५ संस्थान नेतृत्व खुला प्रतिस्पर्धाबाट
![]() |
काठमाडौं, चैत ७- सार्वजनिक संस्थान निर्देशन बोर्डले पाँच सार्वजनिक संस्थानमा खुला प्रतिस्पर्धाबाट कार्यकारी प्रमुख नियुक्ति गर्ने भएको छ। बोर्डले प्रतिस्पर्धाबाट पाँच संस्थानमा कार्यकारी छान्न २१ दिने सूचना निकालेको छ।
बोर्डले कृषि सामग्री संस्थान लिमिटेड, निक्षेप तथा कर्जा सुरक्षण निगम लिमिटेड, नेपाल खाद्य संस्थान, नेपाल स्टक एक्सचेन्ज लिमिटेड र नेपाल खानेपानी संस्थानमा प्रमुखको लागि सूचना जारी गरेको छ। बोर्डले बुधबार गोरखापत्र संस्थानमा समेत कार्यकारी प्रमुख छान्न सूचना जारी गर्दैछ। 'हामीले पाँचवटा संस्थानमा कार्यकारी प्रमुख छान्न सूचना जारी गरेका छौं,' बोर्डका अध्यक्ष विमल वाग्लेले मंगलबार नागरिकसँग भने, 'जतिसक्दो छिटो सबै संस्थानमा प्रतिस्पर्धाबाट कार्यकारी निर्देशक छान्नेछौं।' अहिलेसम्म सातवटा संस्थानमा खुला प्रतिस्पर्धाबाट कार्यकारी प्रमुख नियुक्त भइसकेको छ। उनले सबै संस्थानमा खुला प्रतिस्पर्धाबाट कार्यकारी प्रमुख नियुक्ति प्रक्रियालाई तीब्रताका साथ अघि बढाइएको जानकारी दिए।
'हामीले यही आर्थिक वर्षभित्रै ३९ वटै संस्थानमा प्रतिस्पर्धाबाट प्रमुख छान्ने गरी तयारी गरिरहेका छौं। तर, प्रतिस्पर्धाबाट अघि बढाउन निर्वाचनले समस्या पारेको छ,' उनले भने। विगतमा निर्वाचनको मिति तय भएकाले प्रतिस्पर्धाबाट कार्यकारी प्रमुख नियुक्त गर्ने प्रक्रिया रोकिएको थियो। जेठमा संविधानसभा विघट्न भएपछि तत्कालीन बाबुराम भट्टराईको सरकारले निर्वाचनको घोषणा गरेको थियो। यही निर्वाचनको घोषणाका कारण मंसिरसम्म कार्यकारी प्रमुख नियुक्ति अवरुद्ध भएको थियो।
बोर्डले कृषि सामग्री संस्थानको प्रबन्ध सञ्चालक पदका लागि स्नातकोत्तर उपाधि प्राप्त भएको हुनुपर्ने, सम्बन्धित क्षेत्र वा प्रशासन, व्यवस्थापन, व्यापार, वित्त, उत्पादन, इन्जिनियरिङ वा कानुनको क्षेत्रमा अधिकृतस्तरमा कम्तीमा दस वर्षको अनुभव हुनुपर्ने प्रावधान राखेको छ। बोर्डले सरकारी, अर्धसरकारी, सार्वजनिक-निजी साझेदारी, विश्व बैंक, एसियाली विकास बैंकजस्ता निकाय, द्विपक्षीय सरकारी निकायहरु, पब्लिक लिमिटेड कम्पनी लगायत संस्थामा गरेको सेवा अनुभवलाई पनि मान्यता दिएको छ।
बोर्डले निक्षेप तथा कर्जा सुरक्षण निगम लिमिटेडको महाप्रबन्धक पदका लागि व्यवस्थापन, अर्थशास्त्र, वाणिज्यशास्त्र, बैकिङ, वित्तीय, वाणिज्य, कानुन वा व्यापार प्रशासन विषयमा स्नातक उपाधि वा चार्टर्ड एकाउन्टेन्सी उपाधि प्राप्त गरेको हुनुपर्ने प्रावधान राखेको छ। बैंक तथा वित्तीय क्षेत्रको कार्यकारी तहमा कम्तीमा पाँच वर्षको कार्यानुभव, बैंक तथा वित्तीय क्षेत्रको कार्यकारी तहको अनुभव, धितोपत्र, बिमा व्यवसाय, कर्जा तथा निक्षेप सुरक्षणसँग सम्बन्धित निकायहरु, बहुराष्ट्रिय निकायमा कम्तीमा अधिकृत स्तरको अनुभव काम गरेको हुनुपर्नेछ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडको महाप्रबन्धकका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त गर्नुपर्ने प्रावधान राखेको छ। बोर्डले सम्वन्धित क्षेत्र वा प्रशासन, व्यवस्थापन, व्यापार, वित्त, उत्पादन, इन्जिनियरिङ वा कानुनको क्षेत्रमा अधिकृतस्तरमा कम्तीमा दस वर्षको अनुभव भएको हुनुपर्ने प्रावधान राखेको छ। यी सबै पदका लागि ३० वर्ष पूरा भएर ६० वर्ष ननाघेको हुनुपर्नेछ। बोर्डका अनुसार यी सबै पदका लागि कुनै राजनीतिक दलको सदस्य नभएको, कम्पनीसँगको ठेक्का पट्टा वा कुनै चल अचल सम्पत्ति सम्बन्धी कारोबारमा आफंै वा आफ्नो परिवारका कुनै सदस्यको संलग्नता नभएको वा कम्पनीसँग निजी स्वार्थ नरहेको, आफ्नो नाममा व्यक्तिगत बेरुजु बाँकी नरहेको, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण वा नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार ठहर नभएको र नियतवस बैंक तथा वित्तीय संस्थाको ऋण नतिरी प्रचलित कानुन बमोजिम कालोसूचीमा नपरेको हुनुपर्नेछ।
संस्थानमा सुधार
सार्वजनिक संस्थानमा प्रतिस्पर्धाबाट कार्यकारी प्रमुख छान्न थालेपछि संस्थानको आर्थिक अवस्थामा सुधार आउन थालेको छ। बोर्ड अध्यक्ष वाग्लेले प्रतिस्पर्धामा कार्यकारी प्रमुख नियुक्त भएपछि संस्थानको आर्थिक अवस्थामा सुधार आउन थालेको दाबी गरे।
'अहिलेसम्म सातवटा संस्थानमा कार्यकारी प्रमुख आएका छन्। ती संस्थाको आर्थिक अवस्था सुधारको बाटोमा गएका छन्,' उनले भने। विगतमा राजनीतिक नियुक्ति हुँदा संस्थानको आर्थिक अवस्था बिग्रिएको थियो। उनले कामका आधारमा तलव सुविधा पाउने भएकोले संस्थानलाई सुधारको बाटोमा लैजान बाध्यकारी हुने बताए।
![]() |