छ ।’गुप्ताको भनाइ छ- ‘अब मैले कहाँ उजुरी गर्ने ? अदालतको फैसलाले मलाई लाञ्छित मात्र गर्‍यो । मेरो सार्वजनिक राजनीतिक जीवनलाई नोक्सान पुर्‍यायो । मैले जेलमा असंख्य कष्ट र अपमान भोगें ।’
११ बुँदे सम्झौता मृत्युपत्र
खिलराज रेग्मीलाई सरकार प्रमुख बनाउन एमाओवादी, कांग्रेस र एमालेसँग मिलेर मधेसी मोर्चाले गरेको हस्ताक्षरलाई गुप्ताले ‘मृत्युपत्र’को संज्ञा दिएका छन् । तर, आफू सशस्त्र संघर्षको पक्षमा नरहेको उनले स्पष्ट पारेका छन् । पहाडेहरुको विरोध गर्नुमात्रै मधेसवाद होइन भन्दै उनले मधेसी दलहरुले कांग्रेस, एमाले र एमाओवादीसँग गरेको सहकार्यको कडा शब्दमा विरोध गरेका छन् । ‘बरु ईश्वरको दरबारमा पापीको बास हुनसक्छ, तर माओवादी, काँग्रेस, एमालेको घरमा मधेसीको स्थान हुन सक्दैन ।’- गुप्ताको भनाइ छ ।गुप्ताले सरकारसँग वार्ता गरिरहेका मधेसी शसस्त्र समूहलाई पनि सिंहदरबारमा तारेख धाइरहेका नयाँ दलालको संज्ञा दिएका छन् ।
जेलबाट छुटेपछि आफू मधेसी समुदायको अधिकारका लागि राजनीतिक आन्दोलनमा सहभागी हुने उनले बताएका छन् ।गुप्ता ११ बजे जेलमुक्त हुने सुनेपछि फूलमाला र अबीर जात्राका लागि कारागार अगाडि बिहानैदेखि भेला भएका समर्थकहरुले उनको समर्थनमा नाराबाजीसमेत गरेका थिए । रिहा हुनुअगावै गुप्ताले सोमबार बिहानै इमेलमार्फत् आफ्नो लिखित मन्तब्य सार्वजनिक गरेका छन् ।