पूर्व लडाकुको दर्जा बाहेक सबै कुरा मिल्यो
![]() |
काठमाडौ, फाल्गुन २८ - प्रमुख चार दलबीच नेपाली सेनामा समायोजन भएका पूर्व लडाकुको दर्जा बाहेक अन्य सबै विवादस्पद विषयमा सहमति भएको नेताहरुले बताएका छन् । सोमबारको बैठक पछि नेताहरुले मंगलबार नै सर्वदलीय बैठक डाकेर सहमति कार्यन्वयनमा लैजाने बताए ।
बैठक पछि एमाओवादी उपाध्यक्ष तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले दलहरुबीच मंगलबार सर्वदलीय बैठक बोलाएर अहिलेसम्म भएका सहमतिहरु जानकारी दिएर पारित गराउने बताए । त्यसअघि नै चार दलले सहमतिलाई अन्तिम् रुप दिने पनि उनले बताए ।
श्रेष्ठले दिएको जानकारी अनुसार दलहरुबीच विवादित विषयहरु मध्ये सत्य निरुपण तथा मेलमिलाप आयोग सम्बन्धी विवादमा सहमति भएको छ । सबै पक्ष द्वन्द्व कालका गम्भीर मानव अधिकार उल्लंघनका विषयहरुलाई मुद्दा चलाउन सहमत भएका हुन् । यसअघि माओवादीले द्वन्द्वकालिन घट्नाहरुलाई नबल्झाएर मेलमिलापमा लैजानु पर्ने अडान राखेको थियो ।
प्रमुख चार दल प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा चुनावी सरकार बनाउने विषयलाई सहमति गर्न विगत करिव एक महिनादेखि लागि रहेका छन् । सबै पक्ष रेग्मी नेतृत्वमा चुनावी सरकार बनाउन सहमत भएपनि अन्य विषयहरु पनि प्याकेजमा सहमति गर्न खोज्दा सहमति हुन नसकेको हो ।
दलहरु बीच समायोजनमा गएका पूर्व लडाकुहरुको दर्जा निर्धारणमा सोमबार पनि सहमति हुन सकेको छैन । मंगलबारको सर्वदलीय बैठक अगाडी उक्त विवाद टुङ्ग्याइने श्रेष्ठले बताए । माओवादीले एक जना फुल कर्णेल र दुई जना लेफ्टिनेन्ट कर्णेलको दावी गरेको छ भने बिशेष गरेर त्यसमा एमालेको विरोध रहेको छ ।
![]() |