क्याम्पसलाई ८५ लाख
![]() |
स्याङ्जा, फाल्गुन २८ - भवन अभावमा पढाइमा समस्या भएपछि स्थानीय गाउँले चन्दा संकलन गरेर मिर्मी बहुमुखी क्याम्पसको भवन बनाउन जुटेका छन् । २१ कोठे भवन बनाउन २ करोडको योजना बनाएकामा गाउँलेले ८५ लाख जुटाइसकेका छन् । क्याम्पस भवन नहुँदा अहिले भगवती उच्च माविको
कोठामा कक्षा सञ्चालन गरिँदै आएको छ ।
भवन बनाउन श्रीगण्डकी ९ मिर्मीमा ३५ लाख खर्चेर १७ रोपनी जग्गा खरिद गरिसकिएको छ । मानविकी, व्यवस्थापन र शिक्षा विषयको पढाइ हुँदै आएको क्याम्पसमा भवन अभावमा
विद्यार्थी र शिक्षकले असुविधा भोगेपछि गाउँले भवन बनाउन लागिपरेका हुन् ।
क्याम्प्ासले भवन निर्माणमा सहयोग गरिदिन सबैलाई आग्रह गरेको छ । 'गाविसको एउटा मात्र क्याम्पस भएको हुँदा स्थानीयवासीले सक्दो सहयोग गरेका छन्,' क्याम्पस प्रमुख पिताम्बर भट्टराईले भने, 'भवन बनाउन चन्दा उठाउनुको विकल्प थिएन ।' क्याम्पसमा तीन सय विद्यार्थी र २६ शिक्षक छन् । क्याम्पसमा मानविकी, शिक्षा र व्यवस्थापन पढाइ हुँदै आएको छ । क्याम्पसले एक वर्षअघिदेखि भवन बनाउने अभियान थालेको हो । 'क्याम्पस निर्माणमा धेरै संघसंस्थामा सहयोग का लागि अपिल पनि गरियो,' क्याम्पसका लागि १ लाख १ हजार दिएका शिक्षक रामप्रसाद पाण्डेले भने, 'कतैबाट रकम संकलन हुन नसकेपछि चन्दा संकलनको अभियान सुरु गर्यौँ ।'
गाविसका ८ र ९ वडाका बासिन्दाले सहयोग गरेका छन् । २ सय ५० गाउँलेले ३ हजारदेखि २ लाखसम्म सहयोग दिएका
छन् । सन्तानको शिक्षाका लागि गाउँलेले रकम दिएपछि निर्माणको काम सजिलो भएको सञ्चालक समिति अध्यक्ष वेदनिधि भट्टराईले बताए । 'अब केही महिनाभित्रै निर्माण सुरु गर्छौ,' उनले भने, 'निर्माण क्रममा समेत चन्दा रकम संकलनलाई निरन्तरता दिने छौँ ।
क्याम्पस भवन निर्माणका लागि केही महिनाअघि विश्व विद्यालयले अनुदान रकममार्फत २५ लाख र श्रीकृष्णगण्डकी गाविसले ६ लाख दिएको थियो । ०६२ सालमा स्थापित क्याम्पसमा स्थानीयका साथै गुल्मी र पवर्तबाट समेत विद्यार्थी आउँछन् ।
![]() |