तीन दिनमा पाँच हजार जोर जुत्ता-चप्पल बिक्री


काठमाडौं, फागुन २८ (नागरिक)- चर्चित ब्रान्डका जुत्ता-चप्पल बिक्रेता विग विजय इन्टरप्राइजेजले राजधानीमा लगाएको 'ग्रान्ड सेल मेला'को तेस्रो दिनसम्म करिब ५ हजार जोर जुत्ता-चप्पल बिक्री भएका छन्। मेला आयोजकका अनुसार दैनिक १ हजार ५ सयदेखि २ हजार जोरसम्म जुत्ता-चप्पल बिक्री भइरहेका छन्।




   मेलामा दैनिक १५ हजारको हाराहारीमा अवलोकनकर्ता आइरहेका छन्। 'मेलामा ग्राहकको निकै आकर्षण छ,' आयोजक कम्पनीका बिक्री तथा बजार प्रमुख विष्णु पौडेलले भने, 'यहाँ आउनेले केही किनेर लाने गरेका छन्।'
उपभोक्तालाई एकै ठाउँबाट विशेष छुटसहित सस्तोमा तीनथरी चर्चित ब्रान्डका जुत्ता-चप्पल किन्ने अवसर दिन मेला आयोजना गरेको उनले बताए। मेलामा बाटा, सिग्नेचर र फिटराइट ब्रान्डका जुत्ता-चप्पल उपभोक्ताले एकै ठाउँबाट किन्न सक्छन्। कम्पनीले गत शुक्रबारदेखि राजधानीको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा 'ग्रान्ड सेल मेला' सुरु गरेको हो। मेला आगामी चैत ४ गतेसम्म चल्नेछ।
मेलामा तीनै ब्रान्डका स्पोर्टस्, क्याजुअल, पार्टीलगायत मोडलका जुत्ताहरु राखिएका छन्। यिनै मोडलका चप्पल पनि मेलामा उपलब्ध छन्। मेलामा महिला, पुरुष र बालबालिका सबैका लागि उपयुक्त जुत्ता-चप्पल किन्न सकिन्छ। 'ग्राहकलाई छुटको व्यवस्था गर्न यस्तो मेला लगाएका हौं,' पौडेलले भने, 'ग्राहकको आगमनले उत्साह थपेको छ।' कम्पनीले जाडोका जुत्ता-चप्पलमा भारी छुट दिएको छ।
गर्मी मौसमका लागि उपयुक्त हुने नयाँ मोडल पनि मेलामार्फत सार्वजनिक गरिएको छ। ग्राहकले २० देखि ७० प्रतिशतसम्म छुट पाउने छन्। मेलामा न्यूनतम ३ सय रुपैयाँदेखि ३ हजार ५ सय रुपैयाँसम्म पर्ने जुत्ता-चप्पल राखिएका छन्। मेलाभरमा करिब २० हजार जोर जुत्ता-चप्पल बिक्रीको लक्ष्य राखिएको छ।