बार्सिलोनाको १३ अंकको अग्रता कायमै


५ चैत, काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा लिग लिडर बार्सिलोनाले १३ अंकको अग्रता कायमै राखेको छ ।
आइतबार राति भएको खेलमा लिओनल मेस्सीको २ गोलको मदतमा रायो भालेकानोलाई ३–१ गोल अन्तरले पराजित गरेको हो । जितपछि बार्सिलोनाको २८ खेलबाट ७४ अंक भएको छ भने दोस्रो स्थानमा रहेको रियल मड्रिडको समान खेलबाट ६१ अंक रहेको छ ।
घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले २५ औं मिनेटमा डेभिड भियाको गोलबाट अग्रता लियो । ४० औं मिनेटमा मेस्सीले अग्रता दोब्बर पारे । खेलको ५७ औं मिनेटामा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३–० को अग्रता दिलाए । खेलको ७० औं मिनेटमा रायो भालेकानोले सान्त्वना गोल गरेपनि हार टार्न सकेन ।
अर्को खेलमा एथ्लेटिको मड्रिडलेअ ओशाशुनालाई २–० ले पराजित गरेको छ । जितपछि २८ खेलबाट ६० अंक जोडेको एथ्लेटिको मड्रिड तेस्रो स्थानमा छ ।