गिर्दै छ मिस नेपालको साख

सन् १९९४ बाट सुरु भएको ‘मिस नेपाल’ को वुधबार १९ औं संकरण हुँदैछ । मिस नेपाल १९ औं संकरणसम्म आइपुग्दा यसको चहलपहल सेलाएको छ । केही बर्ष अघि सम्म ‘मिस नेपाल’ भन्ने वित्तिकै जुन खालको क्रेज थियो, त्यो आज छैन भन्दा पनि हुन्छ ।




मिस नेपाल’ को क्रेज सन् २०१० पश्चात घटेको हो । सन् २०१० मा ‘मिस नेपाल’ बनेकी सदिक्षा श्रेष्ठको जुन खालको क्रेज बनेको थियो, त्यसपश्चात यो ब्युटी प्याजेन्टको चमक घटेको हो । ‘मिस नेपाल’ बन्ने विजेताले पाउने पुरस्कार राशी आज अन्य ब्युटी प्याजेन्टका विजेताले पाउने राशी भन्दा पनि कम हुदै गएको छ । सदिक्षाले सानदार गाडी उपहार पाउँदा जुन खालको उचाई ‘मिस नेपाल’ ले पाएको थियो, त्यो कायम रहन सकेन । आज ‘मिस नेपाल’ को आयोजक संस्था ‘द हिडन ट्रेजर’ प्रायोजकका लागि दौडधुप गरिरहेको छ । डाबर कम्पनीले १७ औं संकरण सम्म दिएको साथ छुटेपछि आयोजकलाई प्रायोजकको खडेरी लाग्दै गएको हो । मिस नेपालको विजेताको पुरस्कार बढ्नुको सट्टा घटिरहेको छ ।
‘द हिडन ट्रेजर’ आज इज्जतका लागि मात्र ‘मिस नेपाल’ लाई निरन्तरता दिन वाध्य छ । सदिक्षापछि बनेका २ ‘मिस नेपाल’ ले ५० हजार मात्र पुरस्कार पाएका थिए, जुन एक साधारण ब्यूटी प्याजेन्टको भन्दा कम हो ।
काठमाण्डौको पाँच तारे होटलमा आयोजना हुने ‘मिस नेपाल’ आज सामान्य भन्दा सामान्य कार्यक्रम आयोजना हुन् प्रज्ञा प्रतिष्ठानमा सरेको छ । ‘मिस नेपाल’ बन्नु अघि नै प्रतिस्पर्धीहरु जुन खालको चर्चाको बिचमा हुन्थ्य, त्यो आज शुन्य जस्तै छ ।कुनै समय विभिन्न विवादका बिच पनि ‘मिस नेपाल’ तामझामका साथ हुन्थ्यो । तर आज यसले न त विवाद खेपेको छ, न त कुनै खालको चर्चा नै पाएको छ । पछिल्ला समयमा ‘मिस नेपाल’ बनेका विजेताहरुले खासै नयाँ काम केही गर्न नसक्नु, द हिडन ट्रेजरको उच्च महत्वकांक्षा लगायतका कारणले पनि यसको चर्चा मिडियामा कमजोर बन्दै गएको हो ।
बजारमा बग्रेल्ती मात्रामा हुने विभिन्न खालका ब्यूटी प्याजेन्टका कारणले पनि ‘मिस नेपाल’ को प्रतिष्ठालाई धक्का लागेको हो । निरन्तर रुपमा गिर्दै गएको साखलाई बचाउनुको सट्टा आयोजकले झनै यसलाई वेवास्ता गर्दै ‘मिस नेपाल’ प्रतियोगिता हुनका लागि मात्र भएको धेरैको विश्लेषण छ ।
 को बन्ला आज मिस नेपाल ?
सन् २०१३ को मिस नेपालको ताज जित्न आज अन्तिम प्रतिस्पर्धा हुादै छ । एक महिनादेखि सघन प्रशिक्षण र दुई दिनदेखि क्लोज क्याम्पमा बसेका १८ सुन्दरीमध्ये एक जनाले मिस नेपाल २०१३ को ताज जित्नेछिन । उनलाई सन् २०१२ की मिस नेपाल सृष्टि श्रेष्ठले ताज हस्तान्तरण गर्नेछिन ।आज साँझ नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा आयोजना हुने कार्यक्रमको नेपाल टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने छ । प्रतियोगितामा समीक्षा श्रेष्ठ, रचना भारती, सिपोरा गुरुङ, बिन्दु केसी, माया साउद, इसानी श्रेष्ठ, सुजता बलामी, मेग्ना श्रेष्ठ, श्रीतीमा शाह, प्रतिमा गिरी, बसिमा बानु, रक्षा थापा, रोजिशा शाही, अस्मिता सिटौला, सुमी लामा, रेणु पोखरेल, रिजु श्रेष्ठ र ऐश्वर्य उपाध्याय रहेका छन ।
ताज बिजेताले ५० हजार नगद र मिस वल्र्ड प्रतियोगितामा भाग लिने अबसर पाउनेछिन । फष्ट रनरअपले ३५ हजार र सेकेण्ड रनरअपले २५ हजार नगद पुरस्कार पाउनेछन ।