यसअघि दरपिठ गरेको रिट सर्वोच्चले पुनः दर्ता गर्यो
![]() |
काठमाडौं, फागुन २०-प्रधानन्यायाधीश खिलराज रेग्मीबाट सरकारको नेतृत्व सम्हाल्ने सम्बन्धमा न्यायाधीश आचारसंहिताको अवहेलनासम्बन्धी दरपिठ निवेदन आज पुनः दर्ता भएको छ। बेञ्चमा बहस हुनुपर्ने विषय प्रशासनबाटै हुनु कानुनविपरित हुने निवेदनमा उल्लेख छ।
अधिवक्ता सुनिलरञ्जन सिंहले कानुनी व्यवस्थाअनुसार आफूले दायर गरेको निवेदन दर्ता गर्नयोग्य नभए सोही कारण र आधारमा दरपीठ गर्नुपर्नेमा यसको विपरीत अधिकार क्षेत्रबाहिर पुगेर निवेदनको गलत व्यख्या गरेको र बेञ्चबाटै हुने व्याख्या प्रशासनको रोहबाट भएकाले दरपीठ आदेश कानुन विपरीतका साथै अधिकारक्षेत्रविहीन रहेको निवेदनमा उल्लेख छ।
प्रधानन्यायाधीशको निर्देशनमा सर्वोच्च अदालतबाट गत सोमबार जारी विज्ञप्तिले न्यायाधीश आचारसंहिताको अवहेलना गरेको भएको भन्दै अधिवक्ता सिंहले गत बुधबार दायर गरेको अवहेलनाको निवेदनमा भोलिपल्ट सहरजिस्ट्रार नहकुल सुवेदीले प्रधानन्यायाधीशको पद र अदालतको गरिमामा आँच पुग्ने गरी सो निवेदन दर्ता गर्न ल्याएको भन्दै दर्ता गर्न इन्कार गरेका थिए।
सो दरपीठ आदेशमा 'निवेदनसाथ निवेदकले पेस गरेको यस अदालतको विज्ञप्तिमा न्यायपालिका र न्यायिक निर्णयको उच्च सम्मान गर्ने समेतको व्यहोरा स्पष्ट उल्लेख हुँदाहुँदै विज्ञप्तिमा उल्लेख नै नभएको कार्यपालिका प्रमुखको पद लिन तयार भएको भन्ने मनोगत अर्थ गरी प्रधानन्यायाधीशको पद र अदालतको गरिमामा आँच पुग्ने गरी दर्ता गर्न ल्याउनुभएको प्रथम दृष्टिमा नै दर्ता गर्न लायक नदेखिँदा दर्ता गर्न मिलेन' भन्ने उल्लेख थियो ।
यसअघि सर्वोच्चले विज्ञप्ति जारी गर्दै चुनावी सरकारको मन्त्रिपरिषद्को अध्यक्षता गर्ने प्रधानन्यायाधीशको निजी चाहना नभए पनि देशमा उत्पन्न राजनीतिक एवम् संवैधानिक जटिलताको निकासका लागि आफ्नो सकारात्मक दृष्टिकोण रहेको उल्लेख गरिएको थियो। सहायक प्रवक्ता हेमन्त रावलद्वारा हस्ताक्षरित सो विज्ञप्तिमा राजनीतिक तहमा गरिने संवैधानिक एवम् कानुनी जटिलताको निकास र न्यायपालिका तथा न्यायिक निर्णयको उच्च सम्मान गर्दै प्रधानन्यायाधीशले आगामी प्रक्रिया निर्धारण गर्ने पनि बताइएको थियो। रासस
![]() |