एक महिना अगाडि भइसकेको पर्वको बिदा भोलि


काठमाडौ, फाल्गुन २८ - सरकारी पात्रोमा फागुन २९ गते शेर्पा जातिको 'ग्याल्बो ल्होसार' को सार्वजनिक बिदा दिइएको छ । तर शेर्पा जातिले गत माघ २९ मै ग्याल्पो ल्होसार मनाइसकेका छन् ।
पात्रोमा त्रुटि देखिए पनि सरकार मातहतको पञ्चाङ्ग निर्णायक समितिले निर्धारण गरेको तिथिअनुसार मंगलबार उक्त तिथिको सार्वजनिक विदा मनाइने छ ।
त्यही पात्रोअनुसार राष्ट्रप्रमुख, सरकार प्रमुखदेखि राजनीतिक दलहरुसम्मले विज्ञप्ति जारी गर्दै शुभकामना दिएका छन् ।
'पञ्चाङ्ग निर्णयाक समितिले हाम्रो समुदायसित कुनै परामर्श नलिई निर्णय गरेकोले यसो भएको हो,' आचार्य नुर्बु शेर्पाले भने, 'हामीले माघमै ग्याल्बो ल्होसार मनाइसक्यौं । कम्तिमा लामा ज्योतिषहरुसँग परामर्श लिइएको भए गम्भीर त्रुटि हुने थिएन ।'
चिनियाँ तथा हिमाली क्षेत्र तत्वीय अध्यता अजितमान तामाङका अनुसार तिब्बती पात्राको त्रुटिका कारण तिथि मिति गडबड भएको हो । 'सम्बन्धित जातिले मागेकै आधारमा सरकारले सार्वजनिक विदा दियो तर त्यसको अध्ययन भएन,' उनले भने, 'तिब्बती पात्रामा हरेक अढाइ वर्षमा मलमास दोहोरिन्छ, त्यसैले पञ्चाङ्ग समितिको पात्रोमा गम्भीर त्रुटि देखियो ।'